जीवन विकाससहित चार कम्पनीको सेयर मूल्यमा सर्किट, अपरको उच्च कारोबार

काठमाडौं । बिहीबारको बजारमा विभिन्न ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दोहोरो अंकको करेक्सन देखिएको बजारमा पनि जीवन विकाससहित ४ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो । सो दिन नेपाल फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, जीवन विकास बैंक र यूनियन लाइफ इन्स्योरेन्सको सेयर सर्किट लेभलमा कारोबार भएको हो । जसमध्ये फाइनान्स समूहको नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७२०.५० रुपैयाँ पुगेको छ । त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक र जीवन विकास लघुवित्तको सेयर मूल्य १०/१० प्रतिशतले बढेर प्रतिकित्ता ४४७.७० र १५०६.२० रुपैयाँ पुगेको छ । त्यसैगरी, यूनियन लाइफको सेयर मूल्य भने ९.९८ प्रतिशतले बढेर ४८२.७० रुपैयाँ पुगेको छ । बजारमा कूल २२६ कम्पनीको १४ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ३२ करोड रुपैयाँले घटी हो । अघिल्लो दिनको बजारमा कूल १५ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बिहीबारको बजारमा अपर तामाकोशी हाइड्रोको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन ६५ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य अघिल्लो दिनको तुलनामा सामान्य ०.८० रुपैयाँले बढेर प्रतिकित्ता ७६२ रुपैयाँ पुगेको छ । समग्रमा बिहीबारको बजार दोहोरो अंकले ओरालो लागेको छ । सो दिन सेयर कारोबार मापक नेप्से परिसूचक १६ बिन्दुले घटेर ३१०७.४५ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५१ प्रतिशतले घटी हो । सो दिन विकास बैंक बाहेक सबै समूह राताम्मे देखिएका छन् । विकास बैंक समूह भने ११० अंकले बढेर ५०२२ बिन्दुमा पुगेको छ । राताम्मे हुनेमा हाइड्रोपावर समूह सबैभन्दा बढी अर्थात ७६.३९ बिन्दुले घटेको छ ।

जीवन विकास लघुवित्तको खुद नाफा १०१ प्रतिशतले बढ्यो, अधिकांश सूचकमा सुधार

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले एक वर्षको अवधिमा १०१.९७ प्रतिशत बढी नाफा कमाउन सफल भएको छ । अघिल्लो आवको असार मसान्तसम्ममा ३४ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको संस्थाले गत आवको सोही अवधिमा ६८ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ४९.२९ प्रतिशत बढेर १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । उता सञ्चालन नाफा भने ९.४६ प्रतिशतले घटेर ३८ करोड ३७ लाख रुपैयाँमा झरेको छ । समिक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी १३०.५३ रुपैयाँले घटेको छ । अघिल्लो वर्ष २४३.८७ रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी घटेर ११३.३४ रुपैयाँमा झरेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ ३१५.२२ रुपैयाँ रहेको छ । हालै आईपीओ जारी गरेको संस्थाको चुक्ता पुँजी ३३४.५७ रुपैयाँले बढेर ६० करोड ८४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, जगेडा कोषको रकम १३७.६२ प्रतिशतले बढेर एक अर्ब ०९ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा लघुवित्तको निक्षेप ४३.८८ प्रतिशत र कर्जा लगानी ९१.८७ प्रतिशतले बढेर क्रमशः ८ अर्ब ९ करोड र २० अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । संस्थाको निष्कृय कर्जा पनि ०.३२ ले बढेर ०.६१ पुगेको छ ।

मोलुङ हाइड्रोले ओखलढुङ्गावासीलाई ८ करोडको शेयर बिक्री गर्ने

ओखलढुङ्गा । मोलुङ हाइड्रोपावर कम्पनीले स्थानीयवासीलाई करिब आठ करोड बराबरको आठ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ । आयोजना आसपासका नागरिकका लागि आठ लाख दुई हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागिएको हो । कम्पनीले आफ्नो जारी पूँजी ८० करोड २५ लाखको १० प्रतिशत अर्थात् आठ करोड दुई लाख पचास हजार बराबरको शेयर स्थानीय क्षेत्रका प्रभावित बासिन्दालाई बिक्री गर्ने तयारी गरेको सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले बताए । बाँकी ३४ प्रतिशत अर्थात् २७ करोड २८ लाख पचास हजार रकम बराबरको २७ लाख २८ हजार ५०० कित्ता साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख ३६ हजार ४२५ कित्ता साधारण शेयर सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता साधारण शेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको उनले जानकारी दिए । बाँकी रहेको २५ लाख ३७ हजार ५०५ कित्ता शेयर सर्वसाधारणका लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अधिनमा रही निष्काशन गरिने कम्पनीले जनाएको छ । पहिलो चरणमा निष्काशन हुने आठ करोड बराबरको आठ लाख कित्ताभन्दा बढी शेयर मोलुङ गाउँपालिका र सिद्धिचरण नगरपालिकाका नागरिकका लागि हुनेछ । उक्त शेयर खरिद गर्न चाहने नागरिकका लागि बैंकमा डिम्याट खाता अनिवार्य गरिएको छ । ती गाउँपालिका र नगरपालिकाका नागरिकलाई अनिवार्य शेयर खरिद गर्नका लागि आह्वान गरिएको निर्माण कम्पनीका सञ्चालक नवीन महर्जनले बताए । त्यहाँका नागरिकले खरिद गरेका शेयर तीन वर्षसम्म बिक्री गर्न नमिल्ने कम्पनीले जनाएको छ ।