मोलुङ्ग हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने आज माघ १५ गते अन्तिम दिन रहेको छ । कम्पनीको पुस १९ गतेदेखि निष्काशन गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी ८० करोड २५ लाख रुपैयाँको ४४ प्रतिशत अर्थात् ३५ करोड ३१ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यदरका ३५ लाख ३१ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये ८ लाख २ हजार ५ सय कित्ता सेयर आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाको मोलुङ्ग गाउपालिकाका बासिन्दाहरुको लागि ५ प्रतिशत, सुनकोशी गाउँपालिकाका बासिन्दाहरुको लागि २.५ प्रतिशत र सिद्धिचरण नगरपालिकाका बासिन्दाहरुको लागि २.५ प्रतिशत गरी १० प्रतिशत सेयर निष्काशन गरिएको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ८ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक र लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।
सुपर मादी हाइड्रोको आईपीओमा पौने १२ लाख लगानीकर्ताको हात रित्तो !
काठमाडौं । सुपर मादी हाइड्रोपावरको आईपीओमा साढे १३ लाख बढीले आवेदन दिएका छन् । कम्पनीको आईपीओमा १३ लाख ५७ हजार ७४५ जना आवेदकले १ करोड ५५ लाख ६२ हजार २१० कित्ताका लागि १ अर्ब ५५ करोड ६२ लाख २१ हजार रुपैयाँ बराबरको आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्गले जनाएको हो । कम्पनीको आईपीओमा ११ गुणा बढी आवेदन परेको हो । कम्पनीले माघ ९ गतेदेखि माघ १२ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । जसमध्ये २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि, १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि र ४२ हजार कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी रहेको १७ लाख ४३ हजार कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत १० कित्ताका दरले बाँडफाँट गरिनेछ । १० कित्ताका दरले बाँडफाँट गर्दा १ लाख ७२ हजार ३ सय जना आवेदकले मात्रै कम्पनीको आईपीओ प्राप्त गर्नेछन् । बाँकी आवेदन दिएका ११ लाख ८३ हजार लगानीकर्ताको हात रित्तो हुने देखिन्छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।
रेमिट्यान्स कम्पनीहरुले पनि आइपीओ जारी गर्ने
काठमाडौं । रेमिट्यान्स कम्पनीहरुले पनि आइपीओ जारी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको विप्रेषण विनियमावली २०७९ अनुसार रमिट्यान्स कम्पनीहरुले पनि सर्वसाधरणको लागि सेयर जारी गर्न सक्ने भएका हुन् । इजाजत प्राप्त विप्रेषण कम्पनीहरुले प्रचलित कानून व्यवस्थाहरुको अधिनमा रही पब्लिक लिमिटेड कम्पनीको रुपमा सर्वसाधरणलाई सेयर जारी गर्न सक्ने विनियमावली २०७९ उल्लेख छ । ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७’ लाई खारेज गर्दै राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९’ जारी गरेको हो ।