नेप्सेले अप्पर स्याङ्गे हाइड्रोको सेयर कारोबार रोक्यो
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अप्पर स्याङ्‍गे हाइड्रोपावरको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले लामो समयदेखि वार्षिक साधारण सभा सम्बन्धी निर्णय नगरेको भन्दै कारोबार रोक्का गरेको हो । कम्पनीको सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्तावसहित नवौँ वार्षिक साधारणसभा असोज ९ गते आयोजना गर्ने निर्णय गरेको थियो । तर सो निर्णय कम्पनीले नेप्सेमा भदौ १६ गते मात्र पठाएको थियो । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२ ‘१’ क मा भएको व्यवस्था बमोजिम कम्पनीले वार्षिक साधारण सभा सम्बन्धी विवरण पेस नगरेकोले सेयर कारोबार रोक्का गरेको जनाएको छ । धितोपत्र सूचिकरण विनियमावली विनिमय १६ ‘१’ घ मा भएको व्यवस्था बमोजिम भदौ १६ गतेदेखि कम्पनीको कारोबार रोक्का गरिएको हो । साथै नेप्सेले ३ दिनभित्र के कारणबाट समयमा नै जानकारी दिन किन नसकेको हो भनी सञ्चालक समितिको वार्षिक साधारण सभा सम्बन्धी गरेका निर्णयहरूको छायाँ कपीसहित स्पष्टिकरण पेश गर्न नेप्सेले अनुरोध गरेको छ ।
१२ अंकले बढ्यो नेप्से, ५ अर्ब १० करोड रुपैयाँको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार १२.०३ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार सोमबार नेप्से १२.९१ अंकले बढेर २७ सय ६१ दशमलव ८६ विन्दुमा पुगेको छ । सोमबार ३२६ स्टकको ६८ हजार ७७५ पटकमा १ करोड १४ लाख ४० हजार ८४४ कित्ता खरिदबिक्री हुँदा ५ अर्ब १० करोड ५७ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्सको भएको छ । नेपाल रिइन्स्योरेन्सको २८ करोड ८ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, दोस्रो धेरै कारोबार गर्नेमा एभरेष्ट बैंक लिमिटेड रहेको छ । एभरेष्ट इन्स्योरेन्सले २४ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको २१ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार दुई उपसमूहबाहेक सबै परिसूचक बढेका छन् । अन्यकोृ ०.०३ र व्यापार ०.८५ प्रतिशतले घटेका छन् । बढेका उपसमूहरुमा सबैभन्दा धेरै बैंकिङको १.५० प्रतिशतले बढेकको छ । विकास बैंक ०.५२, फाइनान्स ०.१४, होटल तथा पर्यटन ०.४३, हाइड्रोपावर ०.०८, लगानी ०.१८, जीवन बीमा ०.००, उत्पादन तथा प्रशोधन ०.३६, माइक्रोफाइनान्स ०.२७, म्युचल फण्ड ०.१६, निर्जीवन बीमा ०.३० प्रतिशतले घटेका छन् ।
नेचुरल स्प्रिट्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल
काठमाडौं । नेचुरल स्प्रिट्स नेपालले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १५ लाख कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । कम्पनीले निष्काशन प्रक्रियाका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । नेचुरल स्प्रिट्सको तर्फबाट अध्यक्ष असिम सिटौला र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरे । नेचुरल स्प्रिट्स नेपाल लिमिटेड विसं २०७१ मङ्सिर १४ गते (डिसेम्बर १४, २०१४) मा स्थापना भएको नेपालकै छिटो वृद्धि भइरहेको मदिरा उत्पादन कम्पनी हो । कम्पनीको उत्पादन कक्ष धादिङ जिल्लाको गल्छी गाउँपालिकामा अवस्थित छ भने यसको केन्द्रीय कार्यालय काठमाडौंको हाँडीगाउँमा रहेको छ । यस कम्पनीले सन् २०२१ (वि.सं. २०७७) मा पहिलोपटक उत्पादन सुरु गरेको थियो। २० रोपनी क्षेत्रफलमा फैलिएको उत्पादन कक्षमा दुईवटा अर्ध–स्वचालित बोटलिङ लाइन, सातवटा ११ हजार लिटर क्षमताका ब्लेन्डिङ ट्याङ्क तथा पाँचवटा २५ हजार लिटर क्षमताका एक्स्ट्रा न्यूट्रल अल्कोहल ट्याङ्कहरू रहेका छन् । कम्पनीको वार्षिक उत्पादन क्षमता १ करोड २० लाख लिटर रहेको छ । हाल यस कम्पनीले सरंगी ह्विस्की ४० अप र सेतो बाघ भोड्का ३० अप नामक दुई प्रमुख उत्पादन बजारमा उपलब्ध गराइरहेको छ, जसको वार्षिक उत्पादन १ लाख ३४ हजार २९८ लिटर रहेको छ ।