२३ अंकले बढ्यो सेयर बजार, दुई अर्बको कारोबार

काठमाडौं । सेयर बजार मंगलबार २३.१२ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनुसार मंगलबार सेयर बजार बढेर १९२५.१२ विन्दुमा पुगेको छ । आज ५३ लाख ८२ हजार ३४२ कित्ता सेयर बिक्री हुँदा एक अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको छ । जसमा सोल्टी होटलले ९ करोड ६८ लाख रुपैयाँको कारोबार गरेको छ । नेप्सेको अनुसार आज न्यादी हाइड्रोपावर र सनराइज फोकस्ड इक्विटी फण्डको सेयर सकारात्मक लेभलमा कारोबार भएको छ  । न्यादी हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता २७ रुपैयाँले बढेको हो भने सनराइज इक्विटी फण्डको मूल्य प्रतिकित्ता ०.७३ रुपैयाँले वृद्धि भएको हो ।

हकप्रद सेयर प्रस्ताव पारित गर्न रिडी पावरले डाक्यो विशेष साधारणसभा

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको जेठ २२ गते बसेको बैठकले असार ८ गते काठमाडौंमा विशेष साधारणसभा बोलाएको हो । सहायक कम्पनी मार्फत निर्माण गर्न लागिएको तल्लो बलेफि जलविद्युत आयोजनाका लागि आवश्यक स्वपूँजी लगानीका लागि विद्युत नियमन आयोगद्वारा प्राप्त सहमति बमोजिम हाल कायम रहेको सेयर संख्या १ अर्ब ५४ करोड ८९ हजार १२ कित्ता सेयर बराबर ०.५० सेयर अर्थात् विद्यमान १ कित्ता बराबर ०.५० कित्ताका दरले हुन आँउने ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । हकप्रद सेयर वितरण पश्चात् कम्पनीको अधिकृत, जारी र चुक्ता पूँजी वृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन र विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियमनकारी निकायमा आवश्यक कार्य गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ । विशेष साधारणसभा प्रयोजनका लागि जेठ ३२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जेठ ३१ गतेसम्म कायम सेयरधनीहरु मात्रै साधारणसभामा भाग लिन पाउनेछन् ।

थप ११ वटा कम्पनीले पाए ब्रोकर लाइसेन्स

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ वटा कम्पनीलाई दोस्रो चरणमा धितोपत्र दलाल व्यवसायीको प्रमाणपत्र (ब्रोकर लाइसेन्स) प्रदान गरेको छ । बोर्डले सोमबार थप ११ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स विरतरण गरेको प्रवक्ता मुक्ति श्रेष्ठले जानकारी दिए । बोर्डले जेठ २२ गते धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका थप ११ वटा निवेदक संस्थाहरुलाई धितोपत्र व्यापारी, पूर्ण कार्य गर्ने धितोपत्र दलाल तथा सिमित कार्य गर्ने धितोपत्र दलालको अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए । बोर्डले एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्यूरिटिज, शुभकामना सेक्यूरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेस, मनि वल्र्ड सेयर एक्सचेन्ज, माछापुच्छ्रे सेक्युरिटिज, के.वि.एल. सेक्यूरिटिज र कलश स्टक मार्केटलाई सिमित कार्य गर्ने धितोपत्र दलाल, मेघा स्टक मार्केट्सलाई पूर्ण कार्य गर्ने धितोपत्र दलाल र नबिल सेक्युरिटिजलाई धितोपत्र व्यापारीको लाइसेन्स प्रदान गरेको हो । यसअघि बोर्डले पहिलो चरणमा ७ वटा कम्पनीलाई लाइसेन्स प्रदान गरेको थियो । यसँगै ब्रोकर लाइसेन्स प्राप्त गर्नेको संख्या १९ वटा पुगेको छ । यसअघि लाइसेन्स पाउने कम्पनीहरुमा भोले गणेश सेक्युरिटीज, क्यापिटल म्यास सेक्युरिटिज, हिमालयन ब्रोकरेज कम्पनी, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज र प्रोपर्टी विर्जाड रहेका थिए । धितोपत्र बोर्डमा नयाँ ब्रोकर लाइसेन्सका लागि ४५ कम्पनीको आवेदन दिएका थिए । जसमध्ये ४३ वटा कम्पनीलाई बोर्डले अनुमतिको आशयपत्र (एलओआई) प्रदान गरेको छ । ।