प्रिमियम मूल्यमा सेयर निष्काशन रोक्न माग गर्दै लगानीकर्ता पुगे संसदीय समितिमा
काठमाडौं । लगानीकर्ताहरुले प्रिमियम मूल्यमा आईपीओ निष्काशन प्रक्रिया रोक्न सार्वजनिक लेखा समितिमा उजुरी दिएका छन् । नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डले बीमा कम्पनीहरुलाई प्रिमियममा साधारण सेयर जारी गर्न दिएर भ्रष्टाचार गरेको आरोप लगाउँदै लगानीकर्ताहरुले सार्वजनिक लेखा समितिमा उजुरी दिएका हुन् । लगानीकर्ताहरुले बोर्ड अध्यक्ष रमेशकुमार हमाल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमण पौडेल लगायतले बीमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक व्यवस्था विपरित अख्तियारको दुरुपयोग गरी बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ जारी गर्न अनुमति दिएको आरोव लगाएका छन् । आईपीओ जारी गर्न दिएर भ्रष्टाचार गरेको हुँदा सो घटनाको छानविन गरी संलग्न दोषीहरु उपर प्रचलित कानून बमोजिम हदैसम्म कारबाही हुने गरि निर्देशन जारी गर्न उजुरी दिएको लगानीकर्ताहरुले बताएका छन् । सार्वजनिक लेखा समितिमा उजुरी परेपछि नेपाल धितोपत्र बोर्ड, बीमा प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयलाई स्पष्टिकरण सोधेको छ । प्रिमियम मूल्यमा आईपीओ निष्काशन प्रक्रियाका विषयमा उजुरी परेपछि समितिले सेबोन, प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालयलाई ७ दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । ‘कम्पनीको आईपीओ निष्काशन प्रक्रियाका बारेमा उजुरी परेको छ, सार्वजनिक रुपमा प्रश्न समेत उठेका छन्, त्यसैले सेबोन र बीमा प्राधिकरणलाई केही प्रश्नसहित ७ दिनभित्र स्पष्टिकरण पेश गर्न भनेका हौं,’ विकासन्युजसँग भने ।
सिद्धार्थ बैंकको लाभांश पाउन आजसम्म सेयरधनी बन्नु पर्ने
काठमाडौं । सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कात्तिक २१ गते एक दिनका लागि सेयर दाखिला खारेज (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले आज कात्तिक २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त तथा साधारणसभामा सहभागी हुन पाउने छन् । बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजीको ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले लाभांश वितरण प्रस्ताव पारित गर्न मङ्सिर ५ गते काठमाडौंको बालुवाटार स्थित आम्रपाली ब्यान्क्वेटमा बिहान १० बजे २२औँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।
भिजन लुम्बिनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कात्तिक १६ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आज कात्तिक २० गतेसम्म अवोदन दिन सक्ने छन् । कम्पनीले जारी पूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् १९ लाख १२ हजार ५ सय कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गरेको थियो । साथै, सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ९१ हजार २५० कित्ता विदेशमा रोजगार गरीरहेका नेपालीहरुलाई बिक्री गरेको थियो । दोस्रो चरणमा कम्पनीले स्थानीय वासिन्दाले आवेदन नदिएको ४ लाख ८७ हजार ९१० कित्ता सहित २० लाख ७५ हजार २८५ कित्ता सेयर बिक्री खुला गरेको हो । साथै, ९५ हजार ६२५ कित्ता सामूहिक लगानी कोष र ३८ हजार २५० कित्ता कर्मचारीलाई छुट्याइएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेको मेरो सेयर मार्फत् आवेदन दिन सक्ने छन् ।