अपर सोलु हाईड्रोले आईपीओ जारी गर्ने, अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड

काठमाडौं । अपर सोलु हाईड्रो इलेक्ट्रीक कम्पनीले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले स्थानिय र सर्वसाधारलाई गरी कूल ३३ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । उक्त परिमाणकाे अर्थात ३३ लाख ७ हजार ५ सय कित्ता सेयर निष्काशन गर्नकाे लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेकाे छ । कम्पनीले गत चैत १६ गते बोर्ड पुगेको हो । यससँगै, बोर्डको अनुमति पाए पश्चात कम्पनीले बिक्री प्रबन्धक एनएमबी क्यापिटलमार्फत सो मात्राको आईपीओ जारी गर्ने छ ।

साढे १६ लाख बढीले भरे रु रु जलविद्युतको आईपीओ

काठमाडौं । रु रु जलविद्युत परियोजनाको आईपीओमा साढे १६ लाख बढीले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज(चैत २४ गते) अन्तिम दिनसम्ममा १६ लाख ६९ हजार ५६६ जनाले कम्पनीको सेयर भरेका हुन् । क्यापिटलका अनुसार चैत २४ गते मंगलबार साँझसम्ममा १६ लाख ६९ हजार ५६६ जना आवेदकले संस्थाको २ करोड ३३ लाख ७७ हजार २२० कित्ता सेयर माग गरेका छन् । जुन, कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा ६१.६५ गुणा बढी आवेदन हो । यद्यपि यो तथ्यांक बढ्न सक्ने क्यापिटलले जनाएको छ । कम्पनीले चैत २० गतेदेखि सर्वसाधारणमा ४ लाख ७ हजार ७०६ कित्ता सेयरको बिक्री खुला गरेको थियाे । जसमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेकाे हाे । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता सेयर निष्काशन गर्न लागेको हो । संस्थाले स्थानियमा भने अंकित मूल्य १०० रुपैयाँमै सेयर बिक्री गरेको थियो । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्ता पुँजी ३२ करोड ६१ लाख रुपैयाँ रहेको छ । आईपीओ निष्काशत तथा बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी ४० करोड ७७ लाख रुपैयाँ नाघ्ने छ ।

दोश्रो बजारमा भित्रिएका तीन ‘दुलही’: जसकाे सेयरमा झुम्मिए लगानीकर्ता

काठमाडौं । पछिल्लो समय दोश्रो बजारमा तीन लघुवित्तको सेयर मूल्य निरन्तर रूपमा बढ्दै आएको छ । त्यसमध्ये पनि दुई लघुवित्त (एनआईसी एशिया लघुवित्त र वोमी माइक्रोफाइनान्स वित्तीय संस्था) को सेयर मूल्य निरन्तर रूपमा बढेर दैनिक सकारात्मक सर्किट लागिरहेकाे छ । एनआईसी एशिया लघुवित्तको सेयर मूल्यले ११०० रुपैयाँ नाघेको छ । अन्य दिनजस्तै, आज(चैत २४ गते)को बजारमा पनि संस्थाको सेयर मूल्य ९.९३ प्रतिशतले बढेर प्रतिकित्ता ११६२ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १०५ रुपैयाँले बढी हो । त्यस्तै, वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरको भाउ बढेर १८०० रुपैयाँ माथि पुगेको छ । मंगलबारको बजारमा संस्थाको सेयर मूल्य ९.९५ प्रतिशतले बढेर प्रतिकित्ता १८२३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता १६५ रुपैयाँले बढी हो । अर्काे महिला लघुवित्त वित्तीय संस्था । जसकाे सेयर मूल्य पनि निरन्तर रुपमा बढी रहेको छ । मंगलबारको बजारमा त संस्थाकाे सेयर मूल्यमा सर्किट लागेकाे छ । साे दिन संस्थाकाे सेयर मूल्य ९.९३ प्रतिशतले बढेर प्रतिकित्ता ८४१ रुपैयाँमा अन्तिम काराेबार भएकाे छ । किन बढ्यो सेयर मूल्य ? यी तीन वटै कम्पनी अहिलको बजारको नयाँ दुलहीहरु हुन् । त्यसैले पनि यिनको भाउ निरन्तर बढी रहेको बजारका जानकारहरु बताउँछन् । अर्थात् यी तीन वटा कम्पनीको हालै मात्र सेयर बजारमा कारोबार शुरु भएको हो । त्यसैले, बजारको भाषामा हालै सेयर कारोबार शुरु गरेका तथा मर्जपश्चात सेयर कारोबार फुकुवा भएका कम्पनीलाई नयाँ दुलहीको उपमा दिने गरिएको एक जानकारले प्रष्टाए । जसमध्ये एनआईसी एशिया लघुवित्तको गत चैत १८ गतेमात्रै दोश्रो बजारमा सेयर कारोबार शुरु भएको हो । यसअघि संस्थाको सेयर कारोबार रोक्का थियो । नेप्सेले मर्जर प्रकृयाको लागि संस्थाको गत साउन ३२ गतेदेखि सेयर कारोबार रोक्का गरिदिएकोे हो । स्वदेशी लघुवित्त वित्तीय संस्थासँग एक आपसमा मर्जर भई एकीकृत कारोबार भएपछि नेप्सले ७ महिनापछि उक्त संस्थाको सेयर कारोबार फुकुवा गरिदिएको हो । र, चैत १८ गतेदेखि दोश्रो बजारमा ‘एनआइसीएलबीएसएल’को नामबाट सेयर किनबेच शुरु भएको हो । सो दिनदेखि आजसम्ममा संस्थाको ५ दिन कारोबार भयो । यो अवधिमा संस्थाको सेयर मूल्य ५१.९० प्रतिशतले बढिसकेको छ । प्रतिकित्ता ७६५ रुपैयाँमा कारोबार शुरु भएको संस्थाको सेयर चार दिनमै ३९७ रुपैयाँले बढेर प्रतिकित्ता ११६२ रुपैयाँ पुगेको हो । त्यस्तै, मर्जर प्रक्रियामा रहेको वोमी माइक्रोफाइनान्सको पनि हालै दोश्रो बजारमा कारोबार शुरु भएको हो । भदौ २८ गते ग्रामीण स्वयंसेवक लघुवित्तसँग मर्जरमा जाने प्राथमिक सम्झौता भएसँगै संस्थाको सो दिनदेखि सेयर कारोबार रोक्का भएको थियो । उक्त प्रकृया सम्पन्न भई एकीकृत कारोबार भएसँगै नेप्सेले गत चैत ९ गतेदेखि संस्थाको सेयर कारोबार फुकुवा गरिदिएको थियो । चैत ९ संस्थाको सेयर कारोबार प्रतिकित्ता ७१७ रुपैयाँदेखि शुरु भएको थियो । कारोबार शुरु भएदेखि निरन्तर बढेको संस्थाको सेयर मूल्य दुई सातामै प्रतिकित्ता ११०६ रुपैयाँ अर्थात १५४ प्रतिशतले बढेको छ । यससँगै आज (मंगलबार) संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १८२३ रुपैयाँमा भएको हो । जुन अघिल्लो कारोबारको तुलनामा १६५ रुपैयाँले बढी हो । त्यसैगरी, हालै सर्वसाधारणमा सेयर जारी गरी दोश्रो बजारमा प्रवेश गरेको महिला लघुवित्तको पनि सेयर मूल्य दिनानुदिन बढीरहेको छ । गत चैत २ गते दोश्रो बजारमा प्रवेश गरेको संस्थाको सेयर भाउ बढेर प्रतिकित्ता ८४१ रुपैयाँ पुगेको छ । जबकी चैत २ गते संस्थाको पहिलो कारोबार प्रतिकित्ता ४३८ रुपैयाँमा भएको थियो । यो अवधिमा संस्थाको सेयर मूल्य ९२ प्रतिशतले बढीसकेको छ । कहिलेसम्म बढ्ला ? कुनै पनि कम्पनीकाे सेयर मूल्य याे अवधिसम्म बढ्छ भनेर यकिन गर्न त सकिँदैन । तर पनि पछिल्लाे समय निरन्तर बढेका यी कम्पनीको सेयर मूल्य अझै बढ्न सक्ने अनुमान रहेकाे पुँजीबजारका एक जानकारले बताए । मार्केटको एउटा लेभलमा पुगेपछि कम्पनीकाे सेयर मूल्य आफ्नो ठाउँमा आइहाल्ने उनको भनाई छ । ‘पुराना कम्पनीका तथ्यांक अनुसार यी कम्पनीको सेयर मूल्य थप केही सयमसम्म बढ्न सक्ने छ । किनभने सेयर कारोबार रोकिँदा उनीहरुको सेयर कारोबार एकदमै तल थियो । काराेबारमा आएपछि कुनै पनि कम्पनीकाे सेयर मूल्य मार्केटको एक लेभलमा पुग्छ नै । यी कम्पनी त्याे लेभलमा पुग्न बाँकी नै छ । मार्केटको एउटा लेभलमा पुग्न पनि शुरुमा सर्किट लाग्दै जाने हो । र, त्यसपछि आफ्नो ठाउँमा आइहाल्छ ।’, उनले भने । ‘जस्तै, कोक, सोडा लगायतका पिय पदार्थ हल्लाएर खोल्दा जसरी फिज बाहिरिन्छ र पछि ठाउँमा आउँछ । बजारमा पनि कम्पनीको सेयर मूल्य त्यस्तै हो । शुरु शुरुमा मूल्य आकासिँदै जान्छ र पछि आफ्नो लेभलमा आइहाल्छ ।’, उनले थप प्रष्ट पार्दै भने । कम्पनीकै उदाहरण हेर्ने हाे भने पनि हालै आईपीओ जारी गरेर बजारमा भित्रिएको चन्द्रागिरी हिल्सको सेयर मूल्य पनि शुरु शुरुमा निरन्तर सर्किट लागेकाे लाग्यै थियो । प्रतिकित्ता १६१ रुपैयाँमा कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य निरन्तर बढेर प्रतिकित्ता २०७९ रुपैयाँसम्म पुगेको थियो । करिब साढे एक महिनासम्म कम्पनीको सेयर मूल्य निरन्तर बढेर उक्त उचाईमा पुगेको थियो । त्यसपछिको कारोबारमा घटेर प्रतिकित्ता १९३० रुपैयाँमा झर्यो । आज चैत २५ गतेको कारोबारमा भने संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २३४४ रुपैयाँमा किनबेच भएको छ । यद्दपि, बजारमा कुनै पनि कम्पनीको सेयर मूल्य निरन्तर बढ्छ भन्ने हुँदैन । कुनैपनि कम्पनीको सेयर मूल्य मार्केट आफैले नै निर्धारण गर्छ । कहिले बढ्नु त कहिले घट्नु बजारको सुन्दर पक्ष हो । भोलिबाट अर्की दुलही भित्रदै त्यस्तै, भोलि (चैत २५ गते) बाट दोश्रो बजारमा अर्की नयाँ दुलही भित्रिँदै छिन् । अर्की नयाँ दुलही अर्थात हालै आईपीओ जारी गरी बाँडफाँड गरेको ज्योति लाईफ इन्स्योरेन्स भाेलिदेखि दाेश्राे बजारमा प्रवेश गर्ने भएकाे छ । कम्पनीकाे सेयर कारोबार भोलिदेखि शुरु हुँदै छ । जसकाे पहिलो कारोबारको लागि नेप्सेले न्युनतम प्रतिकित्ता १२०.२९ रुपैयाँ र अधिकतम ३६०.८७ रुपैयाँ तोकेको छ । त्यस्तै, कम्पनीको ‘जेएलआई’ सिम्बोलबाट सेयर कारोबार हुने छ ।