होटल इस्टर्न नेपालले आईपीओ ल्याउने, एनआईसी एशिया क्यापिटलसँग सम्झौता

काठमाडौं । एनआईसी एशिया क्यापिटल र होटल इस्टर्न नेपाल लिमिटेडबीच प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ । एनआईसी एशिया क्यापिटलले आफ्नो ‘आईडिया टू आईपीओ’ सेवा अन्तर्गत होटल इस्टर्न नेपाललाई सार्वजनिक कम्पनीमा रूपान्तरण गरी आईपीओ निष्कासनसम्म आवश्यक सम्पूर्ण वित्तीय तथा परामर्श सेवा प्रदान गर्नेछ । झापाको मेचीनगर नगरपालिका–१०, धुलाबारीमा निर्माणाधीन होटल इस्टर्न नेपाल लिमिटेड अन्तर्राष्ट्रिय स्तरको पाँचतारे होटल हो । उक्त होटल ‘होलिडे इन एक्सप्रेस एन्ड सुइट्स’ ब्रान्डअन्तर्गत सञ्चालनमा आउनेछ । होटल व्यवस्थापनका लागि कम्पनीले अन्तर्राष्ट्रिय होटल समूहसँग सम्झौता गरिसकेको जनाएको छ । निर्माणको अन्तिम चरणमा पुगेको होटल चालु आर्थिक वर्ष २०८२÷८३ भित्र सफ्ट ओपनिङ गर्ने लक्ष्य राखिएको छ । होटल सञ्चालनमा आएपछि क्यासिनो, उच्चस्तरीय गेमिङ तथा मनोरञ्जन सेवा, रूफटप स्विमिङ पुल, आधुनिक तथा सुविधासम्पन्न कोठा तथा सुइट, बैंक्वेट हल, बहुउद्देश्यीय रेस्टुरेन्ट, रूफटप रेस्टुरेन्ट, ज्याकुजी, स्पा, हेल्थ क्लब, इन–हाउस लन्ड्री तथा व्यावसायिक हाउसकिपिङ सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ । होटल भारत–नेपाल सीमाबाट करिब ७ किलोमिटर र भारतको बागडोग्रा विमानस्थलबाट करिब २७ किलोमिटर दूरीमा अवस्थित रहेको छ । सीमावर्ती क्षेत्रमा अवस्थित भएकाले भारतीय पर्यटकलाई लक्षित सेवा प्रवाह गर्ने कम्पनीको रणनीति रहेको छ । होटल इस्टर्न नेपाल सञ्चालनमा आएपछि पूर्वी नेपाल मात्र नभई समग्र नेपाली पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । एनआईसी एशिया क्यापिटलले ‘आईडिया टू आईपीओ’ सेवामार्फत निजी कम्पनीलाई सार्वजनिक कम्पनीमा रूपान्तरण गर्ने, सेयर निष्कासन प्रक्रिया अघि बढाउने तथा पूँजी बजारमा प्रवेश गराउने उद्देश्यसहित परामर्श सेवा प्रदान गर्दै आएको छ ।

सुपर खुदी हाइड्रोको आईपीओ आजदेखि बिक्री खुला, कहिलेसम्म आवेदन दिन पाइन्छ ?

काठमाडौं । सुपर खुदी हाइड्रोपावरले आज फागुन ५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरिसकेपछि अब सर्वसाधारण लगानीकर्तालाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ३१ करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३१ लाख कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १५ करोड ५० लाख रुपैयाँको १५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित, सर्वसाधारणलाई छुट्याइएको १० प्रतिशत अर्थात् १ लाख ५५ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली र ७७ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरिसकेको छ ।  अब दोस्रो चरणमा कम्पनीले ३१ हजार कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको १२ करोड ८६ लाख ५० हजार रुपैयाँको १२ लाख ८६ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा फागुन २० गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

नासा सेक्यूरिटीजमा २ करोडसम्म मार्जिन ट्रेडिङ सुविधा सुरु, ३० प्रतिशत प्रारम्भिक मार्जिनमै सेयर खरिद गर्न सकिने

काठमाडौं । नासा सेक्यूरिटीजले लगानकर्ताले ब्रोकरबाटै कर्जा लिएर सेयर खरिद गर्नसक्ने मार्जिन ट्रेडिङ कारोवार सुविधा सोमबार (आज) बाट सुरु भएको घोषणा गरेको छ । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधासम्बन्धि निर्देशिका, २०८२ लागू गरेसँगै नासाले मार्जिन ट्रेडिङ कारोवार सुरु गरेको हो ।  अब लगानीकर्ताहरूले नासा सेक्यूरिटीजबाट ऋण लिएर सेयर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यसले उनीहरूलाई आकर्षक लगानी अवसरहरू सदुपयोग गर्न सक्षम बनाउने दावी कम्पनीको छ । विभिन्न प्रकारका ग्राहक तथा उनीहरूको ऋण आवश्यकतालाई सहज रूपमा सम्बोधन गर्न उक्त ऋण संरचना लचिलो र ग्राहकमैत्री बनाइएको कम्पनीले बताएको छ । कम्पनीले २०७५ को निर्देशिकालाई प्रतिस्थापन गर्दै लागू गरिएको मार्जिन कारोवार सुविधासम्बन्धि निर्देशिका, २०८२ अन्तर्गत नयाँ योजना तथा स्किमहरू प्रस्तुत गरेको हो । यसले हरेक ग्राहकको मार्जिन आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएको सुविधा प्रदान गर्ने कम्पनीको भनाइ छ । कम्पनीको मार्जिन ट्रेडिङ योजनाअन्तर्गत यदि कुनै ग्राहकले १० लाख रुपैयाँ बराबरको मार्जिन प्रोडक्ट लिन चाहन्छ भने उसले केवल ३० प्रतिशत प्रारम्भिक मार्जिन (३ लाख रुपैयाँ) राखी कारोबार सुरु गर्न सक्नेछन् र ७ लाख रुपैयाँ कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सक्नेछन् । यस योजनाअनुसार यदि ऋणको अवधि १ महिना भएमा त्यसमा सेवा शुल्क तथा ब्याज गरी जम्मा ७ हजार रुपैयाँ लाग्ने कम्पनीले बताएको छ । सोही रकमको ऋण २ महिनाका लागि लिएमा सेवा शुल्क तथा ब्याज गरी १३ हजार ६५० रुपैयाँ र ३ महिनाका लागि लिएमा सेवा शुल्क तथा ब्याज गरी १९ हजार ९५० लाग्ने कम्पनीले जनाएको छ । यसका अतिरिक्त कम्पनीले १० लाख रुपैयाँ देखि २ करोड रुपैयाँसम्मका योजना तथा अफरहरू उपलब्ध गराएको छ जसको अवधि १ महिनादेखि ३ महिनासम्मको रहनेछ। यस मार्जिन ट्रेडिङ सुविधा मार्फत लगानीकर्ताहरूले अझ ठूलो लगानी अवसरहरूको लाभ लिन सक्ने कम्पनीको विश्वास छ । नासा सेक्यूरिटीजबाट मार्जिन ट्रेडिङ सेवा लिन इच्छुक जो कोही ग्राहकले आफ्नो मार्जिन डिम्याट खाता तथा मार्जिन ट्रेडिङ खाता नासामै खोल्नुपर्ने कम्पनीले जनाएको छ । ऋणसम्बन्धी थप प्रक्रिया अघि बढाउन अब कम्पनीको नजिकको शाखा कार्यालयमा उपस्थित भई आफ्नो केवाईसी फाराम भर्नुका साथै आवश्यक आधिकारिक जानकारी तथा कागजातहरू पेश गर्न सक्नेछन् ।  आवेदन स्वीकृत भएपछि ऋण सुविधा उपलब्ध गराउन आवश्यक थप कार्यहरू अगाडि बढाइने कम्पनीले बताएको छ । यद्यपि यस सेवाको लाभ लिनका लागि ग्राहकहरूले सेबोनद्वारा जारी निर्देशिका अनुसार मार्जिन ट्रेडिङका लागि योग्य कम्पनीहरूको सूचीभित्र मात्र कारोबार गर्नुपर्नेछ।