नेप्सेमा थपियो ‘लगानी’ समूह, सूचीकृत कम्पनीको समूह हेरफेर, कुनमा परे निफ्रा र चन्द्रागिरी ?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत कम्पनीको समूह संख्या थप भएको छ । नेप्सेले फागुन १६ गतदेखि लागू हुने गरी हाल रहेको सूचीकृत कम्पनीको संख्यालाई थप गरी १२ वटा समूहका समूहगत परिसूचक कायम गरेको हो । हाल नेप्सेमा २१८ वटा कम्पनी सूचीकृत रहेका छन् । नेप्सेको नयाँ व्यवस्थाअनुसार यी कम्पनीलाई १२ वटा समूहमा विभाजन गरि समूहगत परिसूचक गणना गरिने छ । यसअघि उक्त कम्पनीहरु ११ वटा समूहमा मात्रै विभाजित भएका थिए । नेप्सेले हाल रहेको समूहमा ‘लगानी’ नामक समूह थप गरी १२ वटा बनाएको हो । यससँगै, नेप्सेले आगामी दिनमा नयाँ व्यवस्थाअनुसार  १२ वटा समूहसहित ‘म्युचअल फण्ड’, ‘सेन्सेटिभ’, ‘सेन्सेटिभ फ्लोट’ र सम्रग बजार परिसूचक ‘नेप्से’ गरी १६ वटा परिसूचक गणना र प्रकाशन गर्ने छ । केही सूचीकृत कम्पनीको समूह विभाजनमा हेरफेर फागुन ७ गते नेप्सेको व्यवस्थापनको निर्णयअनुसार नेप्सेले केही सूचीकृत कम्पनीको समूह विभाजनमा हेरफेर पनि गरेको छ । सोहिअनुसार नेप्सेले साविकको ‘अन्य’ समूहमा रहेका ८ वटा कम्पनीमध्येबाट ४ वटा कम्पनीलाई ‘लगानी’ समूहमा राखी नयाँ समूह बनाएको छ । त्यस्तै, साविकको होटल्स् समूहको नाम परिवर्तन गरी ‘होटल्स तथा पर्यटन’ समूह बनाएको छ । र, हालै नेप्सेमा सूचीकृत चन्द्रागिरी हिल्स लिमिटेडलाई पनि ‘होटल्स तथा पर्यटन’ समूहमा राखिएको नेप्सेले जनाएको छ । नयाँ व्यवस्था अनुसार ४ वटा सूचीकृत कम्पनी ‘लगानी’ समूहमा परेका छन् भने ५ वटा कम्पनीहरु ‘होटल्स तथा पर्यटन’ समूहमा समावेश भएका छन् । ‘लगानी’ समूहमा कुन कुन कम्पनी परे ? नेप्सेकाे नयाँ व्यवस्था अनुसार नागरिक लगानी कोष (सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट(सीआईटी)), हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि (एचआईडीसीएल), नेपाल इन्फ्राष्ट्रक्चर बैंक (निफ्रा) र एनआरएन इन्फ्राष्ट्रक्चर एण्ड डेभलपमेन्ट लि.(एनआरएन) ‘लगानी’ समूहमा समावेश भएका छन् । यसअघि निफ्रा ‘विकास बैंक’ समूहमा समावेश भएकाे थियाे । ‘होटल्स तथा पर्यटन’ मा कुन कुन ? नेप्सेले चन्द्रागिरी हिल्ससहित ५ वटा कम्पनीलाई ‘होटल्स तथा पर्यटन’ समूहमा राखी गणना गर्ने भएको छ । यस समूहमा चन्द्रागिरी हिल्स लि(सीजीएच), ओरियन्टल होटल्स् लि (ओएचएल), सोल्टी होटल लि.(एसएचएल), तारागाउँ रिजेन्सी होटल (टीआरएच) र याक यण्ड यती होटल लि.(वाईएचएल) रहेका छन् ।

नयाँ व्यवस्था अनुसार महिला लघुवित्तको आईपीओको रिजल्ट कसरी हेर्ने ?

काठमाडौं । सिडिएस एण्ड क्लियारिङ्ग(सीडीएससी)को नयाँ व्यवस्था अनुसार लगानीकर्ताले तीन वटा निकायबाट मात्रै आईपीओ रिजल्ट हेर्न पाउने छन् । सीडीएससीले आईपीओ निष्काशन गर्ने कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट र सिडीएससीको मेरो सेयर मार्फत मात्र आईपीओको रिजल्ट हेर्न पाउने गरी नयाँ व्यवस्था गरेको हो । जुन आज बाँडफाँड भएको महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ रिजल्टमा पनि लागू भएको छ । यससँगै उक्त संस्थाको सेयरमा आवेदन दिने आवेदकले आईपीओ रिजल्ट ‘मेरो सेयर’, महिला लघुवित्तको वेवसाइट र बिक्री प्रबन्धक एसबिआई मर्चेन्टको वेवसाइटबाट हर्ने सकिन्छ । महिला लघुवित्तकाे आईपीओ तलका यी तीन वटामा लिंकमा क्लिक गरेर हेर्न सकिन्छ सिडीएससीको मेरो सेयर बिक्री प्रबन्धक एसबिआई मर्चेन्टको वेवसाइट महिला लघुवित्तको वेवसाइट यसअघि विभिन्न वेबसाइटहरुले आईपीओको रिजल्ट सार्वजनिक गर्दै आएकोले सिडिएस एण्ड क्यिरिङ (सीडीएससी) ले अबदेखि त्यस्ता वेबसाइटलाई आईपीओ रिजल्ट प्रकाशित गर्नमा रोक लगाएको हो । अहिलेसम्म आईपीओ जारी हुँदाको समयमा इस्यू म्यानेजरले आईपीओ भर्ने सबैको डिम्याट खाता नम्बर अनधिकृत वेबसाइटहरुलाई दिँदै आएका थिए । विकासन्युज समाचार प्रभावः डिम्याट खाता दुरुपयोग रोकियो, अब कसरी हेर्ने आईपीओ रिजल्ट? महिला लघुवित्तकाे आईपीओ बाँडफाँड आज(फागुन १४ गते) सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको केन्द्रिय कार्यालय हात्तिसारमा सम्पन्न भएको हो । मर्चेन्टका अनुसार आईपीओमा आवेदन दिने आवेदकमध्ये ३७ हजार ५०० जनाले संस्थाको सेयर हात पारेका छन् भने बाँकीको हात खाली भएको छ । भाग्यमानी ३७ हजार ५०० जनाले मात्रै पाए महिला लघुवित्तको सेयर उक्त आईपीओमा १५ लाख ४० हजार ३५ जनाले कूल २ करोड ३७ लाख ४७ हजार ५९० कित्ता सेयरको लागि आवेदन दिएका थिए । जसमध्ये १५ लाख ३६ हजार ६८२ जनाले दिएको कूल २ करोड ३६ लाख ९२ हजार ६३० कित्ता सेयरको लागि दिएको आवेदन योग्य भएको छ । भने बाँकी ३ हजार ३५३ जनाले माग गरेको कूल ५४ हजार ९६० कित्ता आवेदन भने रद्ध भएको क्यापिटलले जनाएको छ । रितपूर्वक आवेदन दिएकामध्ये ३७ हजार ५०० जनाले १० कित्ताको दरले सेयर हात पारेका छन् । उनीहरुलाई १०/१० कित्ताको दरले ३ लाख ७५ हजार कित्ता सेयर बाँडफाँड गरिएको छ । त्यस्तै, बाँकी १४ लाख ९९ हजार १८२ जना आवेदकले भने लघुवित्तको सेयर हात खाली भएकाे छ ।

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ फागुन २३ गतेदेखि भर्न पाइने

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) आगामी फागुन २३ गतेदेखि भर्न पाइने भएको छ । कम्पनीले सो दिनदेखि ६६ करोड रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणमा निष्काशन गर्ने भएको हो । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको ६६ लाख कित्ता अर्थात जारी पुँजीको ३० प्रतिशत सेयर जारी गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । र, बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयरकाे लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् । फागुन २३ गतेदेखि निष्काशन हुने उक्त आईपीओमा इच्छुकले छिटोमा फागुन २८ गते र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन पाउने छन् । उनीहरुले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ । इच्छुक आवेदकले  सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । त्यस्तै, आईपीओ निष्काशनका लागि केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेकाे मध्यमस्तरकाे सुरक्षित कम्पनी जनाउँछ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ छ । ६६ करोड रुपैयाँ बराबरको आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।