मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर बाँडफाँट
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले चैत १९ गते आइतबारदेखि २२ गतेसम्म निष्काशन गरेको आईपीओ बिहीबार बाँडफाँट हुने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सेयर बाँडफाँट भएको हो । कम्पनीको आईपीओ १२ लाख ८१ हजार ४०२ योग्य आवेदकबाट एक अर्ब ३८ करोड ३३ लाख ११ हजार रुपैयाँ बराबरको १ करोड ३८ लाख ३३ हजार ११० कित्ता सेयरको लागि आवेदन परेको छ । कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताको दरले सेयर वितरण भएको छ । त्यस अनुसार योग्य आवेदक मध्ये १ लाख ३३ हजार ७३० जनाले मात्रै १० कित्ता सेयर पाएका छन् । त्यसमध्ये पनि २ जनालाई थप एकरएक कित्ता सेयर पाएका छन् । कम्पनीले जारी पूँजी ७६ करोड रुपैयाँको ३० प्रतिशतले दरले हुने आउने २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता सेयर निष्काशनमा ल्याएको हो । त्यस मध्ये १० प्रतिशत अर्थात ७ करोड ६० लाख रुपैयाँ आयोजना प्रभावित स्थानिय बासिन्दालाई र निष्काशन गरिसकेको छ । त्यसमध्ये ३ प्रतिशत अर्थात ८० हजार ७० कित्ता सेयर सामुहिक लगानी कोषका योजनाहरुको लागि र २ अर्थात ३२ हजार २८ कित्ता सेयर कर्मचारीहरुलाई सुरक्षित गरी बाँकी रहेको १३ लाख ३७ हजार ३०२ कित्ता सेयर सर्वसाधारणको लागि वितरण गरेको हो ।
९२ अंकले बढ्यो नेप्से परिसूचक, डेढ महिनायताकै उच्च कारोबार
काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक ९२.२२ अंकले बढेको छ । लामो समय पछि परिसूचक ४.९३ प्रतिशतले बढेर १९६३.५५ बिन्दुमा पुगेको छ । त्यस्तै, बजारमा कारोबार रकममा पनि सुधार देखिएको छ । बजारमा एक अर्ब ९७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन डेढ महिनायताकै उच्च कारोबार हो । गत फागुन १५ गतेको बजारमा एक अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बैशाखदेखि वाणिज्य बैंकहरुको ब्याजदर घट्ने भएसँगै सेयर बजारमा एकाएक हरियाली छाएको हो । यससँगै कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । बजारमा सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ११ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । जसको अन्तिम कारोबार प्रतिकित्ता ४१३ रुपैयाँमा भएको छ । अधिकांश कम्पनीको सेयर मूल्य बढेको बजारमा ९ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा किनबेच भएको छ । जसको शीर्ष स्थानमा तीन म्युचुअल फण्ड रहेका छन् । सिद्धार्थ इक्वीटी फण्ड, सिटिजन्स म्युचुअल फण्ड १ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ को मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, आदर्श लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढको छ । त्यसैगरी, कालिञ्चोक दर्शनको ९.९८ प्रतिशत, गणपति लघुवित्त वित्तीय संस्थाको ९.९७, बलेफी हाइड्रोपावरको ९.६७ प्रतिशत र सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.५३ प्रतिशतले बढेको छ । यसकारण बढ्यो बुधबारको सेयर बजार नेपाल बैंकर्स संघले बैशाखदेखि वाणिज्य बैंकहरुको ब्याजदर घटाउने निर्णय गरेसँगै त्यसको सकारात्मक प्रभाव बजारमा देखिएको हो । बैंकहरुले बैशाख १ गतेदेखि लागू हुने गरी निक्षेपमा १.०१ प्रतिशत घटाएर ९.९९ प्रतिशतमा झारेको हो । बैशाखमा बैंकहरुले ब्यक्तिगत तर्फको मुद्दती निक्षेपमा ९.९९ प्रतिशत र संस्थागत तर्फको मुद्दती निक्षेपमा ७.९९ प्रतिशत ब्याजदर निर्धारण गरेका हुन् । यस्तै, साधारण बचत खातामा भने न्यूनतम ५.४० प्रतिशतदेखि ७.४० प्रतिशत प्रतिशतसम्म ब्याजदर निर्धारण गर्ने भएका छन् ।
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ मा आवेदन दिने समय थप
काठमाडौं । सिद्धार्थ क्यापिटलले चैत २६ गतेदेखि बिक्री खुला गरेको सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम–३ मा आवेदन दिने समय लम्बिएको छ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम–३ मा बैशाख १० गतेसम्म आवेदन दिन सकिने भएको हो । क्यापिटलले १० वर्ष अवधिको १२ अर्ब रुपैयाँ बराबरको बन्दमुखी योजना बिक्री गरेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाई बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रबद्र्धक सिद्धार्थ बैंकलाई, ५ प्रतिशत अर्थात् ६० लाख इकाई कोष व्यवस्थापक सिद्धार्थ क्यापिटललाई र बाँकी १० करोड २० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरेको हो । क्यापिटलको फण्डमा लगानीकर्ताले न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म खरिद गर्न सकिनेछ । क्यापिटलको फण्डमा पूर्ण आवेदन नपरेको हुँदा बैशाख १० गतेसम्म आवेदन दिन समय लम्बिएको छ । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । सो फण्डमा लगानीकर्ताले स्वीकृती प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।