नगद लाभांश पारित गर्न सीबीआईएल क्यापिटलले डाक्यो साधारणसभा

काठमाडौं । सीबीआईएल क्यापिटलले आगामी कार्तिक ५ गते साधारणसभा आव्हान गरेको छ । क्यापिटलले सो दिन बिहान ११ बजे काठमाडौंको डिल्लीबजारस्थित क्यापिटलको रजिष्टर्ड कार्यालयमा १५औं वार्षिक साधारणसभा डाकेको हो । सभाले सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई पारित गर्दै छ । संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २५ प्रतिशत (करसहित) का दरले ५ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने छ । साथै, सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सामान्य प्रस्ताव रहेको छ । उक्त सभामा जाने प्रयोजनको लागि क्यापिटलको असोज २० गते एक दिन बुक क्लोज हुने छ । यससँगै असोज १९ गतेसम्म कारोबार गरेका सेयरधनीहरु उक्त सभामा भाग लिन तथा प्रस्तावित नगद लाभांश पाउन योग्य हुनेछन् ।

२० प्रतिशत बोनसपछि डिप्रोक्स लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको २० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १३८८.४२ रुपैयाँ कायम भएको छ । यससँगै अबको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १३८८.४२ रुपैयाँबाटै शुरु हुने छ । यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १६६६.१० रुपैयाँमा भएको थियो । शहिदपथमा केन्द्रिय कार्यालय रहेको संस्थाको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ रहेको छ । गत सोमबार कम्पनीको बजार पुँजीकरण १९ अर्ब २६ करोड रुपैयाँ थियो ।

मध्य भोटेकोशीको आइपीओ बाँडफाँट

काठमाडाैं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयवासीका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपीओ बाँडफाँट गरिएको हो । कम्पनीले दोस्रो चरणमा एक सय अङ्कित दरका कूल ६० लाख कित्ता शेयर निष्कासन गरेको थियो । आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं १ र ५ तथा बाह्रबिसे नगरपालिका वडा नं ५, ६, ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाका लागि कूल निष्काशनको शेयरको ३० प्रतिशत अर्थात १८ लाख कित्ता छुट्याइएको थियो । त्यस्तै बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाकै अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि छुट्याइएको थियो । धितोपत्र बिक्री प्रबन्धकका अनुसार निष्काशन गरिएको आइपीओमा कूल एक लाख आठ हजार ५२७ जनाले शेयर खरिदका लागि आवेदन दिएका थिए । तीमध्ये आयोजना प्रभावित क्षेत्रअन्तर्गत १२ हजार १४७ जनाले शेयर खरिदका लागि आवेदन दिएकामा ४९ जनाको आवेदन रद्द भएकाले कूल १२ हजार ९८ जनालाई शेयर बाँडफाँट गरिएको छ । आयोजना प्रभावित क्षेत्रअन्तर्गत १८० कित्तासम्म आवेदन दिने आवेदकले मागबमोजिमकै शेयर पाएका छन् भने १९० देखि ४०० कित्तासम्म आवेदन दिएकाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् । त्यस्तै आयोजनाबाट प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोकका अन्य क्षेत्रका आवेदकमध्ये एक हजार ५१५ जनाको आवेदन रद्द भएर ९४ हजार ८६५ जना योग्य आवेदकलाई शेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । योग्य आवेदकमध्ये न्यूनतम १० देखि अधिकतम ४० कित्तासम्म आवेदन दिने आवेदकले मागबमोजिम शेयर पाएका छन् भने ५० देखि चार सय कित्तासम्मका लागि आवेदन दिनेबाट गोलाप्रथा गरी ४० हजार ५४८ जनाले थप १० कित्ताका दरले शेयर पाएका छन् । कम्पनीले गत वैशाख २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण शेयर बिक्री खुल्ला गरेको थियो । कोभिड– १९को सङ्क्रमण जोखिमका कारण भएको बन्दाबन्दीले केही समय स्थागित भई गत साउन ५ गतेदेखि पुनः निष्काशन खुला भएको शेयरमा स्थानीयवासीले साउन ३२ सम्म आवेदन दिएका थिए । यसअघि कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता संस्थाका कर्मचारीका लागि एक करोड ४४ लाख कित्ता शेयर निष्काशन र बाँडफाँट गरिसकेको छ । कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको मध्य भखभेटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । बाँडफाँटको नतिजा सर्वसाधारणले निष्काशनकर्ता कम्पनी, बिक्री प्रबन्धक र सह–निष्कासन कम्पनीका वेभसाइटबाट प्राप्त गर्न सक्नेछन् ।