नेप्सेमा ४ कम्पनीको साढे ६७ लाख कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेको इन्स्योरेन्स, अपी पावर कम्पनी, आरएसडीसी लघुवित्त र साधना लघुवित्तको गरी कूल ६७ लाख ६२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । नेको इन्स्योरेन्सको १५ प्रतिशत बोनस वापतको २६ लाख २४ हजार ८१८.२० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्यारेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, अपि पावर कम्पनीको ७.५ प्रतिशत बोनस वापतको २८ लाख ८३ हजार ६८६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, आरएसडीसी लघुवित्तको ८ प्रतिशत बोनस वापतको ६ लाख ४४ हजार १२४.५९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, साधना लघुवित्तको १९ प्रतिशत बोनस वापतको ६ लाख १० हजार ३२८.४५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

२ लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । विभिन्न २ लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कालिका लघुवित्त र विजय लघुवित्तको लाभांश तथा साधारण सभा सुरक्षित गर्ने आज चैत १५ गते अन्तिम दिन हो । यी दुवै लघुवित्त संस्थाले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १६ गतेदेखि साधारण सभाको दिनसम्म बुकक्लोज गर्ने निर्णय गरेको छन् । त्यसैले आज चैत १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम हुने सेयरधनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन् । कालिका लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले १३औँ वार्षिक साधारण सभा चैत २९ गते बुद्धचोक पोखरामा बिहान ९ बजे बोलाएको छ । यस्तै, विजय लघवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले दशौँ वार्षिक साधारण सभा चैत २८ गते गैडाकोट नवलपरासीमा बिहान ११ः३० बजे बोलाएको छ ।

भुगोल इनर्जिले चैत २३ गतेदेखि आईपीओ बेच्दै, कति कित्ता आवेदन दिने ?

काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीले चैत २३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४ सय रुपैयाँको १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ रुपैयाँ अंकित मूलय दरका १० लाख ८८ हजार १०७ कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १ लाख ८ हजार ८११ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोष र बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका छुट्याएको सेयर बिक्री गरी बाँडफाँट गरिसकेको छ । त्यसैले अब सर्वसाधारण लगानीकर्ताले मात्रै आवेदन दिन पाउनेछन् । कम्पनीको आईपीओमा चैत २७ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ता सेयर खरिद गर्न सक्नेछन् । यदि सो समयमा पूर्ण आवेदन नपरेमा २०८० वैशाख ७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । लगानीकर्ताले स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट सिआस्बा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सकिनेछ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।