नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)का ६ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर ६ जना संस्थापक सेयरधनी बाहिरिन लागेका हुन् । बैंकका अनुसार विभिन्न ६ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको २ लाख ५३ हजार ३६७ कित्ता संस्थापक सेयर आंशकि वा पुरै बिक्रीमा राखेका हुन् । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि आवेदन दिनुपर्ने जनाएको छ । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर र मूल्य समेत तोकि निवेदन दिनुपर्नेछ । यदि उक्त समय भित्र बिक्री नभएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपालीका लागि स्नो रिभर्सको आईपीओ बिक्री खुला
काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज चैत ९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात् १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ९ करोड ३७ लाख ५० हजार रुपैयाँको ९ लाख ३७ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ । स्थानीयलाई छुट्याएको सेयरमध्ये अति प्रभावित क्षेत्र ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-८ का स्थानीयलाई ४ लाख ६८ हजार ७५० कित्ता र आयोजना प्रभावित क्षेत्र सिरीजङ्गा गाउँपालिका-१ देखि ७ सम्म, सिदिङ्वा गाउँपालिका-५ र ६, पाथीभरा याङवारक गाउँपालिका-५ र ६ र पाँचथरको हिलिहाङ गाउँपालिका-१ का स्थानीयलाई ४ लाख ६८ हजार ७५० कित्ता सेयर बिक्री खुला गरिएको हो । साथै सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता सेयरमा श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतममा स्थानीयले १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले १ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले चैत २३ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा २०८३ वैशाख ८ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा चैत १२ गते र ढिलोमा चैत २३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजनाको कार्यालय याम्फुदिन, नेपाल बैंकको सिरीजङ्गा शाखा, एनएमबि बैंक, सानिमा बैंक र ग्लोबल आइएमई बैंकको फुङलिङ शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
सोपान फर्मास्युटिकल्सको आईपीओ बिक्री खुला, ११ हजार कित्ता आवेदन दिन मिल्ने
काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले आज चैत ९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत अर्थात् ४२ करोड ९० लाख रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४२ लाख ४९ हजार कित्ता सेयर जारी गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली, ४ प्रतिशत अर्थात् १ लाख ७१ हजार ६ सय कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् २ लाख १४ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई बिक्री खुला गरिएको हो । साथै, बाँकी रहेको ३४ लाख ७४ हजार ९ सय कित्ता सर्वसाधारण लगानीकर्तालाई सुरक्षित राखेको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम ११ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा चैत १२ गते र ढिलोमा चैत २३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।