मारूती सिमेन्ट्सको १० प्रतिशत लाभांश घोषणा

काठमाडौं । मारूती सिमेन्ट्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले ३१औँ वार्षिक साधारण सभा मंसिर १५ गते बिहान साढे ११ बजे रजिस्टर्ड कार्यालय बिराटनगरमा बोलाएको हो । सभाले आर्थिक वर्ष २०८१/८२ कम्पनीको संचालक समितिले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरेको १ लाख रुपैयाँ भन्दा माथिका रकमहरू अनुमोदन गर्नेछ । यस्तै कम्पनीको संचालक समितिको निर्णयबाट विभिन्न बैंकहरूबाट लिएको ऋण र आर्थिक वर्ष २०८१/८२ मा गरेका निर्णयहरू अनुमोदन गर्नेछ ।  यस्तै संचालक समितिको गत आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

लक्ष्मी सनराइज क्यापिटलको १५औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले १५औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न गरेको छ । सभामा वार्षिक प्रतिवेदन, आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण अनुमोदन गरिएको छ ।  साथै आगामी आव २०८२/०८३ को लेखापरीक्षण कार्यका लागि हालका लेखापरीक्षक एन.बी.एस.एम एण्ड एशोसिएट्सलाई पुनः नियुक्त गर्ने निर्णय गरिएको छ । सभाले आषाढ मसान्त २०८२ अनुसार प्रति सेयर आम्दानी १८.२० रहेकोमा वितरण योग्य आम्दानीको १७.८३ प्रतिशत मध्ये १५.७९ प्रतिशत अर्थात ७.७२ करोड (कर सहित) नगद लाभांश सेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले नेपालको पुँजी बजारको इतिहासमा पहिलोपटक सेयर निष्काशनसँग सम्बन्धित मर्चेण्ट बैंकिङ्ग र सामूहिक लगानी कोष सञ्चालनको सुरुआत गरेको थियो। विगत तीन दशकदेखि कम्पनीले नेपालको धितोपत्र बजारको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । हाल कम्पनीले करिब ६ अर्ब रुपैयाँ बराबरको पाँचवटा बन्दमुखी म्युचुअल फण्ड र एक वटा खुल्लामुखी म्युचुअल फण्ड सञ्चालन गर्दै आएको छ । आव २०८१/०८२ मा सबै म्युचुअल फण्डले दोहोरो अंकको प्रतिफल वितरण गर्न सफल भएका छन् ।  साथै लक्ष्मी सस्टनेवल ईनर्जी फण्ड जसको पुँजी एक अर्ब रुपैयाँ रहेको छ, दिगो उर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्यमा अघि बढिरहेको क्यापिटलले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब बराबरको डिबेञ्चर जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘६ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८९’ को निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले एक हजारका दरले ३० लाख कित्ता बरारबर हुन आउने रकम ३ अर्ब बराबरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा कुमारी क्यापिटललाई दिएको हो । बिहीबार (आज) बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा उक्त सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्ररमण खनाल र कुमारी क्यापिटलका सीईओ पुष्प शर्माले हस्ताक्षर गरे । जारी गर्न लागिएको ऋणपत्रमध्ये ६० प्रतिशत (१८ लाख कित्ता) अर्थात् १ अर्ब ८० करोड बराबरको भाग संस्थागत तथा व्यक्तिगत तवरबाट निष्काशन गरिनेछ भने बाँकी ४० प्रतिशत (१२ लाख कित्ता) अर्थात् १ अर्ब २० करोड बराबरको भाग सर्वसाधारणका लागि खुला हुनेछ । उक्त ‘६ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८९’ को वार्षिक ब्याजदर ६ प्रतिशत रहनेछ र यसको अवधि सात वर्ष तोकिएको छ । राष्ट्रिय वाणिज्य बैंकले ३१० शाखा कार्यालयमार्फत देशभर आधुनिक बैंकिङ तथा वित्तीय सेवाहरू प्रदान गर्दै आएको छ ।