बुद्धभूमीको आईपीओ बाँडफाँड आज हुँदै, कति बजे ?

काठमाडौं । बुद्धभूमी नेपाल हाइड्रोपावरले निष्काशन गरेको आईपीओ आज (असोज २२ गते) बाँडफाँड हुने भएको छ । उक्त आईपीओको बाँडफाँड बिहान १०ः३० बजे निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा हुन लागेको हो । गत बुधबार प्रिअलोेटमेन्ट सकेको क्यापिटलले शुक्रबार बाँडफाँट गर्न लागेको हो । कम्पनीले गत असोज ११ गतेदेखि १४ गतेसम्म कूल ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याई बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारण निष्काशन गरिएको थियो । चार दिन निष्काशन भएको उक्त आईपीओमा अन्तिम दिनसम्ममा २१ लाख ११ हजार ८१९ जना आवेदकले २ करोड ६५ लाख ३१ हजार ४० कित्ता सेयरको लागि आवेदन दिएका छन् । जुन सर्वसाधारणलाई माग गरेको तुलनामा ३५.६६ गुणा बढी हो । त्यस्तै, मागभन्दा बढी आवेदन परेसँगै क्यापिटलले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले सेयर बाँडफाँड गर्नेछ । जसअनुसार रितपूर्वक आवेदक दिनेमध्ये ७४ हजार ४०० जनाले मात्रै १० कित्ता सेयर पाउने छन् भने बाँकी आवेदकको हात खाली हुने देखिन्छ ।

बोनसपछि सिटिजन्स बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १२.९१३ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३५२.४८ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३५२.४८ रुपैयाँबाटै शुरु हुने छ । यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता ३९८ रुपैयाँमा भएको थियो । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२.९१३ प्रतिशत बोनस र ३.०८७ प्रतिशत नगद (कर समेत) गरी १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त  प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । उक्त सभामा जाने प्रयोजनको लागि बैंकले असोज २२ गते बुक क्लोजको मिति तय गरेको थियो । यससँगै गत असोज २१ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् भने आजदेखि बैंकको सेयर किन्ने लगानीकर्ताहरु भने बैंकको गत आवको प्रस्तावित लाभांश पाउन योग्य हुने छैनन् । सम्बन्धित समाचार सिटिजन्स बैंकले तोक्यो बुक क्लोजको मिति, कहिलेसम्मका सेयरधनीले पाउँछन् लाभांश ? सिटिजन्स बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने

सेयर निष्काशन गर्दै मुक्तिनाथ कृषि कम्पनी

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले चार करोड बराबरको ४ लाख कित्ता सेयर निष्काशन गर्ने भएको छ । वि.सं २०७५ सालमा १ अर्व अधिकृत पुँजि र ४० करोड जारी पुँजि सहित स्थापना भएको कम्पनीमा १० प्रतिशत शेयर सर्वसाधारणको लागि छुट्याइएको थियो । मुक्तिनाथ कृषि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्सलाई नियुक्त गरेको छ । बिहीबार कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठबीच यसबारे सम्झौता भएको हो । उल्लेखित सम्झौता अनुसार यहि वर्षको चैत्र मसान्त भित्र निष्काशनको सबै प्रकृया पुरा गरी जारी गर्ने लक्ष लिएको छ । मुक्तिनाथ बिकास बैंक लि। लगायत नेपालका ८६३ जना भन्दा बढि सफल व्यवसायिक व्यक्तिहरुको लगानीमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि पेशालाई प्रतिष्पर्धि र मर्यादित बनाई युवाहरुको आकर्षणको केन्द्र बनाउने लक्ष्य सहित समग्र कृषि अर्थतन्त्रमा टेवा पुर्याउन कृषि मुल्य श्रृङखलाको अवयवहरुमा काम गर्दे आइरहेको छ । कम्पनीले देशका विभिन्न भुभागमा कृषि पेशा गर्दे आइरहेका कृषकहरुलाई सहजिकरण गर्नको लागि सोहि अनुसार व्यवसायिक साझेदारी गरी व्यवसाय संचालन गर्दे आइरहेको छ । कृषि क्षेत्रमा काम गर्ने अभिप्रायले नीजि क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीहरु मध्ये सर्वसाधारणको लागि यो धितोपत्र निष्काशन पहिलो हुने कम्पनीले जनाएको छ ।