साताको शेयर बजार: यि हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी, ४२ अर्ब ५१ करोडको कारोबार

काठमाडाैं । नयाँ आर्थिक वर्षको शुरुआतमा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा सकारात्मक सङ्केत देखिएको छ । बजार पूँजीकरणमा समेत उत्साहजनक अवस्था सिर्जना भएको छ । नयाँ सरकार गठन भएपछि लगानीकर्तामा विश्वाससमेत बढेको पाइएको छ । नेप्से परिसूचकसमेत तीन हजार विन्दुमा पुगेको छ । यो हालसम्मकै शीर्ष स्थान हो । बजारमा झण्डै एक महिना जस्तो ‘करेक्शन’ देखियो । लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाको ब्याज तिर्नुपर्ने तथा अन्य आर्थिक कारोबार मिलाउनु पर्ने भएकाले पनि असारको अन्तिम दुई साता बजारमा करेक्शन देखिएको हो । आर्थिक वर्षको पहिलो कारोबार दिन साउन ३ गते नेप्सेमा हरियाली छाएको छ । गत आर्थिक वर्षमा ऐतिहासिक रेकर्ड कायम गरेको शेयर बजारमा वर्षको पहिलो कारोबार दिनमा पनि सोही उत्साह देखिएको छ । यस साता चार दिनमात्रै शेयर बजारमा कारोबार भयो । बुधबार सार्वजनिक बिदा परेकाले पनि कूल चार दिनमात्रै कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यही साउन ३ गते पुनः स्थापित संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै हुनुहुन्थ्यो । सो दिन शेयर बजारले पछिल्लो राजनीतिक घटनाक्रमलाई स्वागत ग¥यो । यस साता कूल २२२ कम्पनीको ४२ अर्ब ५१ करोड ३५ लाख ९६ हजार ९८४ बराबरको कारोबार भयो । नेप्सेका अनुसार यस साता कूल १५ करोड ४० लाख छ हजार ७०२ कित्ता शेयर कारोबार भयो । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ९७.२१ अङ्कले बढेर २९८०.६१ विन्दुमा पुगेको थियो । सो दिन दुई करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर ११ अर्ब ६८ करोड ८१ लाख २६ हजार ४९२ मा कारोबार भयो । त्यस दिन १९४ वटा कम्पनीको शेयर मूल्य बढेको थियो भने २२ वटा कम्पनीको शेयर मूल्य ओरालो लाग्दा पाँचवटा कम्पनीको शेयर मूल्य स्थिर रहेको थियो । त्यस दिन समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, ङादी ग्रुप अफ पावर, हिमालयन पावर पार्टनर र सिङ्गटी हाइड्रो इनर्जी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको थियो । नेप्से परिसूचक १३.९७ अङ्कले बढेर दुई हजार ९९४.५८ मा पुगेको थियो । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ०.०२ विन्दुले घटेर ५६०.९४ मा ओर्लियो । कूल २१९ कम्पनीको तीन करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०७ मूल्यमा खरीद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर ओरालो लाग्दा आठ उपसमूहको शेयर भने उकालो लागेको थियो । सोमबारको कारोबारपछि बजार पूँजीकरण ४१ खर्ब ६५ अर्ब ६१ करोड ४७ हजार ५९ बराबर पुगेको छ । कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको थियो । कारोबारका आधारमा सिनर्जी पावरको शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको थियो भने विशाल बजार कम्पनी ९.२०, नेपाल इन्सुरेन्स ७.५७, नागरिक लगानी कोष ६.४० र हिमालयन ऊर्जा विकास कम्पनीको लगानीकर्ताले ५.९८ प्रतिशतले कमाएका थिए । त्यस दिन नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र ५.८७, सनराइज बैंकको ऋणपत्र ५.०६, गुर्खाज फाइनान्स ३.६०, मञ्जुश्री फाइनान्स ३.२० र एचआइडिसिएलका लगानीकर्ताले ३.०२ प्रतिशतले गुमाएका थिए । साताको तेस्रो दिन मङ्गलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्यो । त्यस दिन नेप्से ९.०१ अङ्कले ओरालो लागेर दुई हजार ९८५.५७ मा ओर्लेको थियो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८२ अङ्कले ओरालो लागेर ५५८.११ मा ओर्लेको थियो । कूल २१९ कम्पनीको तीन करोड १६ लाख आठ हजार १९३ कित्ता शेयर सात अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ मूल्यमा खरीद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण ४१ खर्ब ५३ अर्ब सात करोड ९० लाख ३४ हजार ३०२ को हाराहारीमा पुगेको थियो । त्यस दिन कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लाग्यो । त्यस दिन कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रहेको थियो । सो कम्पनीको ३८ करोड ७८ लाख २० हजार ९६८ बराबरको कारोबार भयो । त्यस दिन लक्ष्मी उन्नति कोष १०.०४, लक्ष्मी इक्विटी फन्ड १०.०१, वरुण हाइड्रोपावर ९.३९, माउन्टेन हाइड्रोपावर ९.२८ र ग्लोबल आइएमई समुन्नत स्किम–एकका लगानीकर्ताले ८.९२ प्रतिशतले कमाएका थिए । बुधबार सार्वजनिक बिदा भएकाले शेयर कारोबार भएन । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार कारोबार मापक नेप्से परिसूचक तीन हजार विन्दु पार ग¥यो । त्यस दिन नेप्से परिसूचक १८.७५ विन्दुले बढेर तीन हजार ४.३१ मा पुगेको थियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०६ विन्दुले बढेर ५६२.२४ मा पुगेको थियो । कूल २२२ कम्पनीको पाँच करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर रु ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ बराबरको कारोबार भएको थियो । बिहीबारको कारोबारपछि बजार पूँजीकरण ४१ खर्ब ७९ अर्ब १७ करोड ४७ लाख ३१ हजार ६७३ बराबर पुगेको छ । बिहीबार कारोबार भएका १३ उपसमूहमध्ये आठ उपसमूहको शेयर ओरालो लाग्दा पाँच उपसमूहको शेयर मूल्य भने उकालो लागेको थियो । त्यस दिन कारोबारका आधारमा कृषि विकास बैंक शीर्ष स्थानमा रहेको थियो । सो बैंकको ४६ करोड २७ लाख ६४ हजार ६४० बराबरको कारोबार भयो । बिहीबार लक्ष्मी उन्नति कोष १०.०४, सिइडिबी हाइड्रोपावर १०, ङादी ग्रुप अफ पावर १०, पोखरा फाइनान्स ९.९५ र माउन्टेन हाइड्रोका लगानीकर्ताले ९.९५ प्रतिशतले कमाएका थिए । साताभर माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले ३०.९२ प्रतिशतले कमाएका थिए । यस्तै, लक्ष्मी इक्विटी फन्ड २७.३९, लक्ष्मी उन्नति कोष २४.२५, कृषि विकास बैंक २७.७६ र सिइडिबी हाइड्रोपावरका लगानीकर्ताले २२.६२ प्रतिशतले कमाए । त्यसैगरी राष्ट्रिय बीमा कम्पनीका संस्थापक शेयरधनीले ५.५५ प्रतिशतले गुमाउँदा गुर्खाज फाइनान्स ५.४४, सारथी नेपाल लघुवित्त ४.६६, एभरेष्ट इन्सुरेन्सको संस्थापक शेयर ४.५९ र मल्टीप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले ४.१९ प्रतिशतले गुमाए ।

पुँजी बजार विकासको लागि सुझावः लाभकर घटाउनेदेखि १० कित्ते नीतिलाई निरन्तरता दिनेसम्म

काठमाडौं । पुँजीबजारका लगानीकर्ताले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा समक्ष पुँजी बजारको विकासका लागि विभिन्न सुझाव पेश गरेका छन् । आज(साउन ८ गतें) शुक्रबार अर्थमन्त्री शर्मासँग भेटवार्ता गरी विभिन्न लगानीकर्ता संघसंगठनका अध्यक्षले बजार विकासका लागि ७ बुँदे सुझाव पेश गरेका हुन् । यस्ता छन् सुझाव (जस्ताको त्यस्तै) प्राथमिक बजार देशव्यापी भए जस्तै दोस्रो बजारका सेवालाई पनि देशव्यापी बनाउन पुँजीबजारको वृहत्तर विकासको लागि ७७ वटै जिल्लाका ७५३ स्थानीय निकायसम्म सर्वसाधारणले सहज रूपमा सेयर खरिद बिक्री गर्न पाउने संवैधानिक हक अधिकारलाई सुनिश्चितता गर्नका लागि आश्वा प्रणालीको ढाँचामा बाणिज्य बैंक वा बैंकका सहायक कम्पनीहरूका साथै निश्चित मापदण्ड पुरा गरेका प्राकृतिक व्यक्ति वा संस्थाहरू मार्फत समेत सेवा प्रवाह गराउन पहल गरिनुपर्ने। लगानीकर्ताहरूको बढ्दो शेयर खरिद बिक्री लागतलाई न्युनीकरण गर्न अत्यन्त आवश्यक भएकोले हाल दोहोरो ब्रोकर कमिशन तिर्दै आएकोमा एकतर्फी रूपमा मात्र ०.१५ प्रतिशतभन्दा नबढ्ने गरी विधमान कमिशन दर तत्काल पुनरावलोकन गरिनु पर्ने । पुँजीबजार संग सम्बन्धित हाल कार्यान्वयनमा भई आएका मार्जिन कर्जा लगायतका बुँदाहरूलाई निरन्तरता दिंदै हाल पुँजीगत लाभकरलाई वृद्धि गरी ७.५ प्रतिशत गरिएकोमा उक्त व्यवस्थाले लगानीकर्ताहरू निरुत्साहित भई दैनिक कारोवारमा गिरावट आएसँगै सरकारले पाउने राजस्वमा समेत ह्रास आएको हुँदा आर्थिक वर्ष २०७७/०७८ सम्म कायम पुँजीगत लाभकरलाई नै निरन्तरता दिई दीर्घकालीन लगानीकर्ताहरूलाई पुँजीगत लाभकर २.५ प्रतिशत कायम गरी लगानीको वातावरणलाई प्रोत्साहन गरियोस् । गैर आवासिय नेपालीहरू तथा विदेशमा रोजगारीमा गएका नेपालीहरूले सेयर कारोवार गर्न पाउने विश्वव्यापी प्रचलन अनुरूप सीप, प्रविधि र पुँजीको भरपुर सदुपयोग गरी विदेसिएका र गैर आवासीय नेपालीहरू तथा करिव ६० लाख युवाहरूलाई स्वदेशमा नै रोजगारी सिर्जना गरी औद्योगिकीकरण र यान्त्रिकीकरण मार्फत सवल राष्ट्र निर्माणमा सरिक बनाई स्थायी अर्थोपार्जन एवं वेरोजगारी समस्याको समाधान गर्ने उद्देश्य पुर्ति गर्नका लागि २०६५ साल देखि धितोपत्र बोर्ड समेतको कार्य सूचीमा रहेको विषय गैर आवासीय नेपाली लगायत विदेशिएका श्रमिक युवा वर्गलाई पुँजीबजारमा सहज प्रवेशको व्यवस्था गरिनु पर्ने । पुँजी बजारलाई हेरिने र बुझिने दृष्टिकोणमा व्यापकता ल्याई, पुँजी वजार मार्फत समग्र राष्ट्रलाई औद्योगिककरण गरी समुन्नत राष्ट्र निर्माण गर्न प्राथमिक सेयर निष्काशन गरी समिश्रित वित्तीय व्यवस्था अनुसार सरकारको लगानी र अन्य उद्योगी व्यवसायीसँग छरिएर रहेका यथासम्भव पुँजी संकलन गर्ने माध्यमको रूपमा पुँजीबजारको माध्यमबाट स्वदेशी लगानीमै उत्पादन मुलक उद्योगधन्दा, कलकारखाना र जलविधुत कम्पनीहरू स्थापना गरी विदेशी ऋण लिनुपर्ने हालको वाध्यतालाई निरुत्साहित गर्दै मजदुर ,कर्मचारी तथा सर्वसाधारणलाई उक्त कम्पनीहरूमा हिस्सेदार बनाई सो कम्पनी प्रति अपनत्व र प्रतिफल पाउने सुनिश्चितता संगै यस क्षेत्र मार्फत देश विकासमा आम नागरिकहरूको सहभागिताको सुनिश्चितता गरियोस् । पुँजीबजारमा विद्यार्थी, गृहिणी सहित ससाना पुँजी भएका वर्ग समेतको सहभागिता बढाउने उद्देश्यले बोर्डले सार्वजनिक निष्काशनमा न्यूनतम १० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको विधमान व्यवस्थाले पुंजीबजारको विकास र विस्तारमा अभूतपूर्व सफलता प्राप्त भई ३७ लाख ५० हजार भन्दा माथि नागरिकहरूले पुँजीबजारमा प्रत्यक्ष सहभागिता जनाई रहेको सन्दर्भमा उक्त न्युनतम १० कित्ता पाउने सार्वजनिक निष्कासन प्रणालीलाई नै निरन्तरता दिइयोस् । पुँजीबजारको विकास र विस्तारका लागि लगानीकर्ताहरूका संघ संगठनहरू संग सरकारले गरेको ५८ बुँदे सहमतिमा उल्लेख भएका बुँदाहरू मध्ये कार्यान्वयनमा आउन बाँकी बुँदाहरू तत्काल कार्यान्वयन गरिनुपर्ने ।

मध्य भोटेकोशीको आईपीओमा २१ करोड रुपैयाँ बढीको आवेदन, कतिले भरे ?

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओमा २१ करोड १७ लाख २३ हजार ७ सय रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार शुक्रबार साँझसम्ममा ९ हजार ८२५ जनाले उक्त रकम बराबरको सेयरको लागि आवेदन दिएका हुन् । उनीहरुले हालसम्ममा कम्पनीको २१ लाख १७ हजार २३७ कित्ता सेयर माग गरेका हुन् । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ६० करोड बराबरको ६० लाख कित्ता सेयर निष्काशन गरेको छ । आईपीओमा ग्लोबल आईएमई क्यापिटलको वेबसाइट, इसेवा, आईएमई पे बाट अनलाइन आवेदन दिन सकिने व्यबस्था गरिएको छ । थप समाचार स्थगित मध्य भोटेकोशीको आईपीओ पुनः आजदेखि खुल्यो