ङादी ग्रुपका सेयरधनीलाई बोनसपछि हकप्रद पनि, चुक्ता पुँजी २ अर्ब नाघ्ने

काठमाडौं । ङादी ग्रुप पावरले सेयरधनीले बोनस सेयरपछि हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । साउन ३१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई बोनस सेयर र बोनसपछि हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट हाल कामय चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, संस्थाले कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ । साथै, कम्पनीले प्रस्तावित बोनस सेयर जारी गरे पश्चात कायम हुने चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको छ । संस्थाको उक्त प्रस्तावलाई संस्थाको आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले बोनस र हकप्रद सेयर पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी ५८ करोड ९१ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयरपछि संस्थाको चुक्ता पुँजी ७० करोड ६९ लाख रुपैयाँ पुग्ने छ । त्यसमा पनि २०० प्रतिशत हकप्रद सेयरपछि संस्थाको चुक्ता पुँजी २ अर्ब १२ करोड रुपैयाँ नाघ्ने छ ।

नेपाल बैंकको १ अर्बभन्दा बढीको कारोबार, किन झुम्मिए लगानीकर्ता ?

काठमाडौं । आज सेयर बजारमा नेपाल बैंक छाएको छ । तीब्र उत्तारचढाब भएको आजको बजारमा नेपाल बैंकको मात्रै १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्स) का अनुसार नेपाल बैंकका १९ लाख ७५ हजार ५१० कित्ता सेयर १ अर्ब ५ करोड ४४ लाख ६६ हजार ५७४ रुपैयाँमा कारोबार भए । अधिकांश ब्रोकर कम्पनीबाट भएको कारोबारमा ८ हजार ५ सय ५० वटा कारोबारबाट सो बराबरको सेयर खरिद विक्री भएका हुन् । नेपाल बैंकको सेयरप्रति लगानीकर्ताको आकर्षण बढ्ने सक्ने आधार बैंकको नाफाले पनि दिएको छ । बैंकले गत वर्षको आम्दानीबाट सेयरधनीलाई बाढ्न सक्ने रकम ५ अर्ब ४७ करोड रुपैयाँ छ । यसमध्ये ४३ करोड रुपैयाँ सेयर प्रिमियमको रकम छ भने रिटेन अर्निङमा ५ अर्ब ४ करोड रुपैयाँ छ । बैंकको चुक्ता पुँजी १२ अर्ब ६३ करोड रुपैयाँ रहेका कारण बैंकले सेयरधनीलाई यो वर्ष ४० प्रतिशतभन्दा बढी लाभांश दिन सक्छ । बैंकले वितरण गर्न सक्ने बराबरको सबै रकम सेयरधनीलाई यही वर्ष वितरण गर्छ भन्ने यकिन भने हुँदैन । त्यसमा पनि गत वर्ष अर्थमन्त्रालयसँग लफडा परेको करिब ३ अर्ब रुपैयाँ प्रोभिजनिङ गर्नु पर्यो भने नेपाल बैंकले वितरण गर्न सक्ने रकम आधाभन्दा बढीले कम हुनेछ ।

पुँजीबजारलाई ध्वस्त बनाउने मौद्रिक नीति, छिटोभन्दा छिटो खारेज गर्न माग

काठमाडौं । पुँजीबजारका लगानीकर्ताले चालु आर्थिक वर्षको मौद्रिक नीति पुँजीबजारलाई ध्वस्त बनाउने नीति रहेको धारणा राखेका छन् । उनीहरुले नेपाल राष्ट्र बैंकले गत शुक्रबार साउन २९ गते सार्वजनिक गरेको मौद्रिक नीतिले साना लगानीकर्ताको नाममा समग्र पुँजीबजारलाई ध्वस्त बनाउने नीति रहेको टिप्पणी गरेका हुन् । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र लिन सक्ने नयाँ व्यवस्था गरेको थियो । जसमा पुँजीबजारका लगानीकर्ताले आपत्ति जाउँदै यसलाई हटाउनमा माग गरेका छन् । पुँजीबजारका लगानीकर्ता संगठनमध्ये नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघ नेपालले आज साउन ३१ गते अर्थमन्त्री जनार्दन शर्मासमक्ष मौद्रिक नीतिको सम्बन्धमा ज्ञापनपत्र बुँझाउँदै पुरानो व्यवस्थालाई निरन्तरता दिन आग्रह गरेका छन् । यो नयाँ नीतिले सेयर बजारमा सेयर कर्जामा बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरुको पहुँच अभिवृद्धि गर्ने बहानामा उल्टो साना लगानीकर्ताको नाममा समग्र पुँजीबजारलाई ध्वस्त बनाउने अभिप्रायले यस्तो कर्जा नीति ल्याईएको उनीहरुको प्रतिकृया रहेको छ । यससँगै यो नीतिलाई छिटोभन्दा छिटो खारेज गरी पुरानै व्यवस्थालाई निरन्तरता दिनुपर्ने उनीहरुको माग छ । सेयर कर्जालाई प्रौत्साहित गर्नुको सट्टा व्यक्तिगत तथा संस्थागत कर्जा सिमाप्रति वित्तीय संस्था ४ करोड र वित्तीय प्रणाली बाट १२ करोडसम्मको सिमा तोक्नुले पुँजीबजारलाई विकसित गर्नु नभई संकुचित गर्न खोजिएको लगानीकर्ताहरु बताउँछन् । पुरानो व्यवस्थामा भने उक्त कर्जामा कुनै पनि सीमा तोकिएको थिएन ।