सुपर खुदी हाइड्रोको आईपीओ बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन
काठमाडौं । सुपर खुदी हाइड्रोपावरले आज पुस २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ३१ करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३१ लाख कित्ता सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमध्ये १५ करोड ५० लाख रुपैयाँको १५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई बिक्री गर्नेछ । स्थानीयलाई छुट्याएको सेयरमध्ये ४० प्रतिशत अर्थात् ६ लाख २० हजार कित्ता लमजुङको आयोजना प्रभावित क्षेत्र मर्स्याङ्दी गाउँपालिका-२ र ३ का बासिन्दा र ६० प्रतिशत अर्थात् ९ लाख ३० हजार कित्ता मर्स्याङ्दी गाउँपालिका-१, ४, ५, ६, ७, ८ र ९ का बासिन्दालाई बिक्री गरिने कम्पनीले जनाएको छ । यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ५५ हजार कित्ता सेयर सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई छुट्याएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीयले माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा माघ २१ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा पुस २५ गते र ढिलोमा माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र प्राइम बैंकको बेसीशहर शाखा र हिमालयन बैंकको भुलभुले शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
महालक्ष्मी विकास बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । महालक्ष्मी विकास बैंकको २४ औं वार्षिक साधारण सभा बैंक सोमबार (आज) सम्पन्न भएको छ । सभामा २०८२ साल आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०८१/०८२ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा/नोक्सान बाँँफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरू छलफल गरी स्वीकृत भएका छन् । यसैगरी, सभामार्फत सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १०.३७ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्तावसमेत अनुमोदन भएको छ । यस अन्तर्गत आव २०८१/०८२ को वितरणयोग्य मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पुँजीको ५.३७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) तथा ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ७ प्रतिशत लाभांश वितरण गरेको थियो । आव २०८०/८१ को तुलनामा आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा बैंकका समग्र वित्तीय परिसूचकहरूमा सकरात्मक परिवर्तन देखिएको छ । आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा आधार दर ९.३९ प्रतिशत रहेकोमा आज २०८१/८२ को अन्त्यमा ६.९४ प्रतिशत रहेको छ । साथै पुँजीकोष पर्याप्यता अनुपातमा उल्लेख्य सुधार भई १४.९३ प्रतिशत बाट वृद्धि भई १७.०६ प्रतिशत पुगेको छ । आव २०८१/८२ को अन्त्यमा बैंकको निक्षेप रु. ५६.२२ अर्ब रहेको छ भने कर्जा तथा सापटी रु.४७.२१ अर्ब रहेको छ । साथै यस बैंकको नियमावली बमोजिम संस्थापक समूह (क) बाट ३ जना र सर्वसाधारण समूह (ख) बाट ३ जना गरी जम्मा ६ जना सञ्चालक निर्वाचन गर्ने साधारण सभामा प्रस्ताव भए बमोजिम संस्थापक सेयरधनी समुह (क) बाट ३ जना क्रमशः राजेश उपाध्याय, सञ्जय गिरि र ग्रोइङ्ग प्रालिको तर्फबाट सागर मल्ल निर्वाचित भएका छन् भने सर्वसाधारण सेयरधनी समूह (ख) बाट ३ जना क्रमशः श्यामसुन्दर रुंगटा, राहुल अग्रवाल र शालिकराम अर्याल निर्वाचित भएका छन् । नवनिर्वाचित सञ्चालक समितिको आजै बसेको पहिलो बैठकबाट राजेश उपाध्यायलाई सञ्चालक समितिको अध्यक्षको रूपमा चयन गरेको छ । सभाका अध्यक्ष उपाध्यायले सेयरधनीहरूबाट प्राप्त सल्लाह सुझावलाई आत्मसाथ गर्दै बैंकले ग्राहकहरूको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न बैंकका क्रियाकलापहरूलाई थप परिमार्जन तथा विशिष्टीकरण गर्दै अझ बढी सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न प्रतिवद्धतासमेत व्यक्त गरे ।
५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो, ६ अर्बको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८ अंकले बढेर २६३९ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २१४ कम्पनीको सेयर मूल्य बढ्दा ३७ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३३५ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको भएको छ । शिवम् सिमेन्टको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, बन्दिपुर केबलकारको २० करोड, एसवाई प्यानलको १७ करोड, श्रीनगर एग्रीटेकको १६ करोड र सागर डिस्टीलरीको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एसवाई प्यानल, श्रीनगर एग्रीटेक, बन्दिपुर केबलकार, सागर डिस्टीलरी र रूरू जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेका छन् । सोमबारको कारोबारमा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ३.०५ प्रतिशतले बढेको छ । बैंकिङ ०.६५, विकास बैंक २.७०, फाइनान्स ०.८३, होटल तथा पर्यटन २.५३, हाइड्रोपावर १.४४, लगानी १.२३, जीवन बीमा ०.४९, माइक्रोफाइनान्स ०.५३, निर्जीवन बीमा ०.४२, अन्य ०.७८ तथा व्यापार ०.२२ प्रतिशतले बढेका छन् ।