मानुषी लघुवित्तको सेयर आजबाट किनबेच गर्न पाइने, कतिमा गर्ने पहिलो कारोबार ?
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर आज(असोज ११ गते) बाट किनबेच गर्न पाइने छ । आइतबार(असोज १० गते) मात्रै नेप्सेमा सूचीकृत भएको कम्पनीको सेयर दोश्रो बजारमा सोमबारबाट कारोबार गर्न पाइने भएको हो । संस्थाको कूल १० लाख ९३ हजार ७५० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले संस्थाको पहिलो सेयर कारोबारको लागि न्यूनतम १३२.६९ देखि अधिकतम ३९८.०७ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकेको छ । यससँगै लगानीकर्ताले कम्पनीको पहिलो सेयर कारोबार उक्त रेञ्ज भित्र रहेर गर्न पाउने छन् । नेप्सेले संस्थाको स्टक सिम्बोल ‘एमएलबीएस’ तोकेको छ । कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म ३ करोड ९३ लाख रुपैयाँ बराबरको आईपीओ जारी गरेको थियो । जसको बाँडफाँड गत भदौ ७ गते भएको थियो ।
लाभांश पारित गर्न सानिमा माई हाइड्रोले बोलायो साधारणसभा
काठमाडौं । सानिमा माई हाइड्रोपावरले आगामी कार्त्तिक ११ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको सुकेधारास्थित सेलिब्रेसन हाईटमा आफ्नो १० औं वार्षिक साधारणसभा बोलाएको हो । कोभिड १९ संक्रमणको जोखिम अझै पनि कायमै रहेकाले उक्त सभा जुम मार्फत पनि सञ्चालन हुने कम्पनीले जानकारी गराएको छ । सभाले सेयरधनीलाई लाभांश वितरण गर्ने विशेष प्रस्तावलाई पारित गर्दै छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस सेयर पारितपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८ करोड रुपैयाँ पुग्ने छ । साथै, सभाले सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव गरेको छ । उक्त सभामा जाने प्रयोजनको लागि सभाले असोज १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै असोज १७ गतेसम्म कायम सेयरधनी साधारण सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।
मध्य भोटेकोशीको आईपीओ बाँडफाँड भोलि, तोकियो समय र स्थान
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले जारी गरेको आईपीओ भोलि (असोज ११ गते) बाँडफाँड हुँदै छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र तथा सिन्धुपाल्चोकको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानिय बासिन्दाहरुको लागि निष्काशन गरेको आईपीओको बाँडफाँड भोलि सोमबार बिहान ९ बजे काठमाडौंको नक्सालस्थित रहेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमा हुने छ । कम्पनीले आयोजना प्रभावित तथा सिल्धुपाल्चोकको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई कूल ६० लाख कित्ता सेयर जारी गरेको थियो । जसमध्ये आयोजना प्रभावितलाई १८ लाख र स्थानीयलाई ४२ लाख कित्ता सेयर छुट्टाइएको थियो । निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको कम्पनीको सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको थियो ।