गर्भनरलाई अर्थमन्त्रीले फोन गरेपछि सेयर बजारमा १६२ अंकको वृद्धि

काठमाडौं । सोमबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजारको मूल्य परिसूचिक नेप्से १६२ अंकले वृद्धि भई २९८० अंक भएको छ । दिनभरमा १८५ वटा कम्पनीको सेयर किनबेच भएकोमा सबै कम्पनीको सेयर मूल्य वढेको छ । त्यसमा ४२ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । प्रतिशतका आधारमा ५.७४ प्रतिशतले मूल्य वृद्धि भएको छ । सोमबार मूल्यमा उच्च वृद्धि आए पनि कारोबार भने ९ अर्ब ८२ करोड रुपैयाँ बराबर भएको छ । आइतबार सेयर बजारमा १०८ अंकको गिरावट आएको थियो । आइतबार पाँच प्रतिशतले बजार घटेपछि नेप्सेमा सर्किटब्रेक लागेको थियो । मूल्यमा उच्च गिरावट आएपछि लगानीकर्ता राष्ट्र बैंकसँग आक्रोशित बन्दै विरोधमा उत्रिएका थिए । लगानीकर्ताको एउटा समूहले आईतबार नै गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेको थियो भने सोमबार विरोध प्रर्दशन गर्दै राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएको थियो । लगानीकर्ताको साहानुभूति लिन अर्थमन्त्री जनार्दन शर्माले सोमबार विहान गभर्नर अधिकारीसँग टेलिफोन कुराकानी गरेको र सेयर बजारप्रति नकारात्मक असर पार्ने नीतिमा परिमार्जन गर्न निर्देशन दिएको अर्थमन्त्रालयद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । मन्त्रालयको विज्ञप्ती सार्वजनिक भएपनि सेयर बजारमा हरियाली छाउन शुरु भएको थियो ।

लगानीकर्तालाई एनबीए अध्यक्ष दाहालको टिप्सः कस्ता कम्पनीको सेयर कहिले किन्ने र बेच्ने ?

कुनै पनि कम्पनीको सेयर किन्दा हेर्नुपर्ने केही निश्चित आधार र विषयहरु हुन्छन् । त्यस्ता आधार विषयहरु नहेरी गरिएको लगानीले समस्या सिर्जना गर्न सक्छ । सेयर किन्दा हेर्नुपर्ने विषय भनेको त्यसको व्यवस्थापन कस्तो छ, संचालक समिति कस्तो छ र उच्च व्यवस्थापन कस्तो छ भन्ने हो । उनीहरु कर्पाेरेट गभर्नेन्समा बस्छन् कि बस्दैनन् भन्ने कुरा हेर्ने हो । नीति नियम पालना गर्छन् कि गर्दैनन् भनेर हेर्ने हो । किनभने कुनै पनि कम्पनी वा संस्था संचालन गर्ने भनेको व्यवस्थापन, संचालक समिति र उच्च व्यवस्थापनले नै हो । जस्तो कि कुनै पनि राजनीतिक दल कस्तो छ भनेर हेर्दा त्यसको नेतृत्वमा रहेका व्यक्तिहरु कस्ता छन् भनेर हेर्छाैं । नेतृत्व तहमा बसेका मान्छेहरु (नेताहरु) राम्रा छन् भने नीति नियम पनि राम्रा बन्छन्, बनाउँछन् । कम्पनीको हकमा पनि यही नियम लागू हुन्छ । आज लगानी गरेर भोलि फाइदा खोज्नेहरुले कम्पनीको व्यवस्थापन वा संचालक समितिमा के कस्ता व्यक्तिहरु छन् भनेर त्यति हेरे जस्तो लाग्दैन । तर, लामो अवधिको लागि लगानी गर्नेहरुले भने यस्ता कुराहरु हेरेको पाइन्छ । लगानीकर्ताले बैंकहरुको वेबसाइट वा वार्षिक प्रतिवेदनमा हेरेर कम्पनीको व्यवस्थापन, संचालक समिति, उच्च व्यवस्थापन जस्ता निकायमा रहेका व्यक्तिहरु कस्ता छन्, उनीहरुले कसरी कम्पनी अघि बढाउँछन् भन्ने जस्ता कुराहरु हेरेका छन् । अर्काे कुरा, बैंकिङको हेर्ने हो भने उनीहरुको निक्षेपको समिश्रण कस्तो छ भनेर निक्षेपको क्वालिटी हेर्नुपर्छ । करेन्ट डिपोजिट कति छ, सेभिङ डिपोजिट कति छ भनेर हेर्नुपर्छ । किनभने न्यून लागतको निक्षेप कति रहेछ भन्ने कुरा नै बैंक तथा वित्तीय संस्थाको स्रोतको लागत थाहा हुन्छ र आधार दर कति हुन्छ भन्ने तह स्रोतको लागतले नै गर्छ । बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) को अभाव भइरहेको हुन्छ । यो कुरा तपाईंहरुले कुन बैंकमा बढी समस्या हुने रहेछ भनेर हेर्नुभयो भने जुन, बैंकले संस्थागत निक्षेप बढी लिएका छन्, ती बैंकमा बढी समस्या देखिएको छ । संस्थागत निक्षेप १ अर्ब, २ अर्ब लिएको छ भने त्यो पैसा कहिले जाने हो भनेर डराउनु पर्यो । त्यसैले बैंकको सेयर किन्ने हो भने निक्षेपको समिश्रण कस्तो छ भनेर हेनुपर्छ । निक्षेपमा पनि व्यक्तिगत निक्षेप कति छ भनेर पनि हेर्नुपर्छ । किनभने एक जनाले एउटा बैंकमा १ लाख राखेको होला, १० लाख रुपैयाँ राखेको होला । तर, एक जना व्यक्तिले एउटा बैंकमा १,२ अर्ब रुपैयाँ निक्षेप राखेको त हुँदैन । व्यक्तिगत निक्षेप जति धेरै भयो त्यति राम्रो हुन्छ । बैंकलाई तरलताको धेरै समस्या भोग्नु पर्ने छ कि छैन यकिन पनि निक्षेपको समिश्रणले संकेत गर्छ । बैंक राम्रो भएपछि सेयरधनीले पनि बढी लाभ लिन पाउने अवस्था सिर्जना हुन्छ । बैंकिङ कै कुरा गर्दा, हेर्ने अर्काे विषय भनेको कर्जाको गुणस्तर पनि हो । खराब कर्जा कति छ, खराब कर्जाको लागि कति रकम प्रोभिजनिङ गरेर राखिएको छ भन्ने कुरा पनि हेर्नुपर्छ । खराब कर्जा कम छ र भएको खराब कर्जाको लागि आवश्यक रकम प्रोभिजनिङ गरिएको छ भने त्यो बैंक राम्रो हुने नै भयो । संसारभरकै बैंकहरुको कुरा गर्ने हो भने जुन बैंकको निक्षेप र कर्जाको गुणस्तर राम्रो छ, त्यस्ता बैंकको निक्षेप र कर्जाको व्याज अन्तर (स्प्रेड) दर पनि राम्रो छ । बैंकको हेर्नै पर्ने तर, धेरै मानिसले नहेर्ने गरेको विषय के हो भने गैरव्याज आम्दानी र गैरव्याज खर्च अनुपात कति छ भन्ने कुरा हो । बैंकहरुको मुख्य आम्दानी भनेको खुद व्याज आम्दानी नै हो । व्याज आम्दानीमा व्याज खर्च घटाएपछि खुद व्याज आम्दानी आउँछ । गैरव्याज आम्दानी र गैरव्याज खर्चको अनुपातलाई हामी बैंकिङ टर्मिनोलोजीमा नाफामा ‘कन्ट्रिव्युसन अफ बर्डेन’ भन्छौं । कुनै बैंकको गैरव्याज आम्दानी गैरव्याज खर्चभन्दा बढी छ भने गैरव्याज आम्दानीले नाफामा सोझै योगदान गर्छ । गैरव्याज आम्दानीभन्दा गैरव्याज खर्च बढी भयो भने बैंक नाफा त्यसले कति खायो भनेर हेर्ने हो । भनेको व्याज आम्दानी बाहेक अन्य आम्दानी कत्तिको ‘डाइभर्स’ छ भनेर यो सुचकले देखाउँछ । गैरव्याज आम्दानीले गैरव्याज खर्च धानेको रहेछ भने त्यो बैंक राम्रो रहेछ भनेर देखाउँछ । कुनै बैंकले कर्जा खासै लगानी गरेको छैन, ग्यारेन्टीमा बढी फोकस छ भने खुद व्याज आम्दानी कम होला । गैर व्याज आम्दानी बढी हुन सक्छ । यो भनेको बेग्लै कुरा भयो । सुचकहरु हेर्दा बैंकले कस्तो प्रकारको व्यवसाय गर्ने गरेको छ भन्ने कुरा पनि हेर्नुपर्छ । यस्तै, रिटर्न अन इक्वीटी (आरओई) र अर्निङ पर सेयर (ईपीएस) त हेर्नै परिहाल्यो । कतिपय अवस्थामा विगतको लाभांशको दर हेर्ने कि नहेर्ने भन्ने प्रश्न पनि आउँला । कतिपय अवस्थामा विगतको लाभांश दर अप्रासंगिक पनि हुन सक्छ । किनभने कुनै बैंकको लाभांश दर हिजोको दिनसम्म राम्रो थिएन । अब व्यवस्थापन परिवर्तन भयो । व्यवस्थापन परिवर्तन भएर अब राम्रोसँग काम हुन थाल्यो भने हिजोको कुरा नदोहोरिन सक्छ । यस्तै, हिजो राम्रो भएको पनि अब नराम्रो हुन सक्छ । जस्तो कि हिजो कुनै पार्टीमा राम्रो नेता थियो, त्यसैले त्यो पार्टी राम्रो थियो । आज नराम्रो नेता आयो भने त्यो पार्टी नराम्रो हुन सक्छ । यस्तै, कुनै पार्टी नराम्रो नेता भएकोले नराम्रो थियो । अब राम्रो नेता आयो, त्यसैले राम्रो पनि हुन सक्छ । कम्पनीहरुको हकमा पनि यो कुरा लागू हुन्छ । त्यसैले रेफ्रेन्सको रुपमा हिष्ट्री हेर्नुपर्छ । तर, हिष्ट्रीको आधारमा लगानीको धारणा बनायौं भने हामी गलत हुन सक्छौं । सेयरमा लगानी गर्नेहरुले कम्पनीको व्यवस्थापन, संचालक समिति र उच्च व्यवस्थापनमा रहेका व्यक्तिहरुको प्रोफाइल र कम्पनीको लेखापरीक्षण प्रतिवेदनहरु हेर्नुपर्छ भन्ने मलाई लाग्छ । धितोपत्र बोर्डले सुचिकृत कम्पनीहरुका संचालक र उच्च व्यवस्थापनको प्रोफाइल नै सम्बन्धित कम्पनीको वेबसाइटमै राख्ने व्यवस्था गरेर राम्रो हुन्छ । त्यसले लगानीकर्तालाई निर्णय गर्न सहज हुन्छ । म सेयर बजारबारे त्यति एक्सपर्ट त होइन । म सेयर बजारमा पनि छैन । त्यसैले मैले दिएको सल्लाहले काम नगर्न पनि सक्छ । सेयर बजारमा लगानी गर्ने लगानीकर्ताले सेयरका विज्ञहरुसँग सल्लाह गरेर लगानी गर्नुस् । मैले खाली कमनसेन्सको हिसावले मात्रै भनेको हूँ । सेयर बजारमा कतिबेला सेयर किन्ने र कतिबेला बेच्ने भन्ने प्रश्न पनि उठिरहेको सुन्छु । सेयरमा लगानी गर्ने भनेको जुन बेला बटमबाट अलिकति उठ्न थाल्छ, त्यो बेला सेयर किन्ने, लगानी गर्ने । र, अब बजार घट्न थाल्यो भन्ने थाहा पाएपछि सेयर बेच्ने । किनभने न्यून विन्दुमा किन्ने र उच्च विन्दुमा बेच्ने भन्ने कुरा अपबाद होला । त्यसैले अलिकति बढ्न थालेपछि किन्ने र घट्न थालेपछि बेच्ने नै उचित निर्णय हो भन्ने मलाई लाग्छ । तर, म अहिले सेयर बजारमा नभएकोले पोर्टफोलियो म्यानेजमेन्टको सेवा प्रवाह गर्नेहरुसँग सल्लाह गरेर लगानी गर्नु उचित हुन्छ । कस्ता कम्पनीमा लगानी गर्ने भन्ने प्रश्न पनि उठ्छ । जेमा लगानी गरेपनि प्रतिफल चाहि हेर्नै पर्छ भन्ने लगानीकर्तालाई मेरो आग्रह छ । फण्डामेन्टलम आधारित भएर लगानी गर्यौं भने कि तत्कालको पर्फरमेन्स, कि अनुमानित पर्फरमेन्समा आधारित भएर लगानी गर्ने हो । अहिले प्रतिफलकै हिसावले हेर्ने भने हाइड्रो र सिमेन्टको प्रतिफल बैंकिङ क्षेत्रको भन्दा बढी देखियो । मदिरा कम्पनीको प्रतिफल पनि बैंकको भन्दा बढी छ । तर, मैले फेरि पनि यी क्षेत्रका कम्पनीको सेयर किन्नुस् या नकिन्नुस भनेको अर्थमा भने नबुझिदिनु होला । (सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अध्यक्ष भुवन दाहालसँग गरिएको कुराकानीमा आधारित)

गभर्नरलाई अर्थमन्त्रीको फोनः सेयर बजारलाई के गर्नु पर्ने हो गरिदिनुस्

काठमाडौं । शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका छन् । कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका छन् । उनले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भनेका छन् । जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् ।