छिमेक लघुवित्तबाट ३ संस्थापक बाहिरिने, सेयर मूल्य ३९५ देखि ४१० रुपैयाँ

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाका ३ संस्थापक सेयरधनी बाहिरिने भएका छन् । आफ्नो नाममा रहेको सेयर बिक्री गरेर लघुवित्त संस्थाबाट ३ संस्थापक सेयरधनी बाहिरिन लागेका हुन् ।  लघुवित्तका अनुसार संस्थापक सेयरधनी एसजी सेक्युरिटिज प्रालि, शिवाङ्गी इन्भेष्टमेन्ट प्रालि र विनिता अधिकारीले कुल १ लाख ७० हजार ८४७ कित्ता सेयर बिक्रीमा राखेका हुन् । जसमध्ये एसजी सेक्युरिटिज र शिवाङ्गी इन्भेष्टमेन्टको समान ६४ हजार ३०६ कित्ता र विनिता अधिकारीको ४२ हजार २३५ कित्ता सेयर बिक्रीमा राखिएको हो । लघुवित्तका अनुसार एसजी सेक्युरिटिज र शिवाङ्गी इन्भेष्टमेन्टले बिक्रीमा राखेको सेयरको मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ र अधिकारीको सेयरको प्रतिकित्ता ४१० रुपैयाँ तोकिएको छ । लघुवित्तको सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने लघुवित्तले जनाएको छ । 

सालपा विकास बैंकले पुस १६ गतेदेखि आईपीओ बिक्री गर्ने

काठमाडौं । सालपा विकास बैंकले पुस १६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बिक्री गरेर बाँडफाँडपश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत अर्थात् १७ करोड २३ लाख ८८ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १७ लाख २३ हजार ८८० कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार ३८८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ५ प्रतिशत अर्थात् ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरेर बाँडफाँड गरिसकेको छ ।  यस्तै, जारी पुँजीको ०.५० प्रतिशत अर्थात् २६ हजार ११९ कित्ता बैंकका कर्मचारीलाई सुरक्षित राखि बाँकी रहेको १४ लाख ३९ हजार १७९ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।  बैंकको आईपीओमा पुस २० गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र बिक्री नभएमा पुस ३० गतेसम्म आवेदन दिने समय लम्बिनेछ । बैंकको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम २५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।  बैंकको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरुले सीआस्वा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । 

नेपाल बैंकले सेयरधनीलाई लाभांश नदिने

काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । पुस ३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले सोही निर्णयअनुसारको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णयसमेत गरेको बैंकले जनाएको छ ।