नेप्से दोहोरो अंकले घट्यो, उत्पादनमूलक बाहेक सबै समूह राताम्मे

काठमाडौं । साताको पहिलो दिनको बजारमा नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागको छ । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको परिसूचक बन्द हुँदा १३.७० अंकले घटेर १३२० अंकमा झरेको छ । दिनभरको बजारमा परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । पछिल्लो समय एक अर्ब बढी कारोबार भएको बजारमा आइतबार भने जम्मा ९५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कूलक १७३ कम्पनीको २५ लाख ५० हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । बजारमा चार कम्पनीको ३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नेको इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक, एनआईसी एशिया बैंक र नागरिक लगानीकोषको ३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । जसमध्ये नेको इन्स्योरेन्सको ३ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन् । आइतबारकाे बजारमा १२ वटा समूह कारोबारमा आएका थिए । जसमध्ये उत्पादनमूलक समूह बाहेक बाँकी समूह ओरालो लागेका छन् । निर्जीवन बीमा समूह सबैभन्दा बढी १३१ अंकले घटेको छ । उत्पादनमूलक समूह भने १७ अंकले उकालो लागेको छ ।

साताको शेयर बजारः सात अर्बको कारोवार

काठमाडाैं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतार चढावपूर्ण अवस्थामा रह्यो । कूल १७७ कम्पनीका एक करोड ११ लाख छ हजार ३५३ कित्ता शेयर ७अर्ब ३९ करोड १७ लाख दुई हजार ५ सय १०  मूल्यमा खरिद बिक्री भए । बजार असन्तुलित देखिँदा नेप्से ओरालो लागे पनि कारोवार रकममा भने वृद्धि भएको छ । साताको पहिलो दिन नेप्से परिसूचक उकालो लाग्यो । उकालोको यात्रामा रहेको नेप्सेले नयाँ यात्रा तय गरेर नेप्से परिसूचक २१.२६ ले बढेर एक हजार ३४६.६४ मा पुग्यो । नेप्सेले उकालो यात्रा तय गर्दा कारोवार रकम भने रु दुई अर्ब माथि नाघ्यो । कूल १७५ कम्पनीका ५३ लाख ४६ हजार ५०८ कित्ता शेयर २ अर्ब सात करोड ७९ लाख ८७ हजार ७ सय ९९ मूल्यमा खरिद बिक्री भए । सोमबार नेप्से परिसूचक वृद्धि भयो । त्यसदिन नेप्से २.४९ अङ्कले बढेर एक हजार ३४९.१३ मा पुग्यो । परिसूचकमा सामान्य वृद्धि हुँदा कारोवार रकम भने डेढ अर्ब नाघेको थियो । कूल १७७ कम्पनीका ४७ लाख ४८ हजार ८२९ कित्ता शेयर १ अर्ब ६१ करोड १७ लाख १९ हजार २०३ रूपैयाँमा खरिद–बिक्री भए । मङ्गलबार नेप्से परिसूचक १२.०९ विन्दुले घटेर एक हजार ३३७.०४ मा झर्यो । नेप्से ओरालो लागे पनि कारोवार रकम भने डेढ अर्बमाथि रहेको छ । कूल १७६ कम्पनीको ४९ लाख ४९ हजार १५ कित्ता शेयर रु एक अर्ब ५७ करोड एक लाख ६६ हजार १६३ मूल्यमा खरिद बिक्री भए । बुधबार नेप्सेमा सामान्य वृद्धि भयो । नेप्से ५.३१ अङ्कले बढेर एक हजार ३४२.३६ मा पुगेको छ । परिसूचक वृद्धि भए पनि कारोवार रकम एक अर्बमै सीमित भएको छ ।  कूल १७७ कम्पनीका ३२ लाख ६० हजार १९८ कित्ता शेयर एक अर्ब आठ करोड २४ लाख ८३ हजार ९०९ रूपैयाँमा खरिद बिक्री भयो । यस्तै बिहीबार भने शेयर बजार पुनःओरालो लाग्यो । नेप्से ८.६७ विन्दुले घटेर एक हजार ३३३.६९ मा झर्यो । कूल १७५ कम्पनीको २८ लाख एक हजार ८०३ कित्ता शेयर १ अर्ब चार करोड ९३ लाख ४५ हजार ४३६ मूल्यमा खरिद बिक्री भए । रासस

सानिमा जनरल इन्स्योरेन्सको ३० करोडको आईपीओ प्रस्ताव पारित

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको प्रस्तावित ३० करोडको आईपीओ(साधारण सेयर) पारित भएको छ । माघ २४ गते सम्पन्न कम्पनीको दोश्रो वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै कम्पनीले हाल कायम चुक्ता पुँजीको ३० लाख कित्ता सेयर निष्काशन गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । उक्त आईपीओ पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब नाघ्ने छ । कम्पनीले नियमक निकाय बीमा समितिको निर्देशन बमोजिम १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्ने व्यवस्था भएअनुसार सो मात्राको सेयर निष्काशन गर्न लागेको हो । त्यसैगरि सभाले आगामी आर्थिक वर्ष ०७६।०७७ का लागि कम्पनीको वार्षिक लेखा परिक्षकमा एल.आर. एसोसियट्सका चाटर्ड एकाउण्टेण्ट सुजन काफ्लेलाई नियुक्त गरेको छ । यस कम्पनीले २०७५ आसार २७ बाट आफ्नो व्यवसायिक बीमा कारोवार शुरु गरेको हो ।