९ महिनामा जीवन बीमकको १४ प्रतिशतले बढ्यो व्यवसाय, कसको व्यवसाय कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चैत महिनासम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब २६ अर्ब बढी कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमकहरूले १ करोड ३५ लाख ३९ हजार ५१० वटा बीमा पोलिसी बिक्री गरी १ खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। कम्पनीहरूले आर्जन गरेको कुल व्यवसाय १४.६२ प्रतिशतले बढेको हो । गत आवको यही अवधिमा कम्पनीहरूले १ खर्ब १० अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए ।  चालु आवको ९ महिनाको अवधिमा सबैभन्दा धेरै व्यवसाय गर्ने जीवन बीमा कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । नेपाल लाइफले ९ महिनाको अवधिमा ३३ अर्ब १ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।  कम्पनीले आर्जन गरेको व्यवसाय गत आवको भन्दा १२.०९ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा कम्पनीले २९ अर्ब ४५ करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । धेरै बीमा शुल्क संकलन गर्ने दोस्रो बीमा कम्पनीमा नेशनल लाइफ इन्स्यारेन्स रहेको छ । नेशनल लाइफले चालु आवको ९ महिनामा गत आवको यही अवधिको तुलनामा २.१३ प्रतिशतले व्यवसाय बढाएको छ । कम्पनीले गत आवमा १२ अर्ब ८९ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेकोमा चालु आवको ९ महिनामा १५ अर्ब ६४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।  त्यस्तै, धेरै बीमा शुल्क आर्जन गर्ने तेस्रो कम्पनी एलआईसीले चालु आवको चैत्र मसान्तसम्ममा १४ अर्ब ३ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले चालु आवमा आर्जन गरेको व्यवसाय गत आवको तुलनामा ९.३९ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा कम्पनीले १२ अर्ब ८३ करोड १० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।  अन्य जीवन बीमा कम्पनीहरूमा हिमालयन लाइफले १२ अर्ब ५९ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब १६ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ७ अर्ब ६५ करोड रुपैयाँ, एशियन लाइफले ६ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै सिटिजन्स लाइफले ५ अर्ब ८ करोड रुपैयाँ, सानिमा रिलायन्स ४ अर्ब ८४ करोड रुपैयाँ, मेट लाइफले ४ अर्ब ४४ करोड, आईएमई लाइफ ३ अर्ब ७७ करोड , रिलाइबल नेपाल ३ अर्ब ६९ करोड, प्रभु् महालक्ष्मी ३ अर्ब ६७ करोड रुपैयाँ र सन नेपालले ३ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन्। 

प्रभु महालक्ष्मी लाइफबाट ३ जना संस्थापक बाहिरिँदै

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका तीन जना संस्थापक सेयरधनीले सेयर बिक्रीमा राखेका छन् । तीन संस्थापकले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर कम्पनीबाट बाहिरिन लागेका हुन् ।  कम्पनीका अनुसार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ५ लाख ५० हजार कित्ता, विनिता उपाध्यायले १ लाख १० हजार कित्ता र माधव प्रसाद पन्थीले ७८ हजार ५ सय कित्ता गरी कुल कुल ७ लाख ३८ हजार ५ सय कित्ता सेयर बिक्रीमा राखेका हुन् ।  कम्पनीको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र खरिद गर्नका लागि आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।   

सेयर बजारमा ९ अर्बको कारोबार, १०७ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८ अंकले घटेर २६२३ बिन्दुमा झरेको हो । आज ३१४ कम्पनीको २ करोड ४६ लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । बजारमा १०७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ कम्पनीको घटेको छ । एक कम्पनीको मूल्य स्थिर रहेको छ । बुधबार सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको सेयरमा मात्रै ५८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो । त्यस्तै, न्यादी ग्रुपको ५२ करोड, सानीमा माइ हाइड्रोको ५० करोड, अरुण भ्याली हाइड्रोको ४२ करोड, र हिमालयन पावरको ३५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज समाज लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स, र क्रेस्ट माइक्रो लाइफका सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । आज अधिकांश सूचक ओरालो लागेका छन् । बैंकिङ ०.७०, विकास बैंक १.०६, फाइनान्स १.२४, होटल तथा पर्यटन ०.५०, लगानी ०.११, जीवन बीमा ०.०७, उत्पादन ०.७२, निर्जीवन बीमा ०.१८ र अन्य १.१६ प्रतिशतले घटेका छन् । साथै, हाइड्रोपावर ०.६१, माइक्रोफाइनान्स ०.०४, र व्यापार समूह ०.४० प्रतिशतले उकालो लागेका छन् ।