१५ लाख बढीले भरे सिटिजन लाइफको आईपीओ, कहिले हुँदैछ बाँडफाँड ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओमा १५ लाख बढीले आवेदन दिएका छन् । भदौ १५ गतेदेखि बिक्री खुला भएको उक्त आईपीओमा १५ लाख १० हजार ६९३ जनाले आवेदन दिएका हुन् । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटलका अनुसार आवेदकले १ करोड ६७ लाख ९० हजार १८० कित्ता सेयर माग गरेका छन् । प्रिमियममा निष्काशन भएको उक्त आईपीओमा ४ अर्ब ९ करोड ६८ लाख ३ हजार ९२०० रुपैयाँ बराबरको आवेदन परेको छ । उक्त आईपीओ आगामी साता बाँडफाँड हुने बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले विकासन्युजलाई जानकारी गराएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँको आईपीओ बिक्री गरेको हो । कम्पनीले अंकित मूल्य दर १ सय रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा १ करोड १२ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये ११ लाख २५ हजार कित्ता विदेशमा रोजगारीमा रहेका नेपाली, ५ लाख ६२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ५ लाख ६२ हजार ५ सय कित्ता कर्मचारीलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ ।

नेप्से ओर्लिने क्रम निरन्तर, १९३२ विन्दुमा झर्‍याे परिसूचक

काठमाडौं । सेयर बजारमा साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक २८.९२ अंकले घटेर बजार बन्द भएको छ । बिहीबारको कारोबारबाट नेप्से १९३२ विन्दुमा झरेको छ । पछिल्लो केही दिन यता सेयर बजार उच्च अंकले आरोला लागिरहेको छ । बिहीबार २७६ कम्पनीको ३२ हजार १३९ पटकको कारोबारमा ३७ लाख ६९ हजार कित्ता सेयर खरिद बिक्रीबाट एक अर्ब १५ करोड बराबरको कारोबार भएको छ । यो मंगलबारको बजारमा भएको कारोबार भन्दा बढी रकम हो । बुधबार भने सार्वजनिक विदा परेको कारण बजार बन्द थियो । बिहीबार शुभम पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ । बिहीबार कारोबार रकमका आधारमा लिबर्टी इनर्जी शीर्ष स्थानमा रहेको छ । त्यसैगरी, सोल्टी होटलको ४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । बिहीबार १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.५२ प्रतिशत घटेको छ । त्यस्तै, अन्य उपसमूहको परिसूचक २.०४ प्रतिशत घटेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

प्रतिकित्ता ५० रुपैयाँका दरले हाथवे इन्भेष्टमेन्टको आईपीओ बिक्री खुला

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले आज भदौ २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२।५० प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँको आईपीओ बिक्री गरेको हो । कम्पनीले प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरका २९ लाख २५ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् २ लाख ९२ हजार ५ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ५८ हजार ५ सय कित्ता कर्मचारी, १ लाख ४६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकेको छ । अब बाँकी रहेको २४ लाख २७ हजार ७५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्ने छन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा भदौ २५ गते र ढिलोमा असोज ४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् ।