३८ अंकले बढ्यो नेप्से, फर्स्ट माइक्रोको सेयरमा सकारात्मक सर्किट
काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८ अंकले बढेर २७८३ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २४७ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको सेयर मूल्य घटेको छ । ४ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३३२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको छ । साथै सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पिीनिङको भएको छ । रिलाइन्सको २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै नेसनल हाइड्रोको १७ करोड, एसवाई प्यानलको १६ करोड, रिडि पावरको १५ करोड ८८ लाख र साहस ऊर्जाको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । फर्स्ट माइक्रो फाइनान्सको सेयर मूल्य १४.१९ प्रतिशले बढेर सकारात्मक सर्किट लागेको छ । सोमबारको कारोबारमा सबै उपसमूहका सूचकमा हरियाली छाएको छ । बैंकिङ १.०२ प्रतिशत, डेभलपमेन्ट बैंक १.३६ प्रतिशत, फाइनान्स १.८१ प्रतिशत, होटल तथा टुरिजम ०.६९ प्रतिशत, हाइड्रो १.७९ प्रतिशत, इन्भेष्टमेन्ट १.२५ प्रतिशत, लाइफ इन्स्योरेन्स ०.९९ प्रतिशत, उत्पादन तथा प्रसोधन १.३० प्रतिशत, माइक्रोफाइनान्स १.७० प्रतिशत, म्युचल फन्ड ०.०६ प्रतिशत, नन लाइफ इन्स्योरेन्स १.६० प्रतिशत, अन्य २.११ प्रतिशत र ट्रेडिङको १.१५ प्रतिशतले बढेका छन् ।
रोयल टुलिप काठमाडौंलाई आईपीओमा लैजान नबिल इन्भेष्टमेन्टसँग सम्झौता
काठमाडौं । द म्यासिफ होटल प्राइभेट लिमिटेड (रोयल टुलिप काठमाडौं) ले सर्वसाधारणमा सेयर निष्कासन (आईपीओ) गर्ने तयारी थालेको छ । यसका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडसँग संस्थागत परामर्श सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार प्राइभेट कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने, आईपीओ निष्काशनका लागि आवश्यक पूर्वतयारी गर्ने तथा ‘रोड टु आईपीओ’ प्रक्रिया अघि बढाउन नबिल इन्भेष्टमेण्टले परामर्श तथा समन्वयकारी भूमिका निर्वाह गर्नेछ । सम्झौतापत्रमा द म्यासिफ होटल प्राइभेट लिमिटेडका अध्यक्ष राजेन्द्र शाक्य र नबिल इन्भेष्टमेण्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । ललितपुरको ग्वार्कोमा रहेको रोयल टुलिप काठमाण्डौं अन्तर्राष्ट्रिय चेन ब्रान्डअन्तर्गत सञ्चालित पाँचतारे होटल हो । होटलमा ३०८ कोठा तथा सुइट रहेका छन् भने साना–ठूला गरी १० वटा बैठक हलसमेत उपलब्ध छन् । कोठाहरू आधुनिक सुविधासहित डिजाइन गरिएका छन् र अतिथिहरूलाई उच्चस्तरीय सेवा प्रदान गरिन्छ । होटलमा अत्याधुनिक हेल्थ क्लब, स्पा तथा इन–हाउस रेस्टुरेन्टमार्फत अन्तर्राष्ट्रियस्तरको भोजन सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ । साथै, विभिन्न कार्यक्रम आयोजना गर्न मिल्ने सुविधासम्पन्न बैठक हलहरू पनि रहेका छन् । सम्झौताअनुसार नबिल इन्भेष्टमेण्टले होटललाई आईपीओ निष्काशनका लागि आवश्यक सम्पूर्ण पूर्वतयारीमा सहयोग गर्नेछ । पूर्वतयारी पूरा भएपछि नियामक निकायसमक्ष सार्वजनिक निष्काशनको अनुमति माग गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रभु महालक्ष्मीको नाफा साढे २७ करोड रुपैयाँ, १६.९० अर्ब पुग्यो जीवन बीमा कोष
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा खुद नाफा १.६० प्रतिशत बढेर २७ करोड ५० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । चालु आवको ९ महिनामा कम्पनीले ४ अर्ब १५ करोड रुपैयाँ खुद बीमा शुल्क र ४ अर्ब ३१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ४९ करोड रुपैयाँ खुद बीमा शुल्क र ३ अर्ब ५८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ९० करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ३७ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । चालु आवको ९ महिनामा कम्पनीले ५ अर्ब १६ करोड रुपैयाँ कुल आम्दानी गरी ४ अर्ब ८९ करोड रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ५४ करोड रुपैयाँ कुल आम्दानी गरी ४ अर्ब २६ करोड रुपैयाँ कुल खर्च गरेको थियो । ५ अर्ब ३० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा १३ करोड ९४ लाख रुपैयाँ, सञ्चित नाफा ३३ करोड २१ लाख रुपैयाँ र अन्य इक्विटी ३३ करोड ८१ लाख रुपैयाँ र जीवन बीमा कोष १६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६.९१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११५.६० रुपैयाँ र मूल्य आम्दानी अनुपात ६९.७६ गुणा रहेको छ ।