अर्थमन्त्रालयले नेप्सेका प्रमुख साउदसँग पनि माग्यो स्पष्टिकरण, ३ तीनभित्र पेश गर्नुपर्ने
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) का प्रमुख चन्द्रसिंह साउदलाई पनि स्पष्टिकरण सोधेको छ । साउदले आफ्नी श्रीमति सुशीलाकुमारी बोहोराको नाममा सर्वोत्तम सिमेन्टको गोल्डेन सेयर किनेको विषयमा उनलाई अर्थमन्त्रालयले स्पष्टिकरण सोधेको हो । मन्त्रालयले तीन दिन भित्र स्पष्टिकरण दिन भनेको छ । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र समन्वय महाशाखाका शाखा अधिकृत श्यामप्रसाद आचार्यको हस्ताक्षर रहेको पत्रमा ३ दिनभित्र स्पष्टिकरण पेश गर्न उल्लेख गरिएको छ । पत्रमा लेखिएको छ, ‘विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका नेप्सेसँग सम्बन्धित समाचारप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ, सञ्चार माध्यममा आएका उक्त विषयवस्तुको सम्बन्धमा सत्यतथ्य यथार्थता के हो ? सोको स्पष्ट र तथ्यपरक विवरण तीन दिन भित्र यस मन्त्रालयमा उपलब्ध गराइदिन हुन आदेशानुसार अनुरोध छ ।’ त्यस्तै, मन्त्रालयले आजै नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानालाई पनि स्पष्टिकरण सोधिसकेको छ । उनले पनि आफ्नी छोरीको नाममा सर्वोत्तम सिमेन्टको गोल्डेन सेयर खरिद गरेको विषयमा बजारमा चर्को आलोचना भएसँगै अर्थमन्त्रालयले उनलाई स्पष्टिकरण सोधेको हो ।
आईएमई जनरल इन्स्योरेन्सले बढायो सर्वसाधारणको सेयर स्वामित्व
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको १० लाख ४१ हजार ८२७ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । आज(साउन १४ गते) बिहीबार मात्रै कम्पनीको सो मात्राको संस्थापक सेयर साधारणमा परिणत भएको हो । उक्त सेयर संरचना परिवर्तन भएसँगै इन्स्योरेन्समा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व भएको छ । यसअघि कम्पनीको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व क्रमशः ६० र ४० प्रतिशत रहेको थियो । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड ७५ लाख रुपैयाँ रहेको छ । बिहीबार कम्पनीको सेयर मूल्य २४ रुपैयाँले घटेर प्रतिकित्ता १३०८ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.८३ प्रतिशतले घटी हो ।
पहिलो दिनमै ६ अर्ब नाघ्यो जीवन विकासको बजार पुँजीकरण, प्रतिकित्ता कति पुग्यो ?
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको बजार पुँजीकरण ६ अर्ब रुपैयाँ नाघेको छ । दोश्रो बजारमा कारोबार शुरु भएको पहिलो दिनमै लघुवित्तको बजार पुँजीकरण ६ अर्ब १ करोड ७६ लाख ८४ हजार ४०० रुपैयाँ पुगेको हो । लघुवित्तले आज(साउन १४ गते) देखि दोश्रो बजारको यात्रा शुरु गरेको छ । साउन १३ गते नेप्सेमा सूचीकृत भएको संस्थाको आजदेखि दोश्रो बजारमा सेयर कारोबार शुरु भएको हो । पहिलो दिनमै संस्थाको पहिलो कारोबार ९१४ रुपैयाँबाट शुरु भएको थियो । जुन नेप्सेले तोकिदिएको मूल्यको करिब अधिकतम मूल्य हो । नेप्सेले संस्थाको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ३०५.२७ रुपैयाँ र अधिकतम ९१५.८१ रुपैयाँ तोकेको थियो । यससँगै दिनभरको कारोबारमा लघुवित्तको सेयर मूल्य निरन्तर रुपमा बढेको थियो । र, बिहीबार बढी कमाउनेको दोश्रो स्थानमा पर्न सफल भएको छ । बजारमा लघुवित्तको सेयर मूल्य बढेर प्रतिकित्ता ९८९.१० रुपैयाँ पुगेको छ । जुन संस्थाको शुरुवाती मूल्यको तुलनामा ८.२२ प्रतिशत अर्थात प्रतिकित्ता ७५.१० रुपैयाँले बढी हो । बिहीबारको बजारमा कूल ९५ हजार २५७ रुपैयाँ बराबरको १०० कित्ता सेयर कारोबारमा किनबेच भएको छ । संस्थाको एकपटकमा १०/१० कित्ता गरी १० पटकमा १०० कित्ता सेयर किनबेच भएको हो । चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ रहेको संस्थाको कूल ६० लाख ८४ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । जसमध्ये ६७.५० प्रतिशत (४१ लाख ६ हजार ७०० कित्ता) संस्थापक र ३२.५० प्रतिशत (१९ लाख ७७ हजार ३०० कित्ता) साधारण सेयर रहेका छन् । सम्बन्धित समाचार जीवन विकास लघुवित्तको आईपीओ सूचीकृत, भोलिदेखि कारोबार हुने, मूल्य रेञ्ज कति ?