आईपीओ जारी गर्न प्रभु लाइफ इन्स्योरेन्सले पायो अनुमति

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न अनुमति पाएकाे छ । नेपाल धितोपत्र बोर्डले गत मंसिर ११ गते कम्पनीलाई सो मात्राको सेयर जारी गर्न अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले ६० लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्ने छ । कम्पनीले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल मार्केटमार्फत सो मात्राको सेयर बिक्री गर्ने छ । इन्स्योरेन्सले गत असोज २५ गते मात्र बोर्डसँग आईपीओ जारी गर्ने फाइन बाेर्डमा पठाएकाे थियो ।

नेरुडे लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आज शुक्रबार मात्रै सो मात्रा अर्थात ५ लाख ९६ हजार ४७० कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । यससँगै, लघुवित्तको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।

नेप्से भन्छ- नट्सको कारण काराेबार बढ्याे, अनलाइनबाटै ८८ प्रतिशत सेयर किनबेच

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कारोबारको आकार वृद्धि हुनुमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली (फुल्ली अटोमेटेड अनलाइन ट्रेडिङ्ग सिष्टम, नट्स) को प्रत्यक्ष योगदान रहेको बताएकाे छ । पछिल्लाे समय बजारमा क्रमिक सुधार देखिएकाे र बिहीबारकाे बजारमा काेराेबार रकम र नेप्से परिसूचकले नयाँ कीर्तिमान राखेसँगै नेप्सेले साे बताएकाे हाे । नेप्सेले उपलब्ध गराएको उक्त प्रणालीमार्फत लगानीकर्ताले घरबाटै सुरक्षित तबरले सेयरको कारोबार गर्न पाएका छन् । साथै, रकम भुक्तानी तथा सेयर हस्तान्तरणमा पनि सहजता आएकाले काराेबारमा वृद्धि भएकाे र त्यसकाे याेगदान नट्स नै रहेकाे नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताएका छन् । आज मिति २०७७ मंसिर ११ गते बिहीबार ७० हजार ३ कारोबारमा ७ अर्ब ६१ करोड ३० लाख ३० हजार रुपैयाँ बराबरका १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर किनबेच भएका छन् । यसैगरी समग्र सेयर बजार परिसूचक नेप्से यस दिन १८९३.२४ विन्दु कायम भएको छ । कारोबार रकम तथा बजार परिसूचकका आधारमा धितोपत्रको दोस्रो बजारमा कायम भएको नयाँ कीर्तिमान हो । यस अघि २०७७ मंसिर ७ मा ६ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने २०७३ साउन १२ मा बजार परिसूचक नेप्से १८८१.४५ विन्दुमा पुगेको थियो । हालसम्म अनलाइनमार्फत कारोबार गर्नका लागि १ लाख ८५ हजारभन्दा बढी लगानीकर्ताले युजरनेम र पासवर्ड लिएका छन् । आजको कारोबारमा २३ हजार ५० लगानीकर्ता सहभागी थिए । यस दिन भएको कारोबारमध्ये ८७.७५ प्रतिशत कारोबार अनलाइनमार्फत भएको हो । नेप्सेले मिति २०७५ कात्तिक २० गतेबाट पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएपछि दोस्रो बजारका प्रमुख सूचकहरुमा क्रमिक सुधार आएको छ । यस क्रममा दोस्रो बजार कारोबार सेवालाई सहज, सुरक्षित, विश्वसनीय तथा पारदर्शी बनाउने नेप्सेको उद्देश्य अनुरुप प्राविधिक, नीतिगत तथा संस्थागत पूर्वाधारहरुमा सुधार गरिएको छ । पुँजी बजारको विकास तथा विस्तारका लागि नेप्सेले सञ्चालन गरेका गतिविधिमा नेपाल सरकार अर्थ मन्त्रालय तथा नेपाल धितोपत्र बोर्डको मागनिर्देशन तथा लगानीकर्ता, प्रणाली निर्माणकर्ता कम्पनी, सदस्य दलाल, मिडिया लगायत अन्य सरोकारवालाहरुको सहयोग रहँदै आएको बताउँदै नेप्सेले आगामी दिनहरुमा पनि सम्पूर्ण सरोकारवालाहरुबाट यस्तै किसिमको सहयोगकाे अपेक्षा गरेको छ ।