सिटिजन्स बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सिटिजन्स बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष प्रवलजङ्ग पाण्डेको अध्यक्षतामा शुक्रबार साधारण सभा सम्पन्न भएको हो । सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ ।  बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तको एन.एफ.आर.एस बमोजिम तयार गरिएको वासलात, आव २०८१/८२ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरू छलफल भई स्वीकृत भएको छ ।  त्यसैगरी, साधारण सभाले गत आव २०८१/८२ को वितरण योग्य मुनाफाबाट २०८२ आषाढ मसान्तको चुक्तापुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार ९६६ को ५ प्रतिशतले  हुने ७३ करोड ८४ लाख ५० हजार ६४८.३० बोनस सेयर कर प्रयोजनको लागि नगद लाभांश ०.२६३ प्रतिशतले हुने ३८ करोड ८६ लाख ५८ हजार २३.५९ सहित जम्मा ७७ करोड ७३ लाख १६ हजार ४७१.८९ लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।  बैंकले आव ०६५/६६ बाट लगातार लाभांश वितरण गर्दै आएको छ । बैंकको १९ वर्षको औसत लाभांश १०.४० प्रतिशत रहेको छ ।    

साताको सेयर बजारः कारोबार भएको पाँचै दिन बढ्यो नेप्से

काठमाडौं । धितोपत्र बजारमा यस साता सेयर कारोबार मापक नेप्से परिसूचक लगातार पाँचै दिन बढेर उकालो लागेको छ । आइतबारदेखि बिहीबारसम्मको समग्र बजार सूचक चार दशमलवभन्दा बढीले वृद्धि भई दुई हजार ६७६ दशमलव ०३ विन्दुमा पुगेको हो ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार साताभरि कुल छ करोड २९ लाख ९९ हजार ६०४ कित्ता सेयर ३२ अर्ब १७ करोड १३ लाख ३६ हजार १८९ बराबर रुपैयाँमा कारोबार भएको छ । मङ्गलबारबाहेक सबै दिन कारोबार रकम छ अर्बभन्दा बढी रह्यो भने मङ्गलबारको कारोबार ५ अर्बमा सीमित रह्यो । साताको पहिलो कारोबार दिन आइतबार नेप्से ३९ दशमलव ९२ अङ्कले बढेर दुई हजार ६०० दशमलव २२ विन्दुमा पुगेको थियो । सो दिन एक करोड २३ लाख ७६ हजार ४७१ कित्ता सेयर  छ अर्ब १९ करोड १८ लाख ८० हजार ९९६ मा किनबेच भएका थिए । सामूहिक लगानी समूहबाहेक अधिकांश उपसूचक बढे । सागर डिस्टिलरी, बन्दीपुर केबलकार र झापा इनर्जीको सेयरमा सकारात्मक सर्किट लाग्दा पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड सात दशमलव ५६ प्रतिशतले घटेर सर्वाधिक गुमाउने समूहमा पर्‍यो ।  त्यस्तै, सोमबार नेप्से परिसूचक ५० दशमलव ४४ अङ्कले उकालो लागेर दुई हजार ६५० दशमलव ६६ विन्दुमा पुगेको थियो । त्यस दिन एक करोड ३१ लाख ७८ हजार ६७६ कित्ता सेयर छ अर्ब ९८ करोड तीन लाख ६६ हजार ७४३ मा कारोबार भयो । नेपाल लाइफ इन्स्योरेन्स २४ करोड ८१ लाख ५१ हजार ५४६ को कारोबारसहित शीर्ष स्थानमा रह्यो । झापा इनर्जीमा १० प्रतिशत वृद्धि भई सकारात्मक सर्किट लाग्दा सागर डिस्टिलरी, बन्दीपुर केबलकार, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रोटेक इन्डस्ट्री लिमिटेडका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाए । मविलुङ इनर्जी लिमिटेड चार दशमलव ४४ प्रतिशतले घट्यो । मङ्गलबार नेप्से पाँच दशमलव ३२ अङ्कले बढेर दुई हजार ६५५ दशमलव ९९ विन्दुमा पुगेको थियो । त्यस दिन एक करोड १३ लाख ९९ हजार ४१० कित्ता सेयर पाँच अर्ब ७७ करोड २३ लाख ६७ हजार २९ मा कारोबार भयो । विकास बैङ्क, जीवन बीमा, सामूहिक लगानी कोष र व्यापार समूहका उपसूचक घटे भने अन्य समूह बढे । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै एक दशमलव ४१ प्रतिशतले उकालो लाग्यो । कारोबारको तेस्रो दिन बन्दीपुर केबलकार २६ करोड ९९ लाख ९७ हजार ६४९ को कारोबारसहित अग्रस्थानमा रह्यो । झापा इनर्जीमा पुनः १० प्रतिशत वृद्धि भई सकारात्मक सर्किट लाग्दा सागर डिस्टिलरी र श्रीनगर एग्रोटेक इन्डस्ट्रीका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाए । जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड चार दशमलव ९६ प्रतिशतले घट्यो ।  त्यस्तै बुधबार नेप्से नौ दशमलव ६१ अङ्कले बढेर दुई हजार ६६५ दशमलव ६० विन्दुमा पुगेको थियो, जुन अघिल्लो दिनको तुलनामा शून्य दशमलव ३६ प्रतिशत वृद्धि हो । सो दिन एक करोड २३ लाख ३१ हजार ७९१ कित्ता सेयर ९० हजार ७८२ पटकको कारोबारमार्फत छ अर्ब ६३ करोड ३९ लाख ४८ हजार ९३६ मा किनबेच भयो । वित्त, लगानी, जीवन बीमा, सामूहिक लगानी कोष र निर्जीवन बिमा समूहका उपसूचक घटे भने अन्य उपसूचक बढे । होटल तथा पर्यटन समूह शून्य दशमलव ९९ प्रतिशतले वृद्धि भएको थियो । बुधबार एनआरएन इन्फ्रास्ट्रक्चर ६२ करोड ४३ लाख ४३ हजार २१५ बराबरको कारोबारसहित शीर्ष स्थानमा रह्यो भने झापा इनर्जीमा १० प्रतिशत वृद्धि भई पुनः सकारात्मक सर्किट लाग्यो । त्यस्तै सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, श्रीनगर एग्रोटेक, रिभरफल्स पावर र माहुली लघुवित्तका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाए भने बोटलर्स नेपाल (बालाजु) तीन दशमलव ९४ प्रतिशतले घट्यो । साताको अन्तिम दिन बिहीबार पनि नेप्से बढेर साताभरिको कारोबार सकारात्मक रह्यो । नेप्से १० दशमलव ४३ अङ्कले बढेर दुई हजार ६७८ दशमलव शून्य तीन विन्दुमा पुगेको थियो । बिहीबार कुल एक करोड ३७ लाख १३ हजार २५६ कित्ता सेयर छ अर्ब ५९ करोड २७ लाख ७२ हजार ४८३ मा कारोबार भयो ।  सागर डिस्टिलरीको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्दा स्वस्तिक लघुवित्त, श्रीनगर एग्रोटेक इन्डस्ट्री, झापा इनर्जी र एनआरएन इन्फ्रास्ट्रक्चरका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीको लाभ कमाए । हिमस्टार ऊर्जा कम्पनी सर्वाधिक घट्ने कम्पनी बन्यो । बैङ्किङ समूहको उपसूचक एक दशमलव ४९ प्रतिशतले बढेर सबैभन्दा बढी उकालो लाग्यो । बजार निरन्तर उकालो लागिरहेको अवस्थामा निकट भविष्यमा आउने मौद्रिक नीतिको समीक्षाले नेप्सेको गतिमा प्रभाव पार्ने देखिन्छ । हाल ब्याजदर न्यून र तरलता पर्याप्त भए पनि कर्जा विस्तार अपेक्षित रूपमा बढ्न सकेको छैन । यस्तो अवस्थामा लगानीकर्ताको मनोभाव मिश्रित देखिन्छ । यस्तोमा लगानीकर्ताको मनोबल बढाउन नियामक स्पष्टता, कर्जा विस्तारमा प्रोत्साहन, पुँजीबजारमैत्री प्रावधान आवश्यक रहेको विश्लेषकहरूको भनाइ छ ।  साथै आगामी निर्वाचनको वातावरण स्थिर र सकारात्मक बन्दै जाँदा आर्थिक गतिविधि बढ्ने र यससम्बन्धी नीति सकारात्मक भए यसले बजारमा मनोवैज्ञानिक ऊर्जा थप्ने जानकारहरू बताउँछन् । 

सिटि होटलको सेयरको कटअप मूल्य अधिकतम ४३६ रुपैयाँ, शुक्रबारदेखि रकम फिर्ता

काठमाडौं । सिटि होटलको कटअफ मूल्य निर्धारण गरिएको छ । होटलले लिलामीमा बिक्री गरेको सेयरको कटअफ मूल्य अधिकतम ४३६ रुपैयाँ निर्धारण भएको हो । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार संस्थापक समूहको सेयरको कटअफ मूल्य प्रतिकित्ता २५१ रुपैयाँ, कर्मचारीतर्फको लकईनमा रहेको सेयरको प्रतिकित्ता ३०६.१० र सर्वसाधारण समूहतर्फको लकईनमा नरहेको सेयरको प्रतिशत ४३६ रुपैयाँ निर्धारण भएको छ । उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरूको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा सेयर बाँडफाँड गरिएको कम्पनीले जनाको छ । सिटि होटलले गत कात्तिक २३ गतेदेखि कात्तिक ३० गतेसम्म २१ लाख ५० हजार ४१८ कित्ता अवितरित हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमध्ये संस्थापक समूहतर्फ १९ लाख ८९ हजार ९९९ कित्ता, कर्मचारीतर्फको लकईनमा ६ हजार कित्ता र सर्वसाधारण समूह तर्फको लकईनमा नरहेको १ लाख ५४ हजार ४१९ कित्ता थियो ।  प्राप्त शिलबन्दी बोलपत्र मंसिर ५ गते खोली मंसिर ११ गते निष्काशनकर्ता कम्पनीको संचालक समितिले बाँडफाँड गरेको जनाएको छ । आवेदकहरुको बाँडफाँडमा नपरेको सेयर बापतको रकम मंसिर १२ गते शुक्रबारदेखि आवेदन फाराममा उल्लेख गरेको बैंक खातामा आईपीएसमार्फत मार्फत रकमान्तर गरिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।