अष्ट्रेलियाली सेयर बजारमा गिरावट, तेल मूल्य वृद्धिको असर

काठमाडौं । अष्ट्रेलियाको सेयर बजार सोमबार प्रारम्भिक कारोबारमै १.४ प्रतिशतले घटेको छ । विश्वव्यापी तेल मूल्य निरन्तर बढ्दै गएपछि बजारमा दबाब परेको हो । एस एन्ड पीरएएसएक्स २०० सूचकांक सोमबार कारोबार सुरु भएको पहिलो घण्टामै १.४ प्रतिशतले घटेर ८ हजार ३९७ अङ्कमा झरेको छ । यो सूचकाङ्क शुक्रबारको बन्द अवस्थामा रहेको ८ हजार ५१६.३ अंकबाट तल आएको हो । सोमबार बिहानसम्म हेर्दा यो प्रमुख सूचकांक पछिल्लो एक महिनामा झण्डै ८.७ प्रतिशतले घटिसकेको छ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्वव्यापी तेलको मूल्य प्रति ब्यारेल १२० अमेरिकी डलर नजिक पुगेको छ, जसले सेयर बजारमा नकारात्मक प्रभाव पारेको विश्लेषकहरूले बताएका छन् । सोमबार बिहानको कारोबारमा विशेषगरी वित्तीय र स्वास्थ्य क्षेत्रमा बढी गिरावट देखिएको छ । रासस  

हिमालयन बैंकको १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा रूपान्तरण गरिने

काठमाडौं । हिमालयन बैंकले १० प्रतिशत संस्थापक सेयर सर्वसाधारण सेयरमा रूपान्तरण गर्ने निर्णय गरेको छ। बैंकको संचालक समितिको चैत १५ गते आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनी सचिव विपिन हाडाले उक्त निर्णय नेपाल राष्ट्र बैंकको प्रचलित निर्देशनअनुसार हाल कायम पुँजी संरचनाको आधारमा गरिएको बताए । उनका अनुसार, बैंकले सेयर रूपान्तरणका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाउनेछ । प्रक्रिया पूरा भई सम्बन्धित नियामक निकायबाट स्वीकृति प्राप्त भएपछि संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा रूपान्तरण गरिनेछ। बैंकको हाल चुक्ता पुँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार रुपैयाँ रहेको छ। यसमध्ये ७० प्रतिशत अर्थात् १५ अर्ब ८० करोड ७१ लाख रुपैयाँ संस्थापक समूहको स्वामित्वमा रहेको छ भने ३० प्रतिशत अर्थात् ६ अर्ब ७७ करोड ४४ लाख रुपैयाँ सर्वसाधारण सेयरधनीको स्वामित्वमा रहेको छ।

नेपाल सेरामिकको आईपीओ व्यवस्थापन माछापुच्छ्रे क्यापिटलले गर्ने

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड र नेपाल सेरामिक इण्डष्ट्री लिमिटेडबीच कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने सम्बन्धमा निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्न आइतबार सम्झौता भएको छ। सम्झौताअनुसार नेपाल सेरामिक इण्डष्ट्री लिमिटेडले सर्वसाधारणका लागि ३० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्नेछ । उक्त आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा माछापुच्छ्रे क्यापिटल लिमिटेड नियुक्त गरिएको हो । सम्झौता समारोहमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी नेपाल सेरामिक इण्डष्ट्री लिमिटेडका अध्यक्ष शम्भुनाथ झाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।