शिवम् सिमेन्टको नाफामा १ हजार ५३८ प्रतिशत उछाल, अन्य सूचकमा पनि छलाङ
काठमाडौं । शिवम् सिमेन्टको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा १ हजार ५३८.१६ प्रतिशत बढेर २० करोड ९६ लाख ६८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १ करोड २७ लाख ९९ हजार रुपैयाँ मात्रै नाफा गरेको थियो । चालु आवको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन आम्दानी ९ प्रतिशत बढेर १ अर्ब ५३ करोड ३३ लाख रुपैयाँ गरेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ४० करोड ६३ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । असोजसम्ममा कम्पनीको कुल नाफा २१५ प्रतिशत बढेर ३२ करोड ६५ लाख रुपैयाँ र अन्य आम्दानी १.९७ प्रतिशत घटेर १० करोड ३६ लाख रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको कुल खर्च ३.९१ प्रतिशत बढेर १९ करोड ६७ लाख रुपैयाँ गरेको छ । ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ अर्ब ३ करोड रुपैयाँ सञ्चित छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी १४.३५ रुपैयाँ बढेर १५.३७ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९२.१८ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३६.४२ गुणा रहेको छ ।
सोलु हाइड्रोपावरले मंसिर ७ गतेदेखि आईपीओ बिक्री गर्ने
काठमाडौं । सोलु हाइड्रोपावरले मंसिर ७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको २ करोड कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १ अर्ब रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले १ करोड कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गर्नेछ । स्थानीयलाई छुट्याएको सेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र सोलु दूधकुण्ड नगरपालिका-७, ११ र थुलुङ दूधकोसी गाउँपालिका-१ का बासिन्दालाई ४० लाख कित्ता र ६० लाख कित्ता आयोजना अति प्रभावित वडा बाहेक अन्य वडामा बस्ने स्थानीयलाई बिक्री गर्ने कम्पनीले जनाएको छ । साथै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १० करोड रुपैयाँको १० लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री गरिनेछ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतामा १ लाख कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा स्थानीयले मंसिर २१ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा पुस ७ गतेसम्म आवेदन दिने सम लम्बिने कम्पनीले जनाएको छ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले भने छिटोमा मंसिर १० गते र ढिलोमा मंसिर २१ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । स्थानीयले ग्लोबल आइएमई बैंकको सल्लेरी, सोलुखुम्बु शाखा, लक्ष्मी सनराइज बैंकको नेले, सोलुखुम्बु शाखा र आयोजनास्थल तिङ्गला, सोलुखुम्बुबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौं । नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले सूचीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए । आठ वर्षे अवधिको ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर पाइनेछ । १ हजार अंकित मूल्यका दरले ३० लाख कित्ताले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको यस ऋणपत्र दोस्रो बजारमा बिहीबारदेखि कारोबार सुरु भएको बैंकले जानकारी दिएको छ । ऋणपत्र रजिष्ट्रार सेवासम्बन्धी काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ । नबिल बैंकले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिका २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।