एनआईसी एशियाको नाफा सवा ३ अर्ब, व्यवसाय वृद्धिदर उच्च
काठमाडौं । एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब २५ करोड खुद मुनाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको भन्दा करिव ५ प्रतिशत बढी हो । बैंकले वार्षिक प्रतिशेयर आम्दानी २८.११ पुर्याएको छ । त्यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल १७.१४ प्रतिशत रहेको छ जुन वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी भएको उक्त बैंकको दावी छ । नाफामा सामान्य वृद्धि भए पनि बैंकको व्यवसायमा ऐतिहासिक वृद्धि भएको सो बैंकले जनाएको छ । आ.व. २०७७/७८ मा यस बैंकले कर्जातर्फ करिब ९१ अर्बको वृद्धि गरी कुल कर्जा रकम २६५ अर्ब पु¥याउन सफल भएको छ । जुन २७ वटै वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै हो । मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब ७१९ अर्बको कुल कर्जा वृद्धिमा यस बैंकको सर्वाधिक उच्च (१२.६६ प्रतिशत) बजार हिस्सा रहेको छ । आर्थिक वर्ष ०७७/७८ मा वाणिज्य बैंकहरुमा भएको कुल कर्जा वृद्धिको औसत प्रति बैंक कर्जा वृद्धि रकम करिब २४.१५ अर्बको तुलनामा यस बैंकको वृद्धि करिब ३.७६ गुणा रहेको छ । यसै गरी बैंकको स्वदेशी मुद्राको निक्षेपतर्फ करिब ९० अर्बले वृद्धि गरी कुल स्वदेशी मुद्राको निक्षेप संकलन २९८ अर्ब पु¥याउन बैंक सफल भएको छ । जुन २७ वटै वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै हो । मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब ६५५ अर्बको कुल वृद्धिमा यस बैंकको हिस्सा १३.५८ प्रतिशत रहेको छ । आर्थिक वर्ष ०७७/७८ मा वाणिज्य बैंकहरुमा भएको निक्षेप वृद्धिको औसत प्रति बैंक निक्षेप वृद्धि करिब २१.७३ अर्बको तुलनामा यस बैंकको वृद्धि करिब ४.१४ गुणा रहेको छ । कोभिड महामारीको बेलामा पनि बैंकले कर्जा असुलीमा सुधार गरेको छ । आ.व. २०७६/७७ को अन्त्यमा ०.७५ प्रतिशत रहेको निष्कृय कर्जालाई आ.व. २०७७/७८ को चौथो त्रयमाससम्ममा ०.४६ प्रतिशतमा झार्न बैंक सफल भएको छ । साथै, गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको छ । साना तथा मझौला र कृषि कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको छ । बैंकका प्रमुख १० ग्राहकलाई कुल कर्जाको ३.७ प्रतिशत दिएको छ । यस बैंकको कुल कर्जामा ५ करोड भन्दा कम सीमा भएका कर्जाहरूको अंश ९०.५६ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकले निक्षेपतर्फ पनि स–साना निक्षेप एवम् व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अवलम्बन गरेको छ । बैंकले आ.व. २०७७/७८ मा ४६६,४९५ नयाँ ग्राहक संख्या थप गर्दै २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी बैंकको कुल २८ लाख २७ हजार भन्दा बढी ग्राहक बनाएको छ जुन निजी क्षेत्रका वाणिज्य बैंकहरूको तुलनामा सर्वाधिक भएको बैंकले जनाएको छ ।
मौद्रिक नीति उद्योगी व्यापारीलाई ठिक, सेयर लगानीकर्तालाई बेठिक–विष्णु अग्रवाल
काठमाडौं । नयाँ मौद्रिक नीति उद्योग तथा व्यवसाय गर्नेको लागि राम्रो भएको तर पुँजी बजारका लगानीकर्ताको लागि नराम्रो भएको नेपाल उद्योग परिसंघले जनाएको छ । परिसंघको अध्यक्ष विष्णु अग्रवालले समग्रमा मौद्रिक नीति राम्रो भए पनि मौद्रिक नीतिभित्र विनाधितो २५ लाख रुपैयाँ ऋणि दिने सरकारको नीति नअटाएको, धेरै भन्दा धेरै कम्पनीलाई स्टक एक्स्चेञ्जमा दर्ता गराउने सरकारी नीति विपरितका व्यवस्था पनि बताएका छन् । सेयरमा लगानी गर्नका लागि ऋणको सीमा अधिकतम १२ करोड रुपैयाँ तोकिनु गलत भएको नेपाल उद्योग परिसंघले जनाएको छ । परिसंघका अध्यक्ष विष्णु अग्रवालले नयाँ ऋणको सीमाले पुँजी बजारलाई नकारात्मक असर गर्ने बताएका छन् । नयाँ नीतिले बजारका ठूला लगानीकर्तालाई हतोत्साहित गर्ने परिसंघको निष्कर्ष छ । यसले सरकारको बढीभन्दा बढी संस्थालाई नेपाल स्टक एक्स्चेञ्चमा दर्ता गर्ने सरकारको भिजनलाई पनि यसले प्रभावित गर्ने अध्यक्ष अग्रवालले बताए । कोभिड १९ बाट अति प्रभावित ठूला र मझौला उद्योगका लागि पुर्नकर्जाको सीमा बढाउन परिसंघले दिएको सुझावलाई पनि मौद्रिक नीतिले सम्बोधन नगरेकोमा उनले असन्तोष जनाए । त्यस्तै, सरकारले चालु आर्थिक वर्षको बजेटमा स्टार्टअपको लागि २५ लाख रुपैयाँसम्म विना धितो ऋण दिने बजेटमा भनिएको थियो तर यसबारे मौद्रिक नीतिमा स्पष्ट केही भनिएको अध्यक्ष अग्रवालले बताए । उल्लेखित तीन बुँदालाई मौद्रिक नीतिले सम्बोधन नगरे पनि अन्य पक्ष भने सकारात्मक र स्वागतयोग्य भएको उनले बताए । तरलता बढाउनको लागि रेमिट्यान्सबाट आएको निक्षेपमा १ प्रतिशत बढी ब्याज दिने व्यवस्थाले विप्रेषणमा प्रोत्साहन मिल्ने उनको भनाई छ । सीसीडी रेसियोको खारेजी, कर्जा–निक्षेप अनुपात ९० प्रतिशत गर्ने कुरा सकारात्मक भएको र यसले तरलतामा वृद्धि सहयोग गर्ने उनले बताए । ‘यी दुवै माग सीएनआईको थियो, जुन सम्बोधन भएको छ । हामी राष्ट्र बैंकलाई धन्यवाद दिन चाहान्छौं’ अध्यक्ष अग्रवालले भने । सहवित्तीयकरण कर्जाको सीमा १ अर्बबाट २ अर्ब गरिनु, कोभिड–१९ बाट अति प्रभावित व्यवसायको ब्याज दर १ वर्षसम्मका लागि फ्रिज गर्ने प्रावधान ल्याउनु, यातायात व्यवसायीको लागि मर्मत र सम्भारको लागि अतिरिक्त कर्जाको व्यवस्था गरिनु, २५ लाखसम्मको ऋणलाई विपन्न कर्जामा गणना गर्ने नीति ल्याउन मौद्रिक नीतिको सकारात्मक पक्ष भएको परिसंघको धारणा छ । वाच लिष्टलाई २ वर्षबाट ३ वर्षसम्म गर्ने निर्णय पनि सकरात्मक पक्ष भए पनि परिसंघले यसलाई ५ वर्ष समय मागेको स्मरण गराएको छ । १ करोडभन्दा कम ऋण भएका घरेलु तथा साना उद्योगको बेस रेटमा २ प्रतिशतको सीमा तोकिनु पनि राम्रो कुरा भएको उनले बताए ।
साना लगानीकर्तालाई सेयर कर्जा प्रोत्साहित, ठूलालाई बढीमा ४ करोड
काठमाडौैं । नेपाल राष्ट्र बैंकले सेयर बजारका साना लगानीकर्तालाई कर्जा प्रवाहमा प्रोत्साहित गर्ने नीति लिएको छ । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले ठूला लगानीकर्तामा प्रवाह हुने सेयर कर्जा नियन्त्रण गर्न सीमा तोकेका छन् । एक व्यक्तिले बढीमा ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँ मात्र सेयर धितो कर्जा लिन पाउने व्यवस्था गरिएको गभर्नर अधिकारीले जानकारी दिए । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गर्ने सेयर धितो कर्जा साना लगानीकर्तालाई प्रोत्साहित गर्ने उदेश्यले यस्तो व्यवस्था गरिएको उनले बताए । सेयरधितो मूल्यांकन विधि पुरानै हुने उनले बताए । १८० दिनेको औषत मूल्यको ७० प्रतिशतसम्म सेयर धितो कर्जा प्रवाह गर्ने नीति राष्ट्र बैंकले लिएको छ ।