गरिबलाई सेयर किन्न अनुदान दिने व्यवस्था गर्लान् त अर्थमन्त्री पौडेलले ?

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक वर्षको बजेट निर्माण कार्यमा व्यस्त छन् । आगामी आर्थिक वर्षको लागि जेठ १५ मै बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार अर्थमन्त्री सोको तयारीमा लागेका हुन् । बजेट निर्माणका लागि मन्त्री पौडेलले विभिन्न आधारलाई केन्द्रमा राखेका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार मन्त्री पौडेलले अन्य आधारसँगै गत निर्वाचनमा बाम घोषणापत्रमा उल्लेख गरिएका विषयको कार्यान्वयनलाई पनि जोडेका छन् । ‘अर्थमन्त्रीज्यूले अन्य आधारसँगै बाम घोषणापत्रमा उल्लेख भएका विषय कार्यान्वयनलाई पनि प्राथमिकतामा राख्ने भन्नुभएको छ, सोही अनुसार घोषणापत्रमा उल्लेख भएका विषयका बारेमा उहाँले छलफल गरेर कार्यान्वयनको खाका बनाइरहनु भएको छ,’ मन्त्रालय स्रोतले भन्यो । गत संसदीय निर्वाचनको लागि सत्तारुढ एमाले पनि सहभागी भएको बाम गठबन्धनमा निरपेक्ष गरिबीको रेखामुनि रहेका व्यक्तिहरुलाई जलविद्युत परियोजनाको सेयर उपलब्ध गराउन विशेष वित्तीय व्यवस्था गरिने उल्लेख छ । ‘घरघरमा बिजुलीः जनजनमा सेयर नीति लागू गर्दै आकर्षक जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रवद्र्धन गरिनेछ । निरपेक्ष गरिबीको रेखामुनि रहेका व्यक्तिहरूलाई पनि यस्ता परियोजनामा सेयर उपलब्ध गराउन विशेष वित्तीय व्यवस्था गरिनेछ,’ बाम घोषणापत्रको विद्युत् तथा ऊर्जा वृद्धिः राष्ट्रको आर्थिक समृद्धि खण्डमा उल्लेख गरिएको छ । यस्तै, सो घोषणापत्रमा स्वदेश र प्रवासमा रहेका नेपाली नागरिक तथा गैरआवासीय नेपालीहरूलाई ४९ प्रतिशतसम्म सेयर खरिद गर्न पाउने व्यवस्था गरिने भनिएको छ । गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युत लाइन जोड्न र विजुली उपभोगमा सहुलियत दिइने पनि भनिएको छ । सो घोषणापत्र अनुसार निरपेक्ष गरिबीको रेखामुनि रहेका नागरिकलाई आकर्षक जलविद्युत परियोजनाको सेयर उपलब्ध गराउन अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बर्षको बजेटमा के कस्तो व्यवस्था गर्छन् भन्ने चासो बढेको छ ।

सारथी नेपाल र सूर्योदय लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । आज (चैत १९ गते) बिहीबार दुई लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । सारथी नेपाल लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाको एकैदिन बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये सारथी नेपाल लघुवित्तको ८.१३ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १५९६ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १७२६ रुपैयाँमा भएको थियो । त्यसैगरी, सूर्योदय लघुवित्तको १५.३५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । अन्तिम कारोबार प्रतिकित्ता २२६१ रुपैयाँमा भएको संस्थाको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता १९६० रुपैयाँ कायम भएको छ । यससँगै बिहीबारको बजारमा दुबै कम्पनीको कारोबार समायोजन पछिको सेयर मूल्यबाट शुरु भएको छ ।

किसान लघुवित्तको सेयर कारोबार फुकुवा गर्दै नेप्सेले भन्यो- अबदेखि त्यस्तो गल्ती नदोहोरियोस्

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार खुला भएको छ । अबदेखि उक्त गल्ती नदोहोर्याउन र आन्तरिक व्यवस्थापन चुस्त दुरुस्त राख्न सचेत गराउँदै नेप्सेले संस्थाको सेयर कारोबार आज (अर्थात चैत १९ गते) देखि फुकुवा गरिदिएको हो । लघुवित्तले चैत ८ गते सार्वजनिक गरेको वार्षिक साधारण सभाको सूचनामा १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव समावेश गरेको थियो । तर चैत ९ गते हकप्रद जारी गर्ने विशेष प्रस्ताव हटाएर पुनः साधारणसभा सम्बन्धी सूचना प्रकाशित गरेको थियो । यससँगै, नेप्सेले धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना समयमै पेश नगरेको र सूचना परिवर्तन गरेको भन्दै संस्थाको सेयर कारोबार रोक्का गरी ३ दिनभित्र स्पष्टीकरण पेश गर्न पनि किसान लघुवित्तलाई निर्देशन दिएको थियो । जसको जवाफमा संस्थाले सेयर कारोबारमा प्रभाव पार्ने गलत मनसाय नभएको भन्दै गत चैत १२ गते नेप्सेलाई पत्र पठाएको थियो । ‘सभाको प्रस्तावमाथि छलफल गर्दा पुँजीकोष प्रर्याप्त नभएकोले त्यसको लागि हकप्रद सेयरको प्रस्ताव सम्बन्धित निकायसँग परामर्श गरेर मात्र अगाडि बढ्ने निर्णय गरेको र सभा हुनुभन्दा २१ दिन अगाडि नै वार्षिक साधारणसभा सम्बन्धी सूचना प्रकाशन गर्नुपर्ने प्रावधान र सो दिन बिदा परेकोले परामर्श लिन नसकिएको कारण हकप्रद सेयर निष्काशन सहितको साधारणसभाको सूचना प्रकाशित भएको हो । दोश्रो दिन परामर्श पछि सो प्रस्ताव हटाई पुनः चैत ९ मा सो सूचना प्रकाशित गरिएको’ संस्थाले नेप्सेलाई पठाएकाे जवाफमा उल्लेख छ। त्यस्तै, नेप्सेमा सोही सूचना दिन ढिलाई सम्बन्धमा नयाँ युजर आईडी लिनुपर्ने भएकोले केही समय ढिला हुनगएको र यी सबै मानविय त्रुटीको कारण सो भएको संस्थाले जानकारी गराएको छ ।