एनएलजी इन्स्योरेन्सको ७.३६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीलाई ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हाे । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम २ अर्ब ५६ करोड ५२ लाख २४ हजार ४ सय ३२ रुपैयाँ चुक्ता पूँजीको आधारमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । घोषित लाभांशअन्तर्गत कम्पनीले ४ प्रतिशत बोनस सेयर वितरण गर्नेछ, जसको मूल्य १० करोड २६ लाख ८ हजार ९ सय ७८ रुपैयाँ रहेको छ । साथै ३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरिनेछ, जसको मूल्य ७ करोड ६९ लाख ५६ हजार ७ सय ३३ रुपैयाँ रहेको छ । दुवै प्रकारका लाभांशका लागि कर प्रयोजनार्थ कम्पनीले ०.३६८४ प्रतिशत, अर्थात् ९४ लाख ५० हजार ८ सय २७ रुपैयाँ छुट्याएको जनाएको छ । कम्पनीका अनुसार उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।

सिटिजन्स सन्तुलित योजनामा आवेदन दिने समय लम्बियो

काठमाडौं । सिटिजन्स सन्तुलित योजनामा आवेदन दिने समय लम्बिएको छ । सिटिजन्स क्यापिटलले पुस ४ गतेदेखि बिक्री खुला गरेको सिटिजन्स सन्तुलित योजनामा अब पुस १८ गतेसम्म आवेदन दिने सकिनेछ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिटिजन्स सन्तुलित योजना बन्दमुखी योजना हो । कम्पनीले १ अर्ब रुपैयाँको प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई बिक्री गरेको हो ।  जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंकलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई सार्वजनिक रुपमा बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको म्युचुअल फण्डमा १०० देखि १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । कम्पनीको म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्ने छन् । 

सांग्रिला डेभलपमेन्ट बैंकको १०.३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीलाई १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको २१औं वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न हुँदै उक्त प्रस्ताव पारित भएको हो । सभाले बैंकको हालको चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७ सय १९ रुपैयाँ ५५ पैसा को ५.३५८३ प्रतिशत नगद लाभांश (करसहित) तथा ५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । बैंकले नगदतर्फ १९ करोड ५ लाख ५३ हजार ६ सय २६ रुपैयाँ ३० पैसा र बोनस सेयरतर्फ १७ करोड ७८ लाख १२ हजार ७ सय ८५ रुपैयाँ ९८ पैसा बराबरको लाभांश वितरण गर्नेछ । प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५ सय ५ रुपैयाँ ५३ पैसा पुग्नेछ । साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गर्नुका साथै लेखा परीक्षकको नियुक्ति, प्रबन्धपत्र संशोधन, मर्जर तथा प्राप्ति सम्बन्धी प्रस्तावहरू पनि पारित गरेको छ । बैंकले आम नागरिकको विश्वासका कारण हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको जनाएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई निरन्तर पालना गर्दै आएको बैंकले आगामी दिनमा सेवा विस्तारलाई थप तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।