जनउत्थान सामुदायिकले घोषणा गर्यो चार वर्ष यताकै उच्च लाभांश, बोनस मात्रै ४९% बढी
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जुन पछिल्लो चार वर्ष यताकै उच्च लाभांश हो । माघ १९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको ४९.४० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.६० प्रतिशत नगद गरी ५२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी ७ करोड ९२ लाख रुपयाँ रहेको छ । प्रस्तावित ४९.४ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ११ करोड ८३ लाख रुपैयाँ नाघ्ने छ । लाभांश इतिहास प्रस्तावित लाभांश गत चारवर्ष यताकै उच्च लाभांश दर हो । संस्थाले यसअघि २६ प्रतिशतभन्दा बढी लाभांश वितरण गरेको थिएन । संस्थाका सेयरधनीले आर्थिक वर्ष २०७५/७६को नाफाबाट २६.३२ प्रतिशत, आव २०७४/२०७५ को नाफाबाट २१.०५ प्रतिशत, आव २०७३/२०७४ को नाफाबाट पनि २१.०५ र आव २०७२/२०७३को नाफाबाट २० प्रतिशत लाभांश पाएका थिए ।
सेयर बजारमा उछाल, बीमा समितिको नयाँ अध्यक्षलाई स्वागत
काठमाडौं । सेयर बजारमा उच्च वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक ६५ अंकले वृद्धि भइ २४७३ भएकाे छ । होटल समूहबाहेक सबै क्षेत्रका कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । समूहगत रुपमा सबैभन्दा धेरै मूल्य वृद्धि बीमा कम्पनीहरुको सेयरमा भएको छ । मंगलबार निर्जीवन बीमा समूहको परिसूचक ६२६ अंकले वृद्धि भएको छ भने जीवन बीमा कम्पनी समूहको परिसूचक ५९४ अंकले वृद्धि भएको छ । बीमा कम्पनीहरुको नियामक बीमा समितिको अध्यक्षमा सूर्यप्रसाद सिलवाल नियुक्त भएको भोलिपल्टको बीमा समूहका कम्पनीहरुको सेयर मूल्यमा उच्च वृद्धि देखिएको छ । यद्यपी सिलवाल बीमा क्षेत्रको परिचित र विज्ञ व्यक्ति होइनन् । मंगलबार यूनाईटेड इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । एकै दिन ९ प्रतिशतभन्दा बढी मूल्य वृद्धि हुने १७ कम्पनीमा अधिकांश बीमा कम्पनीहरु रहेका छन् । मंगलबार ८ अर्ब ५९ करोड रुपैयाँ बराबरको १५ लाख ३२ हजार कित्ता सेयर किनबेच भएको छ । पछिल्लाे समय लगातार सेयर बजारमा मूल्य वृद्धि देखिएकाे छ ।
सिङ्गटी हाइड्रोको आईपीओ भर्ने म्याद थपियो, अब कहिलेसम्म दिन पाइन्छ ?
चरीकोट । दोलखाको कालिन्चोक र विगु गाउँपालिकामा निर्माण भइरहेको सिङ्गटी हाइड्रो पावरले प्रभावित क्षेत्रका स्थानीयवासीलाई जारी गरेको आईपीओमा आवेदन दिने समयावधि थप गरेको छ । सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले निर्माण गरेको सिङ्गटी हाइड्रोमा प्रभावित क्षेत्रका स्थानीयवासीका लागि यही माघ ४ देखि माघ १८ गतेसम्म साधारण सेयर निष्कासन गरेको थियो । पहिलो चरणमा स्थानीयवासीले सेयर भर्नका लागि धेरै छुटेको भन्दै कम्पनीले आइतबारदेखि १५ दिनसम्म म्याद थप गरेको छ । प्रभावित क्षेत्र कालिन्चोक गाउँपालिका र विगु गाउँपालिकाका नागरिकले आगामी फागुन २ गतेसम्म सेयर आवेदन गर्नका लागि समय थप गरेको कम्पनीले जनाएको छ । प्रतिसाधारण सेयर १०० रुपैयाँ अङ्कित दरका १४ लाख ५० हजार कित्ता सेयर कम्पनीले निष्काशन गरेको थियो । स्थानीयवासीले न्यूनतम १० कित्तादेखि दुई लाख कित्तासम्म आवेदन गर्न सक्ने कम्पनीले जनाएको छ । यही माघ १८ गतेसम्म आवेदन गर्न सकिने व्यवस्था रहेकामा काठमाडौंलगायत विभिन्न क्षेत्रमा रहेकाले शेयर हाल्न छुटेको र कम्पनीले जारी गरेअनुसार आवेदन नपरेको हुँदा फागुन २ गतेसम्म आवेदन गर्न सकिने गरी समय थप गरेको हो । दोलखामा निर्माण भएको २५ मेगावाटको जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका स्थानीयवासी र सर्वसाधरणका लागि कम्पनीको ३० प्रतिशत सेयर छुट्याएको छ । प्रभावित क्षेत्रका स्थानीयवासीका लागि सेयर बाँडफाँट हुनासाथ सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी रहेको कम्पनीले जनाएको छ । कम्पनीले सेयर निष्कासन तथा बाँडफाँड गर्नका लागि मेघा क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । स्थानीयवासीलाई सेयर हाल्नका लागि आयोजनाको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मेघा क्यापिटलले जिल्लाको सिङ्गटी, वावरेलगायत आयोजनास्थलमा समेत व्यवस्था मिलाएको छ । प्रभावित क्षेत्रका स्थानीयवासी बैंकको पहुँचबाट टाढा रहेको हुँदा हरेक नागरिकलाई समेट्ने उद्देश्यले ती क्षेत्रमा सेयर आवेदन गर्नका लागि व्यवस्था मिलाइएको कालिन्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले बताए । सिङ्गटीमा निर्माण गरेको २५ मेगावाटको सो आयोजना निर्माण कार्यसम्पन्न भइसकेको छ । निर्माण सम्पन्न गरी परीक्षणसमेत भइसकेको हाइड्रो १३२ केभीको सिङ्गटी लामोसाँगु राष्ट्रिय प्रसारण लाइन निर्माण कार्य पूरा नभएका कारण विद्यत् प्रसारण लाइनमा जोडिन सकेको छैन । प्रसारण लाइनको पर्खाइमा रहेको उक्त आयोजना विद्युत् सङ्कटका बेलामा सरकारद्वारा विद्युत् सङ्कट निवारणका लागि छनोटमा परेको आयोजना हो । सरकारले विद्युत् सङ्कट निवारणका लागि भन्दै बास्केटमा रहेको आयोजनामध्ये प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माणको जिम्मा दिएको थियो । सरकारले २१० मेगावाट क्षमताका छ आयोजनालाई ‘सुपर सिक्स’ नामबाट निजी क्षेत्रलाई दिएकामा सो आयोजना निर्माण सम्पन्न भई सेयर निष्कासन गर्ने पहिलो हाइड्रो पावर बनेको छ । रासस