सूचीकृत कम्पनीलाई नेप्सेले भन्योः नवीकरण शुल्क समयमै बुझाउनुस्, नत्र कारवाहीमा परिएला

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गर्दै नेप्सेले हालसम्म सूचीकृत भएका सबै कम्पनीलाई असोज मसान्तभित्रै नविकरण शुल्क बुझाउन आग्रह गरेको हो । यससँगै सूचीकृत कम्पनीले धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा भएको व्यवस्था बमोजिम आर्थिक वष २०७८/७९ को वार्षिक नवीकरण शुल्क आगामी असोज मसान्तसम्मा बुझाइसक्नु पर्ने छ । यदि तोकिएको समयमा नबुझाएमा नवीकरण शुल्कको १० प्रतिशतका दरले जरिवाना लाग्ने छ । यसका साथै, सूचीकरण समेत स्थगन गरिने नेप्सेले जानकारी गराएको छ । कसले कति तिर्नुपर्छ ? नेप्सेका अुनसार ५० करोड रुपैयाँसम्म चुक्ता पुँजी रहेका सूचीकृत कम्पनीले वार्षिक ५० हजार रुपैयाँ वार्षिक नवीकरण शुल्क तिर्नुपर्ने छ । त्यस्तै, ५० करोड रुपैयाँभन्दा माथि चुक्ता पुँजी रहेका कम्पनीले एक लाख रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ । त्यसैगरी, ५० करोड रुपैयाँसम्मको चुक्ता पुँजी रहेका डिबेन्चर तथा म्युचुअल फण्ड (सामुहिक लगानी कोष) ले वार्षिक २५ हजार र सोभन्दा माथिकाले ५० हजार रुपैयाँ नवीकरण शुल्क तिर्नुपर्ने छ । कसरी बुझाउने शुल्क ? सूचीकृत कम्पनीले चालु आवको नवीकरण शुल्क नेप्सेको खाता रहेको ग्लोबल आईएमई बैंकमा जम्मा गर्न सक्ने छन् । जसको खाता नम्बर ७५०१०१००००७७५ र खाताको नाम नेप्से अपरेटिङ्ग अकाउन्ट रहेको छ । र, उनीहरुले खाताको रकम जम्मा गरेको बैंक भौचर कम्पनीले [email protected] मा पठाउनु पर्ने छ ।

बिहीबारको बजारमा दुईदिन यताकै उच्च कारोबार, वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता

काठमाडौं । बिहीबारको बजार झिनो अंकले उकालो लागेको छ । दिनभर उतारचढाव देखिएको बजार अन्ततः २.७० अंकले बढेर २८१९.६६ बिन्दुमा पुगेको छ । सो दिन कारोबार खुल्नासाथ उच्च अंकले बढेर अधिकतम २८८२ बिन्दुमा पुगेको परिसूचक घटेर न्यूनतम २८०४ बिन्दुसम्म झरेको थियो । तर बजार बन्द हुँदा भने परिसूचक सामान्य अर्थात अघिल्लो दिनको तुलनामा ०.१० प्रतिशतले बढेको छ । झिनो अंकको सुधार देखिएको बजारमा कारोबार रकममा पनि सुधार भएको छ । दिनभरको कारोबारमा ७ अर्ब ७२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन पछिल्लो दुई दिन अर्थात मंगलबार र बुधबारको तुलनामा बढी हो । दिनभरको बजारमा १८६ कम्पनीसहित २२८ वटा स्क्रिप्टको कारोबार भएको थियो । जसमध्ये सबैभन्दा बढी वाणिज्य बैंकको सेयर कारोबार भएको छ । सो दिन बढी कारोबार गर्नेको अग्रस्थानमा वाणिज्य बैंक नै रहेका छन् । जसमध्ये सबैभन्दा बढी सानिमा बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन ३४ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो र तेश्रो स्थानमा क्रमशः नेपाल र माछापुच्छ्रे बैंक रहेका छन् । यी दुईको क्रमशः २७ करोड १० लाख र २३ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सानिमा र माछापुच्छ्रेले गत वर्षको लाभांश घोषणा गरेसँगै लगानीकर्ताहरु कम्पनीको सेयरमा झुम्मिएका हुन् । यी दुईले क्रमशः १७ प्रतिशत र १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । बिहीबारको बजारमा यी दुई बैंकको सेयर क्रमशः प्रतिकित्ता ५२८ र ४११ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, कारोबारमा आएका १८६ कम्पनीमध्ये ५६ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै, १२८ कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । सेयर मूल्य बढ्नेको अग्रस्थानमा मनकामना स्मार्ट लघुवित्त रहेका छन् । लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३१७.२० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ११९.७० रुपैयाँले बढी हो । त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ६.१३ र नेपाल बैंकको सेयर मूल्य ५.५१ रुपैयाँले बढेको छ । बिहीबार हिमालयन पावर पार्टनरको सेयर मूल्य सबैभन्दा बढी अर्थात ५.०९ प्रतिशतले घटेको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५४१ रुपैयाँ रहेको छ । बजारमा बैंकिङ्ग र फाइनान्स समूह हरिया देखिएका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् । बैंकिङ्ग र फाइनान्स समूह क्रमशः ४७ र ८ अंकले बढेको छ ।

सानिमा बैंकको लाभांश घोषणा, बोनस मात्रै १७ प्रतिशत

काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव असोज ६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैंठकले गत आवको नाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद गरी १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउने व्यवस्था रहेको छ । उक्त प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हो । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १३.६ प्रतिशत मात्रै लाभांश (१० प्रतिशत बोनस र ३.६ प्रतिशत नगद) वितरण गरेको थियो ।