कर्णाली डेभलपमेन्ट बैंकको फागुन ५ गतेदेखि बुक क्लोज

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको आज (फागुन ५ गते बुधबार) देखि बुक क्लोज भएको छ । बैंकले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि फागुन २१ गतेसम्म बुक क्लोज गर्न लागेको हो । यससँगै फागुन ४ गतेसम्म कायम सेयरधनीको विवरण बैंकको सेयर रजिष्ट्रार दरबारमार्गमा रहेको प्रभु क्यापिटलमा उपलब्ध हुने छ । बैंकले आगामी फागुन २१ गते शुक्रबार १५औं र १६औं (एकैपटक दुई वर्षको) वार्षिक साधारणसभा गर्न लागेको हो । उक्त निर्णय माघ २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।

महिला लघुवित्तको आईपीओ भोलिसम्म भर्न पाइने, हालसम्म कतिले भरे सेयर ?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) भोलि फागुन ५ गतेसम्म भर्न पाइने भएको छ । गत माघ ३० गतेदेखि बिक्री खुला गरिएको उक्त आईपीओ भोलिसम्म निष्काशन खुला हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ । यससँगै हालसम्ममा उक्त आईपीओमा १४ लाख बढीले आवेदन दिएका छन् । मर्चेन्टका अनुसार मंगलबार साँझ ५ः३० बजेसम्ममा १४ लाख ४ हजार २८७ जना आवेदकले २ करोड १६ लाख २५ हजार ६ सय कित्ता सेयरको लागि आवेदन दिइसकेका छन् । जुन संस्थाले माग गरेको भन्दा ५७.६६ गुणा बढी आवेदन हो । त्यस्तै, सो अवधिसम्म १ लाख ७३ हजार ५९८ जनाको आवेदन भने अनभेरिभाइड नै रहेको क्यापिटलले जनाएको छ । लघुवित्तले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ४ लाख कित्ता अर्थात ४ करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेकाे हो । जसमध्ये ०.५० प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । र, बाँकी रहने ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वधारणलाई निष्काशन गरिने संस्थाले जनाएको छ । यससँगै, इच्छुक आवेदकले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा फागुन ५ गते र ढिलामा फागुन १४ गतेसम्म हुनेछ । हाल लघुवित्तको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेकाे छ । ४ करोडको आईपीओ पश्चात संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।

सिभिल लघुवित्तको प्रस्तावित लाभांश स्वीकृत

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । बैंकले संस्थाले प्रस्ताव गरेको ३.६८४२ प्रतिशत लाभांशलाई स्वीकृति दिएको हो । संस्थाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ३.५ प्रतिशत बोनस र ०.१८४२ प्रतिशत नगद गरी कुल ३.६८४२ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । राष्ट्र बैंकले पारित गरेको उक्त लाभांश संस्थाको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी २३ करोड ३९ लाख रुपैयाँ रहेको छ । ३.५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी २४ करोड २१ लाख रुपैयाँ पुग्ने छ ।