ब्रोकर कमिसन घटाउँदा नेप्से र बोर्डको कमिसन घट्छ कि घट्दैन ?
काठमाडौं । सेयर कारोबारमा लाग्ने ब्रोकर कमिसन घटाउने अन्तिम गृहकार्यमा धितोपत्र बोर्ड छ । बोर्डले अबको केही दिनभित्रै ब्रोकर कमिसन घटाउने भनेको छ । लगानीकर्ताका संघ संस्थाहरुले अहिलेको ब्रोकर कमिसन घटाएर ०.२५ प्रतिशत बनाउन माग राखेका छन् । अहिले सेयर कारोबारमा ०.४ प्रतिशतदेखि ०.६ प्रतिशतसम्म कमिसन दिनुपर्छ । सेयर कारोबार गर्नेहरुसँग कमिसनका रुपमा ब्रोकरले रकम लिने गरेको भएपनि यस्तो रकम सबै ब्रोकरले पाउँदैनन् । ब्रोकरले उठाएको कमिसनबाट ३० प्रतिशत कर सरकारलाई, २० प्रतिशत नेप्सेलाई कमिसन र ६ प्रतिशत धितोपत्र बोर्डलाई कमिसन बुझाउँछन् । ब्रोकरले कुनै कारोबारमा सय रुपैयाँ कमिसन लिएको छ भने त्यसबाट ३० रुपैयाँ करको रुपमा नेपाल सरकारले, २० रुपैयाँ नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले र ६ रुपैयाँ धितोपत्र बोर्डले पाउँछन् । बाँकी रहेको ४४ रुपैयाँ ब्रोकरले पाउने हो । यस्तो अवस्थामा ब्रोकरले पाउने कमिसन मात्रै कम भएमा लगानीकर्ताका संघ संस्थाहरुको माग अनुसार कमिसन दर कम हुने सम्भावना छैन । नेप्से र बोर्डले पाउने कमिसन दर पनि कम गरेमा भने कमिसन घटाउन सम्भव हुने देखिएको छ । अहिले ५० हजार रुपैयाँसम्मको सेयर कारोबारमा ०.५५ प्रतिशत, ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.५५ प्रतिशत, ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.५० प्रतिशत, २० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.४५ प्रतिशत र १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबारमा ०.४० प्रतिशत कमिसन लाग्छ ।
माउन्टेन इनर्जीको सेयर भोलिदेखि किनबेच गर्न पाइने, ओपनिङ् रेञ्ज कति ?
काठमाडौं । माउन्टेन इनर्जी नेपालको साधारण सेयर(आईपीओ) भोलि (पुस १ गते) बुधबारदेखि दोश्रो बजारमा कारोबार हुने भएको छ । कम्पनीको सेयर आज(मंसिर ३० गते) नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएसँगै लगानीकर्ताले भोलिदेखि दोश्रो बजारमा किनबेच गर्न पाउने भएका हुन् । कम्पनीको अंकित मूल्य एक सय रुपैयाँ कायम भएको एक करोड ९६ लाख ८० हजार २७० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै दोश्रो बजारमा पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम ११४.८१ रुपैयाँदेखि अधिकतम ३४४.४३ रुपैयाँ तोकेको छ । जसकाे सिम्बोल ‘एमईएन’ दिइएको छ । साथै, कम्पनीले सेयर सम्बन्धि कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि एनआईबिइल एस क्यापिटल, लाजिम्पाटलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
रिडी हाइड्रोको बोनस सेयर सूचीकृत
काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको आज (मंसिर ३० गते) मंगलबार मात्रै सो मात्रा अर्थात २ लाख ६५ हजार ५५९ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । यससँगै, कम्पनीको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ । कम्पनीको हालै सम्पन्न १९औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर प्रस्ताव पारित गरेको थियाे । सम्बन्धित समाचारः रिडी हाइड्रोको साधारणसभाले पारित गर्याे ५ प्रतिशत लाभांश