साढे ३ अर्बकाे ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्शियल बैंक, बिक्री प्रबन्धकमा आरविवि मर्चेण्ट नियुक्त

काठमाडौं । प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएकाे छ । त्यसका लागि बैंकले आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । बुधबार उक्त ऋणपत्र निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतपत्रमा प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धर र आरविवि मर्चेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् । बैंकले साढे दश प्रतिशत ब्याजदरको आठ वर्षको समयावधिमा फिर्ता भुक्तानी गर्ने गरी रू एक हजार अंकित दरको ३५ लाख कित्ता बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमा एक्काईस लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी (सामुहिक लगानीकोष समेतको) कित्ता सर्वसाधारणमा बिक्री गरिने छ ।  

समीट लघुवित्तको सेयर कारोबार रोक्का

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाको बिहीबार (माघ २३ गते)देखि सेयर कारोबार रोक्का भएको छ । सजिलो लघुवित्त वित्तीय संस्थासँग मर्ज हुने प्रयोजनको लागि संस्थाको आजदेखि सेयर कारोबार रोक्का भएको हो । यी दुई संस्था एक आपसमा गाभिने सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएसँगै संस्थाको दोश्रो बजारमा सेयर कारोबार बन्द भएको हो । उक्त मर्जर सम्बन्धि काम सम्पन्न नभएसम्म संस्थाको सेयर कारोबार बन्द हुने छ ।

आशा लघुवित्तको साढे दुई लाख बोनस सेयर सूचीकृत

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको २ लाख ४८ हजार ८८० कित्ता बोनस सेयर सूचीकृत भएको छ । बुधबार मात्रै संस्थाको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो । नुवाकोटको ककनीमा केन्द्रिय कार्यालय रहेको संस्थाको हालसम्म २३ लाख २२ हजार ८८० कित्ता सेयर नेप्सेमा सूचीकृत रहेको छ । बजारमा संस्थाको सेयर मूल्य प्रतिकित्ता ७३० रुपैयाँ रहेको छ ।