नेप्सेमा एकैदिन थपियो ५६ लाख कित्ता सेयर, सबैभन्दा बढी बोनस

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जन (नेप्से) मा एकैदिन ५६ लाख २६ हजार ७२४ कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेमा सूचीकृत विभिन्न कम्पनीको बोनस र हकप्रद गरी सो मात्राको सेयर सूचीकृत भएको हो । जसमध्ये दुई कम्पनीको बोनस र एक कम्पनीको हकप्रद सेयर रहेको छ । नागरिक लगानी कोषको ९ प्रतिशत अर्थात २७ लाख कित्ता बोनस सेयर सूचीकृत भएो छ । त्यस्तै, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको पनि १५ लाख ६ हजार ६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जुन चुक्ता पुँजीको १९.००५६ प्रतिशत हो । उता समृद्धि फाइनान्सको भने हकप्रद सेयर सूचीकृत भएको हो । लिलामी पछि संस्थाको १४ लाख २० हजार ७१८ कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ ।

एकैदिन ४ अर्बले घट्यो सेयर कारोबार, झिनो अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबारको सेयर कारोबारमा गिरावट आएको छ । एकैदिनको बजारमा करिब ४ अर्ब रुपैयाँले सेयर कारोबार घटेको हो । बुधबारको बजारमा कूल ९ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा ३ अर्ब ९० करोड रुपैयाँले घटी हो । अघिल्लो दिन अर्थात मंगलबारको बजारमा कूल १३ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सो दिन कूल २२६ कम्पनीको १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता सेयर किनबेच भएको छ । यससँगै बजारको पुँजीकरण ४१ खर्ब ५९ अर्ब रुपैयाँमा सीमित भएको छ । बजारमा सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबार भएको छ । जसको एकैदिन ५९ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कारोबार घटेपनि नेप्से परिसूचमा भने केही सुधार देखिएको छ । दिनभर उतारचढाव देखिएको परिसूचक अन्तत १.१८ अंकले बढेर २९७७.०२ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.०४ प्रतिशतले बढी हो । बुधबार रुरु जलविद्युत परियोजनाको सेयर मूल्य ७.५५ प्रतिशतले बढेको छ । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १४४८ रुपैयाँ पुगेको छ । त्यस्तै, ५ प्रतिशत बढी सेयर मूल्य बढ्नेमा अन्य ४ कम्पनी रहेका छन् । ओरियन्टल होटलको ६.१४, यूनाईटेड मोदी हाइड्रोपावरको ६.०४, हिमालय उर्जा विकास कम्पनीको ६.०२ र सोल्टी होटलको सेयर मूल्य ५.७३ प्रतिशतले बढेको छ । सो दिन सबैभन्दा बढी सनराइज फर्ष्ट म्युचुअल फण्डको मूल्य घटेको छ । जसको इकाई मूल्य ९.९८ प्रतिशतले घटेर प्रतिइकाई ११.८२ रुपैयाँमा झरेको छ । सो दिन बैंकिङ्ग, होटल्स, इन्भेष्टमेन्ट, जीवन बीमा र ट्रेडिङ्ग समूह हरिया देखिएका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् ।

न्यादी हाइड्रोपावरको आइपिओमा २५ हजारले दिए आवेदन

लमजुङ । लमजुङ मस्र्याङ्दी गाउँपालिकामा निर्माणाधीन ३० मेगावाट क्षमतको न्यादी हाइड्रोपावरको आइपिओमा २५ हजार बढीको आवेदन परेको छ । आयोजनाले खुल्ला गरेको यही भदौ १ देखि १५ गते सम्ममा २५ हजार १९१ ले आवेदन दिएको आयोजना प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । उनका अनुसार यतिका सङ्ख्यामा परेको आवदेनबाट ६१ करोड १३ लाख ३ हजार ८०० बराबरको निवेदन रहेको छ । यीमध्ये आयोजना प्रभावित मर्स्यमङ्दी गाउँपालिकाका स्थानीयवासीका लागि छुट्याइएको पाँच लाख कित्ता शेयरको लागि दुई हजार ९५३ आवेदकबाट १६ करोड ३७ लाख १८ हजार १०० र जिल्लावासीको लागि तोकिएको १० लाख कित्ता शेयरको लागि २२ हजार २३८ जना आवेदकबाट ४४ करोड ७५ लाख ८५ हजार ७०० बराबरको आवेदक माग रहेको आयोजनाले जनाएको छ । आयोजना अनुसार यी आवदेकको आधारमा ६१ लाख ६३० कित्ता माग भएको छ । यीमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीको १६ लाख ३७ हजार १८१ कित्ता र जिल्लावासीको ४४ लाख ७५ हजार ८५७ कित्ता रहेको छ । जिल्लावासीको लागि कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यका १० लाख कित्ता शेयर निष्कासन गरेको हो भने अति प्रभावित क्षेत्रका लागि पाँच लाख र संस्थापक शेयरधनीका लागि तीन लाख कित्ता शेयर प्रारम्भिक चरणमा निष्कासन गरेको हो । आयोजना प्रमुख अमात्यका अनुसार अब अन्य सर्वसाधरणका लागि ७ देखि १० दिनभित्रमा शेयर खुल्ला गर्ने भएको छ । विसं २०७३ चैत महिनादेखि निर्माण थालनी गरेको आयोजनाले तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । विविध कारणले निर्माणमा ढिलाइ हुँदा समयमा काम सम्पन्न नभए पनि हाल आयोजनाको काम अन्तिम चरणमा पुगेको आयोजना जनसम्पर्क अधिकृत विजय गुरुङले बताए । सो आयोजना ६ अर्बको लागतमा निर्माण सम्पन्न हुने जनाइएको छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंकले ७५ प्रतिशत अर्थात् रु साँढे चार अर्ब ऋण लगानी गरेका छन् । बुटवल पावर कम्पनीको २५ प्रतिशत लगानी रहेको छ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा ४.८० र सुक्खायामका लागि ८.४० मा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ । मर्स्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माण गरिएको छ । रासस