नेप्सेमा थपियो १८ अर्ब २ करोड रुपैयाँको सेयर, बोनस मात्रै पौने २ अर्ब रुपैयाँ
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा पौने २ अर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । चालु आवको असोज मसान्तसम्ममा नेप्सेमा १ अर्ब ८३ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो । साथै, नेप्सेमा १२ अर्ब ७८ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ), २ अर्ब ४८ करोड बराबरको हकप्रद सेयर र ९२ करोड ५० लाख बराबरको एफपीओ गरी कुल १८ अर्ब २ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । नेप्सेमा असोज मसान्तमा सूचीकृत ८ अर्ब ९२ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ७९ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । सूचीकृत कम्पनीहरूको संख्या २७६ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५३.५ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.० प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.० प्रतिशत, होटेलको हिस्सा २.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.५ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ६ अर्ब १८ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ९९ करोड ४७ लाख रुपैयाँ बराबरको साधारण सेयर गरी कुल १० अर्ब ९५ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
पुँजी बजारमा बैंकहरूको १ खर्ब २१ अर्ब रुपैयाँ लगानी, माछापुच्छ्रे र कृषि विकासले धेरै बढाए
काठमाडौं । वाणिज्य बैंकहरूले १ खर्ब बढी रकम सेयर धितो कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा २० वटा वाणिज्य बैंकले १ खर्ब २१ अर्ब ५८ करोड २८ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका हुन् । जबकि गत वर्षको असोजसम्मा बैंकहरुले ८४ अर्ब २१ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । गत वर्षको तुलनामा चालु आवमा बैंकहरुले ४४.३७ प्रतिशत अर्थात् ३७ अर्ब ३७ करोड २३ लाख रुपैयाँ बढी सेयर धितो कर्जा प्रवाह गरेका हुन् । पछिल्लो समय नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा विगतमा गरिएका कडाइलाई खुकुलो गरेसँगै बैंकहरुले लगानी बढाएका हुन् । नीतिगत व्यवस्था सहज भएर सेयर बजारमा प्रवाह हुने रकम बढेको भएपनि बजार माथि उकालो लाग्न नसकेको लगानीकर्ताहरु बताउँछन् । चालु आवको असोज मसान्तसम्ममा सबैभन्दा धेरै माछापुच्छ्रे बैंकले सेयर धितो कर्जा वृद्धि गरेको छ । माछापुच्छ्रे बैंकको २९२.४८ प्रतिशत बढाएर ३ अर्ब ५३ करोड २५ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ । जबकि गत वर्षको असोजमा बैंकले ९० करोड रुपैयाँ मात्रै सेयरमा लगानी गरेको थियो । यस्तै, असोज मसान्तसम्ममा कृषि विकास बैंकको २५१.९९ प्रतिशत बढेर ५ अर्ब ९१ करोड रुपैयाँ सेयर कर्जा लगानी प्रवाह गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६७ करोड रुपैयाँ सेयरमा लगानी गरेको थियो । समीक्षा अवधिमा लक्ष्मी सनराइज बैंकको ८९.९८ प्रतिशत बढेर ७ अर्ब ७९ करोड रुपैयाँ, एनएमबि बैंकको ८६ प्रतिशत बढेर ३ अर्ब २ करोड रुपैयाँ, प्राइम बैंकको ७७.७८ प्रतिशत बढेर ९ अर्ब ८० करोड रुपैयाँ, एभरेष्ट बैंकको ७२.८२ प्रतिशत बढेर ३ अर्ब ६७ करोड रुपैयाँ सेयरमा लगानी गरेका छन् । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ६७.११ प्रतिशत बढेर ६ अर्ब ९२ करोड रुपैयाँ, हिमालयन बैंकको ६५.४५ प्रतिशत बढेर २ अर्ब ९५ करोड रुपैयाँ, प्रभु बैंकको ६३.६९ प्रतिशत बढेर ५ अर्ब ९६ करोड रुपैयाँ, सानिमा बैंकको ५५.२५ प्रतिशत बढेर २ अर्ब ९६ करोड रुपैयाँ, नबिल बैंकको ४८.३८ प्रतिशत बढेर १६ अर्ब २६ करोड रुपैयाँ सेयरमा लगानी गरेको राष्ट्र बैंकको तथ्याङ्क छ । राष्ट्र बैंकका अनुसार कुमारी बैंकको ३६.२९ प्रतिशत बढेर १० अर्ब ५४ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को २३.३२ प्रतिशत बढेर ३ अर्ब ८० करोड रुपैयाँ, सिटिजन्स बैंकको १८.७४ प्रतिशत बढेर ६ अर्ब ६१ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको १७ प्रतिशत बढेर ५३ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको १७ प्रतिशत बढेर १२ अर्ब ५६ करोड रुपैयाँ, सिद्धार्थ बैंकको १५.७५ प्रतिशत बढेर ८ अर्ब ९५ करोड रुपैयाँ पुँजी बजारमा लगानी गरेका छन् । समीक्षा अवधिमा नेपाल बैंक र एनआईसी एशिया बैंकले भने सेयर बजारमा प्रवाह हुने कर्जा घटाएका छन् । एनआईसी एशिया बैंकले १६.०७ प्रतिशत घटाएर २ अर्ब ४७ करोड रुपैयाँ र नेपाल बैंकले ३.६१ प्रतिशत घटाएर ७ अर्ब २६ करोड रुपैयाँ मात्रै सेयरमा लगानी गरेका हुन् ।
सेयर बजारमा ४ अर्बको कारोबार, सबै समूहका सूचकमा हरियाली
काठमाडौं । साताको तेस्रो करोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ अंकले बढेर २५६६ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २०७ कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा कुनै कारोबार भएको छैन । मंगलबार ३४५ कम्पनीको ९२ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार साहस ऊर्जाको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै बरुण हाइड्रोको १५ करोड, माउन्टेन इनर्जीको १३ करोड, सीइनर्जी पावर डेभलपमेन्टको ९ करोड ९३ लाख र निफ्रा इन्फ्राइस्ट्रक्चर बैंकको ९ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सागर डिस्टीलरी र माबिलुङ इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बुंगल हाइड्रो, झापा इनर्जी र बन्दिपुर केबलकारको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । मंगलबारको करोबारमा सबै समूहका सूचकमा हरियाली छाएको छ । बैंकिङ ०.३१, विकास बैंक १.२५, फाइनान्स ०.८९, होटल तथा पर्यटन १.२८, जलविद्युत् ०.९३, लगानी १.०३, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.२०, माइक्रोफाइनान्स ०.४७, निर्जीवन बीमा ०.८४, अन्य ०.५३ तथा व्यापार ०.०९ प्रतिशतले बढेका छन् ।