नेप्सेको पुरानो साइटमा समस्या, कसरी हेर्ने लाइभ ?
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सञ्चालनमा ल्याएको पुरानो साइटमा प्राविधिक समस्या देखिएको छ । उक्त साइट मर्मतको क्रममा रहेकोले प्रावधिक समस्या देखिएको हो । उक्त साइटमा समस्या देखिएसँगै नेप्सेले लगानीकर्तालाई नयाँ वेवसाइट हेर्न आग्रह गरेको छ । यससँगै लगानीकर्ताले लाईभ ट्रेडिङको डाटा तथा जानकारी लिन यो लिंकमा क्लिक गरी नेप्सेको नयाँ वेवसाइटमा जान सक्नेछन् ।
जानकी फाइनान्सको लाभांश घोषणा, नगदमा भन्दा बोनसमा जोड
काठमाडौं । जानकी फाइनान्स कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । फाइनान्सले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट चुक्ता पुँजीको १५.०७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस २७ गते दिउँसो बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्छ । हाल संस्थाको चुक्ता पुँजी ६० करोड ४ लाख रुपैयाँ छ । १५ प्रतिशत बोनस पारित पछि संस्थाको चुक्ता पुँजी ६९ करोड रुपैयाँ नाघ्ने छ ।
कार्तिक यताकै उच्च बिन्दुमा नेप्से परिसूचक, अपिको सर्वाधिक कारोबार हुँदा ७ कम्पनीमा सर्किट
काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा बढेको छ । बजार निरन्तर रुपमा बढेसँगै सेयर मूल्य मापक नेप्से परिसूचक पनि गत कार्तिक यताकै उच्च बिन्दुमा पुगेको छ । पुस २७ गते मंगलबारको परिसूचक ४९.१९ अंकले बढेर २८३४.१३ बिन्दुमा पुगेको छ । जुन करिब साढे दुई महिना पछिकै उच्च अधिकतम बिन्दु हो । गत कार्तिक १७ गतेको बजारमा नेप्से परिसूचक २८४८.८४ बिन्दुमा पुगेको थियो । त्यसयता परिसूचकले २८०० बिन्दु पार गरेको सम्भवतः दुई पटक ( (आजसहित) हो । मंगलबार ६ अर्ब ७२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा भने घटी हो । सोमबारको बजारमा ७ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । २३२ स्क्रिप्सको किनबेच भएको बजारमा सबैभन्दा बढी अपि पावरको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १६ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यस्तै, १० करोडभन्दा माथिको सेयर कारोबार गर्नेमा अन्य ९ कम्पनी रहेका छन् । त्यस्तै, करिब ५० अंकले बढेको बजारमा ८ कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भएको छ । जसमध्ये नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, सिभिल लघुवित्त वित्तीय संस्था र न्यादी हाइड्रोपावरको सेयर मूल्य क्रमशः ९.९२ र ९.७९ प्रतिशतले बढेका छन् । बजारमा माउन्टेन इनर्जीको सेयर मूल्य सबैभन्दा बढी प्रतिशतले घटेर किनबेच भएको छ । कम्पनीको सेयर मूल्य ३.५२ प्रतिशतले घटेर प्रतिकित्ता ११७७ रुपैयाँमा अन्तिम कारोबार भएको हो । मंगलबार उत्पादनमूलक समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् । जसमध्ये सबैभन्दा बढी जीवन बीमा समूह ५९७.७१ अंकले उकालो लागेको छ ।