डिप्रोक्स लघुवित्तको लाभांश घोषणा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । माघ २८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ कोे नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद(कर प्रयोजनको लागि समेत) गरी २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ नाघ्ने छ । प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । संस्थाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट चुक्ता पुँजीको ३० प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी कूल ४५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

निफ्राको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)ले ग्लोबल आइएमई क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि उक्त क्यापिटललाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको हो । यससँगै संस्थाको सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, टुक्रा पार्ने तथा साधारण सभाबाट घोषणा गरेको नगद लाभांश र बोनस सेयर वितरण गर्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि ग्लोबल आइएमई क्यापिटलमा सम्पर्क गर्न सकिने छ ।

नेप्सेमा ७ कम्पनीको सेयर कारोबार फकुवा, बिहीबारदेखि किनबेच गर्न पाइने (कुन कुनको)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कारोबार रोक्का भएका विभिन्न ७ वटा कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको छ । गत आर्थिक वर्षको विवरण नबुझाएर कारोबार रोक्का भएका कम्पनी मध्ये ७ कम्पनीले बुझाएसँगै नेप्सेले सो कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको हो । नेप्सेले गत माघ २६ गते मात्रै विभिन्न ११ वटा कम्पनीको सेयर कारोबार रोक्का गरिदिएकाे थियो । जसमध्ये ७ कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरेकोले उक्त कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको नेप्सेले जनाएको छ । जसमध्ये १ विकास बैंक, १ इन्स्योरेन्स, १ लघुवित्त र ४ हाइड्रो रहेका छन् । नेप्सेका अनुसार कर्णाली डेभलमपेन्ट बैंक, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, युनियन हाइड्रोपावर कम्पनी, पाँचथरपावर कम्पनी, युनिभर्सल पावर कम्पनी, र राधि विद्युत कम्पनीको दोश्रो बजार कारोबार फुकुवा भएको छ । यससँगै, यी कम्पनीको भोलि (माघ २९ गते) बिहीबारदेखि दोश्रो बजारमा कारोबार हुने छ र लगानीकर्ताले सेयर किनबेच गर्न पाउने भएका छन् ।