राष्ट्र बैंकको नीतिगत व्यवस्थाले ब्लुचिप्स मानिने बीमा कम्पनीका सेयर पनि कर्जा लिन अयोग्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाले सेयर बजारमा ब्लुचिप्स मानिने बीमा कम्पनीका सेयर पनि कर्जा प्रयोजनको लागि धितो राख्न ‘अयोग्य’ भएका छन् । आर्थिक वर्ष समाप्त भएको एक वर्ष पूरा हुँदा पनि अन्तिम लेखापरीक्षण नगर्ने संस्थाको धितोमा सेयर कर्जा दिन नपाइने व्यवस्थाको कारण राम्रा बीमा कम्पनीका सेयर धितो राखेर कर्जा लिन नपाइने भएको हो । राष्ट्र बैंकले केही दिनअघि जारी गरेको नयाँ सर्कुलरमा ‘आर्थिक वर्ष समाप्त भएको एक वर्ष अवधि पुरा हुँदा समेत अन्तिम लेखा परीक्षण नगर्ने संस्थाहरु’को सेयर धितो राखेर सेयरधितो कर्जा दिन नपाइने व्यवस्था छ । बीमा कम्पनीहरुको अन्तिम लेखापरीक्षण गर्नुअघि अन्य प्रक्रिया पनि पूरा गर्नुपर्ने प्राविधिक विषयप्रति नेपाल राष्ट्र बैंकले ध्यान नदिदा यस्तो समस्या आएको हो । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले २०७४ सालदेखि बीमा कम्पनीहरुमा पनि नेपाल लेखामान (एनएफआरएस) लागू गरेको छ । एनएफआरएस अनुसार वित्तीय विवरण तयार पार्नुपर्ने तथा जीवन बीमा कम्पनीहरुको बिमांकीय मूल्यांकन गरेर मात्रै लेखापरीक्षण गराउनु पर्ने भएकोले लेखापरीक्षण गराउन ढिला भइरहेको बीमा समितिले पनि बताउँदै आएको छ । राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार आर्थिक वर्ष २०७५/७६ को अन्तिम लेखापरीक्षण गरिसकेका कम्पनीहरुको सेयर धितो राखेर मात्रै सेयरधितो कर्जा लिन पाइन्छ । बीमा समिति स्रोतले दिएको जानकारी अनुसार अधिकांश जीवन बीमा कम्पनी तथा केही निर्जीवन बीमा कम्पनीहरुले पनि आर्थिक वर्ष २०७५/७६ कै अन्तिम लेखापरीक्षण स्वीकृत गराएका छैनन् । बैंक तथा वित्तीय संस्थाहरु र बीमा कम्पनीहरुले उनीहरुका नियामक निकायबाट अन्तिम लेखापरीक्षण गराएको वित्तीय विवरण स्वीकृत गराउनु पर्छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समिति हो भने बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंक हो । राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार विगतका वर्षहरुमा राम्रो प्रतिफल दिएका, वित्तीय अवस्था बलियो भएका र व्यवसायिक रुपमा सफल मानिएका बीमा कम्पनीहरुको सेयरधितो राखेर कर्जा लिन नपाइने अवस्था सिर्जना भएको छ । बीमा समिति स्रोतका अनुसार जीवन बीमा क्षेत्रको सबैभन्दा राम्रो कम्पनी नेपाल लाइफ इन्स्यारेन्स कम्पनीले पनि आर्थिक वर्ष २०७५/७६ को अन्तिम लेखापरीक्षण स्वीकृत गराएको छैन । यसैकारण नेपाल लाइफको सेयर धितो राखेर कर्जा लिनको लागि नयाँ व्यवस्थाले रोक्छ । जबकि हिजो नेपाल लाइफको सेयर २२ सय रुपैयाँको हाराहारीका कारोबार भएको छ । बीमा समिति स्रोतले अर्काे राम्रो जीवन बीमा कम्पनी नेसनल लाइफले पनि आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण गराएको छैन । सोही कारण सो कम्पनीको सेयर धितो राखेर कर्जा लिन अब पाइने छैन । यस्तै, लाइफ इन्स्योरेन्स कर्पाेरेसन (एलआइसी), एसिएन गुराँस, सूर्या, प्राइम जस्ता जीवन बीमा कम्पनीका सेयर धितो राखेर कर्जा लिन नपाइने अवस्था सिर्जना भएको छ । निर्जीवन बीमा कम्पनीतर्फ ओरेन्टल र राष्ट्रिय बीमा कम्पनीले लेखापरीक्षण स्वीकृतिको लागि समितिमा पेश नै गरेका छैनन् । सोही कारण प्रतिकित्ता १४ हजार रुपैयाँभन्दा बढीमा कारोबार भइरहेको राष्ट्रिय बीमा कम्पनीको सेयर धितो राखेर पनि कर्जा पाइदैन । सो कम्पनीले पनि समयमै लेखापरीक्षण नगराएकोले यस्तो अवस्था आएको हो । नेसनल इन्स्योरेन्सले पनि लेखापरीक्षण प्रतिवेदन समितिमा पेश गरेको छैन । सम्बन्धित समाचार सेयर बजारमा सुन्निएको पुनर्बीमा कम्पनीलाई राष्ट्र बैंकको ‘रेडकार्ड’

साढे १० लाखले भरे प्रभु लाइफ इन्स्योरेन्सकाे आईपीओ

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले निष्काशन गरेकाे प्राथमिक सेयर(आईपीओ) मा करिब साढे १० लाख जनाले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आईपीओ निष्काशनकाे अन्तिम दिन आज बिहीबार साढे ४ बजेसम्ममा १० लाख ४४ हजार आवेदकले कम्पनीको सेयरको लागि आवेदन दिएका हुन् । गत मंसिर २९ गतेदेखि निष्काशन बिक्री खुला भएको उक्त आईपीओमा हालसम्म २ अर्ब ७७ करोड रुपैयाँ बराबर अर्थात २ करोड ७७ लाख कित्ता सेयरको लागि आवेदन परेको क्यापिटलले जानकारी गराएको छ । जुन कम्पनीले सर्वसाधारणमा माग गरेकाे भन्दा ५.१२ गुणा बढी आवेदन हाे । तर याे प्रारम्भिक तथ्याङ्क भएकाले अन्तिम तथ्याङ्कमा केही तलमाथि हुने क्यापिटलले जानकारी गराएको छ । कम्पनीले प्रतिसेयर एक सय अंकित दरको ६० लाख कित्ता बराबरको ६० करोडको सेयर बिक्री खुला गरेकाे थियाे । जसमध्ये कम्पनीको कर्मचारीहरुलाई ३ लाख कित्ता सेयर सुरक्षित गरी र ३ लाख कित्ता सेयर सामूहिक लगानीकोषहरुलाई बाँडफाँड गरिएको र बाँकी रहेको ५४ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि खुला गरिने कम्पनीले जनाएको छ । उक्त सेयरमा लगानी गर्न इच्छुक सर्वसाधारणले मंसिर २९ गतेदेखि छिटोमा पुस २ गते बैंकिङ्ग समय अघिनै उक्त सेयरमा आवेदन दिन सक्ने व्यवस्था थियाे । जसमा न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मकाे सेयरको लागि आवेदन दिन पाइने थियाे । हाल कम्पनीकाे चुक्ता पुँजी एक अर्ब ४० कराेड रूपैयाँ रहेकाे छ । आईपीओ पश्चात कम्पनीको चुक्ता पुँजी बढेर २ अर्ब रुपैयाँ पुग्नेछ ।

नागरिक लगानी कोषले हकप्रद सेयर जारी गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ । बोर्डले आज(पुस २ गते) मात्रै कम्पनीलाई चुक्ता पुँजीको एक बराबर ०.८२८४ को अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो । अन्य समूह अन्तर्गतको यस कम्पनीले साविकका सेयरधनीहरुलाई एक अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको एक करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ । कम्पनीले बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ्ग मार्फत सो मात्राको हकप्रद निष्काशन गर्ने छ ।