ब्रोकरलाई एउटा शाखा खोल्न साढे एक करोड चाहिने, पुँजीभन्दा नेटवर्थ बढी हुनुपर्ने

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरुले अबदेखि विभिन्न स्थानमा ब्रोकर शाखा खोल्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दलाल व्यवसायीले शाखा खोल्ने सम्बन्धी निर्देशिका, २०७९ जारी गर्दै उनीहरुलाई शाखा खोल्न बाटो खुला गरेको हो । यो निर्देशिका यहि फागुन ४ गतेदेखि लागू भएको छ । जसअनुसार ब्रोकरले शाखा कार्यालय खोल्दा प्रतिशाखा एक करोड ५० लाख रुपैयाँका दरले चुक्ता पुँजी कायम गर्नु पर्नेछ । तर ब्रोकरको मुख्य कार्यालय रहेको जिल्लामा अर्को शाखा कार्यालय खोल्न स्वीकृति नदिइने व्यवस्था छ । त्यस्तै, नेपाल सरकारले तोकेको दुर्गम जिल्लामा थप शाखा कार्यालय खोल्न बोर्डले स्वीकृति दिन सक्नेछ । ब्रोकरले काठमाडौं उपत्यका बाहिर कम्तिमा तीनवटा शाखा खोले पछिमात्र काठमाडौं उपत्यकाभित्र शाखा खोल्न पाउने छन् । त्यस्तै, शाखा कार्यालय खोल्न चाहने ब्रोकरको नेटवर्थ भने चुक्ता पुँजीभन्दा बढी हुनु पर्नेछ । बोर्डले दोस्रो बजारको पहुँचलाई पनि विकास र विस्तार गर्न आवश्यक रहेको भन्दै ब्रोकरहरुलाई नयाँ शाखा खोल्न पाउने व्यवस्था गरिदिएको हो । साथै, यो निर्देशिका अनुसार ब्रोकहरुले खोल्नेसम्बन्धी प्रक्रियालाई छिटो, छरितोर सहज बनाउन, धितोपत्र दलाल व्यवसायमा रहने वित्तीय जोखिमको न्यूनिकरण गरी सबल ढङ्गले शाखा कार्यालय संचालन गर्न बोर्डको निर्देशन छ । यस्तो छ निर्देशिका [pdf id=389233]

हिमालयन बैंकको १ करोड बढी कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । हिमालयन बैंकको ८ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । बैंकको ८ प्रतिशत अर्थात १ करोड ३ लाख कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो । उक्त सेयर शुक्रबार मात्रै नेप्सेमा थपिएको हो । हिमालयन र सिभिल बैंक एक आपसमा मर्ज भई आगामी फागुन १२ गतेदेखि एकीकृत कारोबार भइरहेका छन् । मर्जपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार हुन लागेको हो ।

ग्लोबल आइएमईको ऋणपत्र खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । ग्लोबल आइएमई बैंकको ऋणपत्रमा मागभन्दा बढी आवेदन परेपछि शुक्रबार बिक्री प्रक्रिया बन्द गरिने भएको छ । बैंकले माघ २९ गतेदेखि निष्काशन गरेको ५ अर्ब रुपैयाँको ऋणपत्रमा आज फागुन ५ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदरमा ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ निष्काशन गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । जसमध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ता ब्यक्तिगत र ४० प्रतिशत अर्थात् २० लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वसाधारणलाई छुट्याएको २० लाख कित्तामध्ये सामूहिक लगानी कोषका लागि ३० हजार कित्ता र बाँकी १९ लाख ३० हजार कित्ता सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बैंकको उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै, सिडिएस एण्ड क्लिरिङ्गले निर्माण गरेको मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ए रेटिङ प्रदान गरेको छ । यसले न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ ।