चन्द्रागिरी हिल्सकाे सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले ग्लोबल आइएमई क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि उक्त क्यापिटललाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको हो । सो सम्बन्धमा आज (माघ १५ गते) बिहीबार ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा चन्द्रागिरी हिल्स लि.र क्यापिटलबीच सम्झौता भएको छ । सम्झौतापत्रमा चन्द्रागिरी हिल्सको तर्फबाट वित्त प्रमुख विष्णु गौतम र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका हुन् । कम्पनीले हालै मात्र स्थानिय बासिन्दा र सर्वसाधारणमा सेयर जारी गरी सेयर आवेदन गर्ने सबै नेपाली नागरिकलाई १ वर्षसम्म केबुलकारको टिकट यात्रामा २५ प्रतिशत छुट दिई आन्तरिक पर्यटनलाई प्रोत्साहन गरेको छ । जसको अधिकृत पुँजी २ अर्ब रुपैयाँ र जारी पुँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न कम्पनीले केबुलकार सञ्चालनमा ल्याई चन्द्रागिरीलाई एक उत्कृष्ट गन्तब्य स्थलको रुपमा परिचित गराएको छ भने भ्यु टावर र बुटिक होटेल पनि सञ्चालनमा ल्याइसकेको छ । त्यसैगरी, निकट भविष्यमा जिपलाइन परियोजना अन्तर्गत विभिन्न शाहसिक खेलहरु पनि सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ ।
‘सानिमा लार्ज क्याप फण्ड’ मा एक अर्ब बढीकाे आवेदन, कतिले गरे लगानी ?
काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले जारी गरेको ‘सानिमा लार्ज क्याप फण्ड’ मा एक अर्ब बढीकाे आवेदन परेकाे छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार अन्तिम दिन अर्थात माघ १५ गते बिहीबार साँझ ५ बजेसम्ममा ७५ हजार ८८४ जनाले कूल एक अर्ब ६ कराेड ६६ लाख ९४ हजार ५ सय रूपैयाँ बराबरकाे आवेदन दिएका छन् । साे अवधिमा ७५ हजार बढीले १० कराेड ६६ लाख ६९ हजार ४५० इकाईकाे लागि माग गरेका क्यापिटलले जनाएकाे छ । जुन संस्थाले माग गरेकाे भन्दा बढी आवेदन हाे । यद्दपि, सबै आवेदन संकलन भइनसकेकाेले उक्त संख्या केही मात्रामा बढ्न सक्ने छ । यससँगै उक्त फण्डमा लगानी गर्ने म्याद आज माघ १५ गतेबाट सकिएकाे छ । सानिमा इक्विटी फण्डले गत माघ ९ गते शुक्रबारदेखि प्रतिइकाई १० दरको १० करोड इकाई अर्थात १ अर्ब रुपैयाँको उक्त फण्ड निष्काशन गर्न गरेको हो । जुन ७ वर्षे बन्दमुखी योजना हो । योजनामा न्यूनतम १०० इकाई अर्थात १ हजार रुपैयाँदेखि अधिकतम १ करोड ईकाई अर्थात १० करोड रुपैयाँसम्म लगानी गर्न सकिनेछ । यस योजनामा सहभागी हुन चाहने व्यक्तिगत तथा संस्थागत लगानीकर्ताले मेरो सेयर मार्फत वा आफ्नो बैंक खाता रहेको आस्वा सदस्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन दिन सक्नेछन् । इकाई खरिदका लागी अधिकमाग भएको अवस्थामा प्रचलित धितोपत्र सम्बन्धी कानुनको अधिनमा रहि योजनाको आकारलाई अधिकतम १ अर्ब २० करोड रुपैयाँसम्म पुर्याउन सकिनेछ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित पहिलो योजना सानिमा इक्विटी फण्डले सञ्चालनको ३ वर्ष अवधि पुरा गरेको छ । योजनाले ईकाईधनीहरुलाई पहिलो वर्ष १० प्रतिशत र दोस्रो वर्ष ७ प्रतिशत गरि जम्मा १७ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । साथै, सानिमा इक्विटी फण्डको माघ २ सम्मको प्रति ईकाई खुद सम्पत्ती मूल्य १६.३७ रुपैयाँ रहेको छ ।
नेशनल लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । माघ १५ गते सम्पन्न कम्पनीको ३२औं वार्षिक साधारण सभाले चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि एक करोड ६२ लाख २४ हजार ३५१ रुपैयाँ बराबरको नगद लाभांश पारित गरेको हो । यससँगै सेयरधनीले आ.व. २०७५/०७६को नाफाबाट सो मात्राको लाभांश पाउने छन् । कम्पनीका अध्यक्ष प्रेमा सिंहले आव २०७५/७६ मा कम्पनीको सबै वित्तीय सूचकांकहरु सन्तोषजनक रहेको बताउँदै कूल बीमाशुल्क संकलन गत वर्षको तुलनामा २४.८६ प्रतिशतले वृद्धि भई ८ अर्ब ५ करोड रुपैयाँ पुगेको र ३५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको सभामा अवगत गराए । यसैगरी, आ.व २०७५/७६ को अन्तसम्ममा कम्पनीको कुल लगानी २७.९४ प्रतिशतले वृद्धि भई २ हजार ६८१ करोड रुपैयाँ पुगेको र कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २५ प्रतिशतले वृद्धि भई २०७६ असार मसान्त सम्ममा २६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । कम्पनीले सो आवमा २६९ करोड रुपैयाँ कूल दावी भुक्तानी गरेको छ । सभामा अध्यक्षले चालु वर्षको बोनस समेत गरी कूल चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ नाघेको छ । कम्पनीको आ.व.२०७५/०७६ को बीमाङ्कीय मूल्याङ्कन सन्तोषजनक रही सबै बीमालेखमा एक विन्दुले बोनस दर बढाइएको र यसबाट व्यवसायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् । आ.व.२०७५/०७६ मा २५ वटा नँया शाखा खोल्न स्विकृती प्राप्त गरी कूल शाखा संख्या ९९ पुगेको र आगामी दिनमा शाखा सन्जालमा थप विस्तार गर्ने साथै कम्पनीले व्यवसायीक अभिकर्ता उत्पादन र गुणस्तर बृद्धिमा विशेष जोड दिएको जानकारी गराए । कम्पनीले सूचना प्रविधिमा यथेष्ट लगानी गर्दै आएकोे र विविध आकर्षक बीमालेखहरु प्रचलनमा ल्याएको अध्यक्षले सभामा उल्लेख गरे । लगानी विविधिकरण गरी लामो अवधिको लगानी वृद्धि गर्ने कम्पनीको प्रयासमा उल्लेखनीय सफलता हासिल भएको, परिणाम स्वरुप कम्पनीको कोषको वार्षिक प्रतिफल दर उत्साहप्रद रुपले ११.५३ प्रतिशत पुगेको र यसबाट भविष्यमा लगानी आयमा स्थिरता ल्याउन सहयोग पुग्ने अध्यक्षले बताए । व्यवसाय विस्तारसंगै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वमा विशेष ध्यान दिएको र सोही अनुसार विपन्न वर्गका लागि बालिका शिक्षा योजना संचालनमा ल्याएको र सो को अतिरिक्त कम्पनीले निशुल्क वृहत स्वास्थ्य शिविर संचालनमा सहयोग पुर्याएको अवगत गराए ।