भूगोल इनर्जिले फागुन ८ देखि आईपीओ बिक्री गर्ने, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीले फागुन ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४ सय रुपैयाँबाट आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् ५ करोड ४४ लाख ५ हजार ३ सय रुपैयाँ बराबरको ५ लाख ४४ हजार ५३ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि बिक्री गर्नेछ । जसमध्ये अति प्रभावित क्षेत्र नौमुले द्वारी ३ दैलेखका स्थानियहरुका लागि २ लाख ७२ हजार २६ कित्ता र आयोजन प्रभावित क्षेत्र दैलेख (नौमुले द्वारी ३ बाहेक)का स्थानिय बासिन्दाहरुका लागि २ लाख ७२ हजार २७ कित्ता सेयर छुट्याइएको छ । साथै, सर्वसाधारणहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ८ हजार ८११ कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ३० हजार कित्तासम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ । यदि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि छुट्याएको सेयरमा सो अवधिमा पूर्ण आवेदन नपरेमा चैत ७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा स्थानिय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, क्यापिटलको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी आवेदन दिन सकिनेछ । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

सेयर बजार बढ्नु पर्छ, कहिले काँहि घट्नु स्वभाविक हो : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सेयर बजार बढ्नु पर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सेयरबजार बढ्छ तर कहिले काँहि घट्नु स्वभाविक रहेको बताएका हुन् । त्यस्तै, उनले राष्ट्र बैंक पुँजी बजारप्रति सकारात्मक नै रहेको बताएका छन् । ‘पुँजी बजारको नियमन गर्ने छुट्टै निकाय छ, यो बजारमा राष्ट्र बैंकको नियमनको दायरामा पर्ने संस्था धेरै भएको हुँदा केही असर गरेको हुन सक्छ,’ उनले भने- ‘पुँजी बजारप्रति नकारात्मक भने छैन । ‘ विगतमा पनि विदेशी मुद्राको अभाव रहेको र आगामी दिनमा पनि विदेशी मुद्रा घट्न सक्ने उनले बताए । त्यसैले आयातमा कडाइ गरिएको उनको भनाई छ । ‘आयातमा गरेको काडाइ छोटो अवधिका लागि हो, सुधार हुने बित्तिकै खुकुलो गरिन्छ, जस्तो बैशाखमा कडाइ गरेकोमा भदौमा खुकुलो गरेको थियो,’ गर्भनर अधिकारीले भने ।

सोमबार सेयर बजार बन्द

काठमाडौं । भोलि (फागुन १ गते) सोमबार सेयर बजार बन्द हुने भएको छ । सरकारले देशभर सार्वजनिक विदाको घोषणा गरेसँगै सेयर बजार पनि बन्द हुने भएको हो । माघ २९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्याएको योगदानको कदर गर्दै जनयुद्ध दिवसका रूपमा फागुन १ गते सार्वजनिक विदा दिने घोषणा गरेको हो । जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ । परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिहरूको सम्मानमा सरकारले सार्वजनिक विदा दिने निर्णय लिएको हो ।