सेयर बजारमा छायो हरियाली, ५० अंकले बढ्यो परिसूचक, अपिमा झुम्मिए लगानीकर्ता
काठमाडौं । सेयर बजारमा धेरै पछि हरियाली छाएको छ । गत एक साताअघिदेखि निरन्तर राताम्मे देखिएको सेयर बजार आज भने हरियो देखिएको छ । बुधबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । घटेर २५८०.४ बिन्दुसम्म पुगेको नेप्से परिसूचक अन्ततः बढेर २६६५.९४ बिन्दुसम्म पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.९३ प्रतिशत अर्थात ५०.५८ अंकले बढी हो । परिसूचकमा सुधार देखिए पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन (मंगलबार) पौने ६ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बुधबार भने ५ अर्ब रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको छ । सो दिन २२९ स्क्रिप्टको ९८ लाख ९४ हजार ४७८ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी अपि पावरको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन २२ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभरको बजारमा कम्पनी विभिन्न तीन शीर्षकमा अग्रस्थानमा रहेको छ । कारोबार रकमको आधारमा अग्रस्थानमा रहेको कम्पनी कारोबार संख्या र टप गेनरमा पनि अग्रस्थानमा नै रहेको छ । त्यस्तै, धेरै पटक कारोबार हुनेमा कम्पनी दोश्रो स्थानमा रहेको छ । दिनभरको कारोबारमा कम्पनीको ५ लाख १४ हजार ४३९ कित्ता सेयर २ हजार ३६५ पटकमा किनबेच भएको थियो । त्यसैगरी, अपिको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४५९.८० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ४१.८० रुपैयाँले बढी हो । अपिसँगै अन्य ४ वटा कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भएको छ । ग्रीन डेभलपमेन्ट बैंकको १० प्रतिशत, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको ९.९३, यूनाईटेड ईदी मार्दी आरबी हाइड्रोपावरको ९.६४ र कालिका पावर कम्पनीको सेयर मूल्य ९.५० प्रतिशतले बढेको छ । त्यस्तै, सबैभन्दा बढीले सेयर मूल्य घट्नेमा मेगा बैंक अग्रस्थानमा रहेको छ । बैंकको सेयर मूल्य ३.९२ प्रतिशतले घटेर प्रतिकित्ता ३४२.८० रुपैयाँमा रहेको छ । बुधबार कारोबारमा आएका सबै समूहहरु हरिया देखिएका छन् । जसमध्ये निर्जीवन बीमा समूह सबैभन्दा बढी अर्थात २५५.६६ अंकले बढेको छ ।
पुँजी बजारमा बुलिश सकिएकै छैन: लगानीकर्ता पौडेल
काठमाडौं । पुँजी बजारका भेट्रान लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले सेयर बजार अझै बुलिश ट्रेण्ड नसिकएको जानकारी गराएका छन् । उनले बुधबार सामाजिक सञ्जालमार्फत बजारमा बुलिश नसकिएको भन्दै सबैलाई जानकारी गराएका हुन् । साथै, उनले हालको बजारले लगानीकर्ताको विश्वास र धैर्यतालाई परिक्षण गरिरहेको समेत बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरमका सभापति समेत रहेका लगानीकर्ता पौडेलले सञ्जालमार्फत लगानीकर्तालाई भनेका छन् ‘तपाईंको आफ्नो लगानीप्रतिको विश्वास र धैर्यातालाई पूँजी बजारले परिक्षण गरेको यो समयले नै तपाईंमा कति परिपक्कता आएको रहेछ भन्ने कुरा केही दिनमा नै प्रमाणित हुनेछ ।’ ‘मेरो बिश्वास बुलिश सकिएको छैन,’ उनले लेखेका छन् । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा उच्च अंकले घटिरहेको छ । बुधबारको सेयर बजारमा पनि तीव्र उतारचढाव भइरहेको छ । हालसम्ममा परिसूचक घटेर न्यूनतम २५७८ र बढेर अधिकतम २६४७ बिन्दुसम्म पुगेको छ । यो समाचार तयार पार्दा (१२ः५७ बजे) सम्म सेयर कारोबार मापक नेप्से परिसूचक १० अंकले बढेर २६२५ बिन्दुसम्म पुगेको छ ।
ब्लगः सेवोनको अबको अध्यक्ष भिष्म ढुंगाना कि रेवत कार्की ?
केही दिनअघि राति मोबाइलमा फेसबुक म्यासेन्जर चलाउँदै थिएँ । सानी छोरीले नजिकै आएर सोधी– सेयर भरिस्या हो बाबा ? पाँच वर्षको छोरीको प्रश्न सुनेर छक्क परें । तर, छोरीको प्रश्नले छक्क पर्नुपर्ने खास कारण भने थिएन । किनभने घरमा कसको आईपीओ खुल्यो, भरेको कि नभरेको, सेयर पर्यो कि परेन भन्ने जस्ता विषयमा चर्चा भइरहेको हुन्छ । छोरीले त्यही कुरा सुनेकी थिई, त्यसैले सेयर भरिस्या हो बाबा भनेर प्रश्न गरी । यो अनौठो कुरा नै भएन । छोरीको यो प्रश्नपछि नेपालको पुँजी बजार सम्झें । नियामक निकाय सेवोनको अध्यक्ष अहिले निलम्बनमा छन् । अध्यक्ष भिष्म ढुंगानालाई पनि छोरी र सेयर जोडिएको विषयको अभियोग लगाइएको छ । अध्यक्ष ढुंगानाले छोरीको नाममा नियम विपरित सर्वाेत्तम सिमेन्टको सेयर किनिदिए रे ! भलै, ढुंगानाको छोरी मेरो जस्तै सानी छैनन् । विहे गरिसकेकी छोरी हुन्, श्रीमानसँगै अमेरिकामा बस्छिन् । छोरीको विहे गर्नको लागि अध्यक्ष ढुंगाना केही महिना अघि अमेरिका नै गएका थिए । छोड्दिनुस् मेरी छोरी र भिष्म ढुंगानाकी छोरीको कुरा । सरकारले सेवोन अध्यक्ष ढुंगानालाई हटाउने नै भएको छ । हटाउने प्रक्रिया पूरा गर्न छानविन समिति बनाइएको छ । समितिले प्रतिवेदन दिइसकेको छ । कारबाही गर्नु भन्ने सिफारिस समितिको छ । हटाउनको लागि सरकारले उनीसँग स्पष्टिकरण सोधिसकेको छ । अब हटाइन्छ नै । ढुंगानालाई हटाएपछि कसलाई अध्यक्ष बनाइएला ? यो प्रश्न भने धेरैको मनमा छ । सेवोन अध्यक्ष बन्नको लागि जो पायो त्यही व्यक्तिले दाबी गर्दैन । किनभने अध्यक्ष बन्ने योग्यता पनि पुग्ने र १० करोड रुपैयाँको जोहो गर्न सक्ने व्यक्ति निकै कम छन् । अरु कसैले लगानी गरिदिने हो भने पनि लगानीकर्ताले लाए अह्राएको काम ढंग पुर्याएर गर्न जान्ने व्यक्ति चाहियो । आफैले लगानी गर्ने हो भने लगानी गरिएको १० करोड रुपैयाँ प्रतिफल सहित पुँजी फिर्ता गर्न सक्ने आँट र परिस्थिति हुनुपर्यो । सेवोन अध्यक्ष बन्नको लागि बीमा समितिका पूर्व अध्यक्ष चिरन्जीवी चापागाईं दाम्लो चुडाएर हिडेका छन् भन्ने बजार हल्ला छ । चापागाईं अध्यक्ष बने भने उनले गर्नुपर्ने मुख्य दुईटा काम हुन् । एउटा, अर्काे स्टक एक्सचेन्जको लाइसेन्स दिने, अर्काे, टीएमएस संचालन गर्ने कम्पनी वाईकोको स्वामित्व परिवर्तनमा सहजीकरण गरिदिने । सम्भवतः यी दुबै काममा चापागाईं सफल हुनेछन् । सर्वाेत्तम सिमेन्ट जस्ता प्रकरण थप्ने र कमोडिटी एक्सचेन्जको लाइसेन्स दिने जस्ता फुटकर काम भने उनले गर्न नसक्ने भन्ने प्रश्नै रहेन । अलिकति सिरियस कुरा पनि गरौं न त । नेपालको पुँजी बजार क्षेत्रको सुधार र आधुनिकीकरणको नेतृत्व गरेका व्यक्तिहरुमा ३ जनाको मात्रै नाम आउँछ । धितोपत्र कारोबार ऐन तथा नियमावलीहरुको मस्यौदा तयार पारेका सेवोन पूर्व अध्यक्ष दिपकराज काफ्ले, ती मस्यौदा पारित गरेर कार्यान्वयनमा लान सकेका पूर्व अध्यक्ष डा. चिरन्जीवी नेपाल र समग्र बजारको आधुनिकीकरणको नेतृत्व गरेका डा. रेवत कार्की । सेवोनको अध्यक्ष बनेर अरु केही व्यक्तिहरुले पनि जागिर भने खाएका थिए । डा. कार्कीले के के काम गरे भन्ने तपाईंलाई सम्झाना छ ? छैन भने म सम्झाउँछु । पहिला सेयर किनबेच गर्नको लागि टुकुचामा रहेको नेप्सेको कार्यालयमा गएर यति मूल्य दिन्छु, लिन्छु भनेर चिच्याउनु पथ्र्याे । नेप्सेको हाकिम बनेका बेलामा डा. कार्कीले यो चिच्याउनु पर्ने परिपाटी अन्त्य गर्दै २०६३ सालदेखि सेयर खरिद विक्रीलाई सेमी अटोमेसनमा लगे । पछि कार्की सेवोन अध्यक्ष भए । उनी अध्यक्ष भएकै बेलामा २०७२ सालमा सीडीएससीले सेयरलाई डिजिटलाइजेसन गर्न डीम्याट सुरु गर्यो । डीम्याट आएपछि २०७५ सालतिर सीआश्वा आयो । सीआश्वाले आईपीओ भर्न लाइन लाग्ने युगको अन्त्य गरिदियो । त्यसपछि आईपीओ भर्ने सबैलाई सेयर दिनुपर्ने भन्ने नीतिगत व्यवस्था डा. कार्कीले ल्याए । उनले कम्तिमा १० कित्ता भएपनि सेयर देउ भने । यो व्यवस्थालाई आज पनि १० कित्ते नीति भनिन्छ । पछिल्लो समय त सेयर कारोबार अनलाइन माध्यमबाट हुने भएको छ । डा. कार्कीको सोचकै कारणले टुकुचामा गएर चिच्याउनु पर्ने सेयर कारोबार अहिले ट्वाइलेटको कमोडबाट गर्न सकिने भएको छ । आज ५ वर्षकी मेरी सानी छोरीले सेयर भरिस्या हो बाबा भनेर प्रश्न गर्ने अवस्था डा. कार्कीले नै बनाएका हुन् । आज ‘४३ लाख लगानीकर्ता’ भनेर सेयर बजारका ठेकेदारहरु हल्ला गरिरहेका हुन्छन् । यी ‘४३ लाख लगानीकर्ता’ डा. कार्कीको त्यही १० कित्ते नीतिले जन्माएको हो । अब सेवोन अध्यक्ष भएर आउने व्यक्तिले यस्तै कुनै नयाँ र दीर्घकालिन रुपमा राम्रो हुने कुनै काम गर्ला त ? अहिले सबैलाई सेयर किन्नुपर्छ भन्ने दिव्यज्ञान प्राप्त भएको छ । सेयर किनेपछि मालामाल भइन्छ भन्ने अर्काे भ्रम सत्य बनिरहेको छ । सेयर भर्न पाइन्छ, किन्न पाइन्छ, बेच्न पाइन्छ । अब सेयर भनेको के हो ? यसबाट फाइदा मात्रै हुने हो कि सबै लगानी नै डुब्न पनि सक्छ भन्ने जस्ता शिक्षा दिन आवश्यक छ । यो काम सेवोनका नयाँ अध्यक्षले गर्नुपर्ने होला । यस्तै, नेपालको सेयर बजारमा ९० प्रतिशत कारोबारी छन् । नेगेटिभ नेटवर्थ भएका र ५–७ वर्षसम्म लाभांश दिनै नसक्ने कम्पनीको सेयर पनि हजारदेखि १२ सय हालेर किनिरहेका छन् । कारोबारीको कामै यस्तै हो, गरिरहुन् । बजारमा लगानीकर्ताको अभाव छ । कारोबारीलाई लगानीकर्ताको रुपमा परिणत गराएर लगानीकर्ता तयार पार्ने जिम्मेवारी पनि सेवोनको काँधमा छ । अहिले सेयर किनेको व्यक्तिले ब्रोकरलाई पैसा दिएन भने उसलाई समाउने कुनै कानुन नै छैन । अहिलेको कानुनले सेयर किन्ने व्यक्तिले ब्रोकरलाई पैसा दिएन भने के गर्ने भन्ने परिकल्पना नै गरेको छैन । ब्रोकरहरुलाई अहिलेसम्म श्री पशुपतिनाथले जोगाइरहेका छन्, सधै नजोगाउन सक्छन् । अनलाइन कारोबारमा प्रयोग गरिने फङ्सन पनि कानुनले चिन्दैन । मार्जिन कर्जा दिनको लागि प्रभावकारी ऐन नै आवश्यक भएपनि एउटा सामान्य निर्देशिककाबाट चलाउन खोजिएका छ । यस्ता विषयमा पनि काम गर्नुपर्ने छ । तर, सेवोनको अध्यक्ष भएर जाने व्यक्तिले यस्तो काम गर्छ भनेर आशा गर्नु बेकार हुन्छ । किनभने १० करोड रुपैयाँमा किनेको पद उसले आफ्नो मर्जी अनुसार प्रयोग वा उपयोग गर्न पाउनु पर्छ । त्यसैले सेवोनमा अब रेवत कार्की आउने कम र भिष्म ढुंगाना आउने सम्भावना बढी छ । प्रभातजीका थप ब्लग सामाजिक संजाल हेरेर सेयर किन्नेहरुका नाममा