परिसूचकसँगै कारोबार पनि बढ्यो, सिटिजन्स बैंकको सर्वाधिक किनबेच, १६ कम्पनीमा लाग्यो सर्किट
काठमाडौं । बुधबारको बजारमा नेप्से परिसूचकसँगै सेयर कारोबार रकम पनि बढेको छ । कारोबार खुलेदेखि उकालो लागेको परिसूचक अन्ततः ६८.४७ अंकले बढेर २६८१.११ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.६२ प्रतिशतले बढी हो । बजारमा साढे ४ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ५१ करोड रुपैयाँले बढी हो । मंगलबारको बजारमा २ अर्ब ९९ करोड रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको छ । दिनभरको कारोबारमा कूल २२७ वटा स्क्रिप्टको ८१ लाख ८९ हजार कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सिटिजन्स बैंक इन्टरनेशनलको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बैंकको एकैदिन ५ लाख ७६ हजार ४२१ कित्ता सेयर कूल २३ करोड ४ लाख रुपैयाँमा कारोबार भएको छ । बैंकले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन भएसँगै लगानीकर्ताहरु उक्त लाभांशमा आकर्षित भएकाले कम्पनीको सेयर कारोबार बढेको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बुधबारको बजारमा बैंकको सेयर मूल्य प्रतिकित्ता ३९८ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३ रुपैयाँले बढी हो । बुधबार कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । जसमध्ये निर्जीवन बीमा समूह ४०६ अंकले उकालो लागेको छ । मंगलबारको तुलनामा बुधबारको बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । १६ कम्पनीको सेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ । जसमध्ये अधिकांश लघुवित्त रहेका छन् । लघुवित्तहरुले धमाधम लाभांश घोषणा गर्न थालेसँगै लगानीकर्ताहरु लघुवित्तको सेयरमा आकर्षित भएका हुन् । दोहोरो अंकले बढेको बजारमा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सबैभन्दा बढीले घटेको छ । कम्पनीको सेयर मूल्य २.१६ प्रतिशतले घटेर प्रतिकित्ता ६८३.९० रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १५.१० रुपैयाँले घटी हो ।
लाभांश पारित गर्न यूनिलिभरले डाक्यो वार्षिक साधारण सभा
काठमाडौं । यूनिलिभर नेपालले आगामी कार्त्तिक ११ गते २८औं वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले भिडियो कन्फ्रेसन्सिङ्गको माध्यमबाट उक्त सभा गर्न लागेको हो । उक्त सभाले सेयरधनीलाई ६५० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । त्यस्तै, सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने निदेशक नियुक्ति गर्ने लगायत कम्पनीको संगठित सामाजिक जिम्मेवारी अन्तर्गतका परियोजनाहरुको खर्चहरु सभाले पारित गर्दै छ । संस्थाले सभामा जाने प्रयोजनको लागि असोज २५ गतदेखि कार्त्तिक ११ गतेसम्म ब्क क्लोज गर्ने निर्णय गरेको छ । सम्बन्धित समाचार युनिलिभर नेपालले घोषणा गर्यो ६५० प्रतिशत लाभांश
आईपीओको प्रस्ताव पारित गर्न हिमालयन रिइन्स्योरेन्सले डाक्यो साधारण सभा
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले कार्त्तिक १२ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन अपरान्ह ५ बजे ठमेलको होटल अलफ्टमा आफ्नो पहिलो वार्षिक साधारणसभा आव्हान गरेको हो । सभाले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्तावलार्ई पारित गर्दै छ । सभाले सञ्चालकहरुको निर्वाचत तथा स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने छ । त्यस्तै, सञ्चालकको पारिश्रमिक, भत्ता तथा सुविधा बारे छलफल गरी आर्थिक वर्ष २०७८र७९ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने सञ्चालक समितिको प्रस्ताव रहेको छ । त्यस्तै, सभाले संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।