लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले जेठ १६ गतेदेखि बिक्री खुला गरेको ऋणपत्रमा लगानीकर्ताले आज जेठ २५ गतेसम्म खरिद गर्न सक्नेछन् । बैंकले १० वर्ष अवधि भएको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ बिक्री खुला गरेको हो । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवर र ४० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । सर्वसाधारणलाई छुट्याएको ऋणपत्रमध्ये २० हजार कित्ता सामूहिक लगानी कोष र बाँकी ३ लाख ८० हजार कित्ता ऋणपत्रमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालय र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस रेडिङ्ग प्रदान गरेको छ । यसले मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ ।

नेप्सेमा दुई अर्ब ३६ करोडको कारोबार, सोल्टी होटलको सबैभन्दा बढी

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) दुई अर्ब ३६ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ६५ लाख ४१ हजार ३८८ कित्ता सेयर किनबेच हुँदा सो रकम बराबरको कारोबार भएको हो । आज सबैभन्दा बढी सेयर किनबेच भएको कम्पनीमा सोल्टी होटल लिमिटेड रहेको छ । सोल्टी होटलको आज १० करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको हो । यस्तै, दोस्रोमा शिवम् सिमेन्टको आठ करोड ९७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेप्सेको अनुसार आज सेयर बजार ४.६८ अंकले बढेर १०३२।३३ विन्दुमा पुगेको छ । आज युनिक नेपाल लघुवित्त वित्तिय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लागेर कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२३ रुपैयाँले वृद्धि भएको छ ।

घोराही सिमेन्टको ८१ प्रतिशत सेयर बिकेन, प्रतिकित्ता ३५ रुपैयाँ सस्तो दिँदा किनेनन् स्थानीयले

काठमाडौं । प्रिमियम मूल्यमा सेयर बिक्री गरेको घोराही सिमेन्ट एण्डष्ट्रीको झण्डै ८१ प्रतिशत सेयर नबिकेको पाइएको छ । कम्पनीले स्थानीयबासीलाई छुट्याएको सेयर मध्येमा १९.४५ प्रतिशत मात्र आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी हिमालयन क्यापिटलले जनाएको छ । कम्पनीले अरुलाई भन्दा स्थानीय बासीलाई प्रतिकित्ता ३५ रुपैयाँ कम मूल्यमा सार्वजनिक निष्काशन गरेको थियो । कम्पनीले बैशाख १९ गतेदेखि जेठ १७ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहलाई ३ लाख ९७ हजार १९० कित्ता सेयर बिक्री खुला गरेको थियो । कम्पनीले दाङको घोराही उपमहानगरपालिका वडा नं. १, २, ३, ४, १४, १५, १७, १८,१९, बंगलाचुली गाउँपालिका वडा नं. ३, ४ र रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं.३, ४ का बासिन्दाहरुलाई आईपीओ बिक्री खुला गरेको थियो । प्रतिकित्ता १०० रूपैयाँकाे सेयरमा ३०० रूपैयाँ प्रिमियम जाेडेर प्रतिकित्ता ४ सय रुपैयाँका दरले ३ करोड ९७ लाख १९ हजार रुपैयाँ बराबरको सेयर निष्काशन गरिएको थियो । सर्बसाधारणको लागि ४३५ रुपैयाँमा बिक्री खुला भएको घोराही सिमेन्टको सेयर आयोजना प्रभावित समूदायको लागि भनेर ३५ रुपैयाँ कम अर्थात ४०० रुपैयाँ तोकिएको थियो । सेयर आवेदनको लागि थप समयमा पनि आवेदन नपरेपछि उक्त सेयर सर्बसाधारणको लागि प्रतिकित्ता ४३५ रुपैयाँको दरले बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार स्थानीय वासिन्दाहरुले ७७ हजार २९० कित्ता सेयरका लागि मात्रै आवेदन दिएका छन् । कम्पनीले बिक्रीमा राखेको सेयरमध्ये ३ लाख १९ हजार ९ सय कित्ता बिक्री हुन नसकेको क्यापिटलले जनाएको छ । यस्तै, कम्पनीले बैशाख १९ गतेदेखि जेठ २ गतेसम्म सर्वसाधारण लगानीकर्तालाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ७ करोड ५४ लाख ६६ हजार १ सय रुपैयाँ बराबरको प्रतिकित्ता ४३५ रुपैयाँका दरले ७ लाख ५४ हजार ६६१ कित्ता सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरेको थियो । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ६ लाख ६ हजार ३५० कित्ता सेयरका लागि मात्रै आवेदन दिएका थिए । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्रीमा राखेको सेयरमध्ये १ लाख ४८ हजार ३११ कित्ता सेयर बिक्री हुन नसकेको कम्पनीले बताएको छ । घोराही सिमेन्ट एण्डष्ट्रीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको थियो । विदेशमा रहेका नेपालीकाे लागि जेठ २ गतेसम्म र स्थानीयबासीकाे लागि जेठ १७ गतेसम्म सेयर आवेदन खुला गरिएकाे थियाे । सेयर  निष्काशित सेयर मध्ये साढे ४ लाख कित्ता सेयर बिक्री नभएको कम्पनीले जनाएको छ ।