डेढ लाख कित्ता भएको सेयर प्रमाणपत्र हरायो
काठमाडौं । एक जना लगानीकर्ताको झण्डै डेढ कित्ता सेयर भएको प्रमाणपत्र हराएको छ । आदर्शनगर विरगंजस्थित लगानीकर्ता राजेश कुमार खण्डेलवालको १ लाख ३२ हजार २४७ कित्ता सेयर संख्या भएको प्रमाणपत्र हराएको सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ । साविक महालक्ष्मी फाइनान्स (हाल महालक्ष्मी विकास बैंक)को १००००७० र १००००७१ सेयर प्रमाणपत्र नम्बर रहेको क्यापिटलले जनाएको छ । यस्तै, गौरव खेतान अग्रवालको १ हजार १८९ कित्ता सेयर, बिहारी लाल अग्रवालको ६० कित्ता र आकाश कुमार टिवडेवालको ६० कित्ता सेयर भएको सेयर प्रमाणपत्र हराएको हो । प्रमाणपत्रहरु हराएको हुँदा प्रतिलिपि प्रमाणपत्र उपलब्ध गराई पाँऊ भनी निवेदन पेश गरेको हुँदा सो माथि कसैको हकदावी लाग्ने भए ३५ दिनभित्र निवेदन दिनु पर्ने क्यापिटलले जनाएको छ । अन्यथा उक्त सो सेयरहरु आवश्यक प्रकृया पूरा गरि निवेदनमा माग भए बमोजिम सम्बन्धितसेयरधनीहरुले उपलब्ध गराएको हितग्राही खातामा जम्मा गरिनेछ । महालक्ष्मी विकास बैंकको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल रहेको छ ।
रावा इनर्जिको आईपीओ खरिद गर्ने आज अन्तिम मौका
काठमाडौं । रावा इनर्जि डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ १८ गतेदेखि बिक्री खुला गरेको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आज जेठ २२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८ करोड ४० लाख रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई बााँडफाँट गर्दा बाँकी रहेको १ लाख ९२ हजार ३३० कित्ता थप गरी कुल ६ लाख ९६ हजार ३३० कित्ता सर्वसाधारण लगानीकर्तालाई बिक्री गरेको हो । जसमध्ये १५ हजार ४७ कित्ता कर्मचारी, ३७ लाख ६१६ कित्ता सामूहिक लगानी कोष र ६ लाख ४३ हजार ६६७ कित्ता सेयरमा सर्वसाधारण लगनीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट सिआस्बा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
हिमाल दोलखा हाइड्रोको हकप्रद सेयर बिक्री खुला
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले आज जेठ २२ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले १ कित्ता सेयर बराबर ०.७५ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोडको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ६० लाख कित्ता सेयरको साधारण सभाबाट निर्णय भएबमोजिम सेयर अनुपात १ः०.७५ को १ अर्ब २० करोड रुपैयाँको १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ बैशाख २७ गते सेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बैशाख २६ गतेसम्म कारोबार भई कायम सेयरधनीहरुले मात्रै सो हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । लक्ष्मी क्यापिटल, लक्ष्मी बैंकको इलाम शाखा र कम्पनीको कालोपुलमा रहेको कार्यालयबाट कम्पनीको हकप्रदमा आवेदन दिन सकिनेछ । साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताले असार १० गतेसम्म आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी बीप्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको जनाउँदछ ।