साताको शेयर बजार: झण्डै ६ अर्बको कारोवार
काठमाडाैं । धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक असन्तुलित अवस्थामा रह्यो । बजारमा कारोवार मापक नेप्से बढ्ने र घट्ने क्रम जारी रह्यो । साताभर कूल १७५ कम्पनीको शेयर कारोवार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १ करोड ६६ लाख १४ हजार ५८८ कित्ता शेयर ५ अर्ब ८४ करोड ४१ लाख ६९ हजार १३६ मूल्यमा खरिद बिक्री भए । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । सोही क्रममा नेप्सेमा १३.७० अङ्कले घटेर एक हजार ३१९.९९ मा झर्यो । नेप्से ओरोलो लाग्दा कारोवार रकममा गिरावट आएको छ । कूल १७३ कम्पनीको २५ लाख ५० हजार २६६ कित्ता शेयर रु ९५ करोड ४ लाख २ हजार ५८४ मा खरीद बिक्री भए । यस्तै सोमबार नेप्से ४.२८ अङ्कले बढेर एक हजार ३२४.२६ मा पुग्यो । परिसूचक वृद्धि भएपनि कारोबार रकम भने ९३ करोड रूपैयाँमै सीमित भयो । कुल १७५ कम्पनीका २३ लाख ६० हजार ५८४ कित्ता शेयर ९३ करोड ३२ लाख ८६ हजार ५५ रूपैयाँमा खरिदबिक्री भए । मङ्गलबार नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो । त्यस दिन नेप्से १७.११ विन्दुले बढेर आज एक हजार ३४१.३८ मा पुग्यो । नेप्से उकालो लाग्दा त्यसको प्रभाव कारोवार रकममा पर्यो । कूल १७५ कम्पनीको ३९ लाख ९६ हजार ८७७ कित्ता शेयर १ अर्ब ५३ करोड २२ लाख ५० हजार ४४० मूल्यमा खरिद बिक्री भए । बुधबार नेप्से ४.६०ले वृद्धि भई एक हजार ३४५.९७ मा पुग्यो । नेप्से सामान्य अङ्कले बढे पनि कारोवार रकम भने डेढ अर्ब बराबरको भएको छ । कूल १७३ कम्पनीको ३९ लाख ८६ हजार ७६९ कित्ता शेयर एक अर्ब ५० करोढ ९७ लाख ८४ हजार ३११ मूल्यमा खरिद बिक्री भए । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा सामान्य गिरावट आयो । त्यस दिन नेप्से १.३९ अङ्कले घटेर एक हजार ३४४.५९ मा पुुग्यो । कूल १७२ कम्पनीको ३७ लाख २० हजार ९२ कित्ता शेयर रु एक अर्ब ७७ करोड ३८ लाख पाँच हजार ७४६ मा खरिदबिक्री भए । यस साता शेयर बजारमा विभिन्न चार कम्पनीका कूल २ करोड ६९ लाख ८१ हजार ६२९ कित्ता शेयर सूचीकृत भए । त्यसमा प्रभु बैंकको १ करोड ४२ लाख २८ हजार २७९ कित्ता शेयर लाभांश, गरिमा विकास बैंकको ४५ लाख तीन हजार २१५ कित्ता शेयर लाभांश, सानिमा बैंकको ८० लाख एक हजार २५५ कित्ता शेयर लाभांश र आशा लघुवित्त वित्तीय संस्थाको कूल दुई लाख ४८ हजार ८८० कित्ता शेयर लाभांश सूचीकृत भएको छ । रासस
भिस्ताराले शुरू गर्याे काठमाडौं-दिल्ली दैनिक उडान
काठमाडौं । भारतको पूर्ण सेवा वाहक , टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त उद्यम(जोइन्ट भेन्चर) ले मंगलबार दिल्ली र काठमाडौंका लागि दैनिक उडान गर्ने भएकाे छ । काठमाडौं भारत बाहिरको पाँचौ अन्तरराष्टिय गन्तव्यको रुपमा रहेको छ । दिल्लीबाट भिस्ताराको उद्घाटन उडानका लागि आएका यात्रुहरुलाई काठमाडौंमा ठूलो उत्साहका साथ स्वागत गरिएको थियो । भिस्ताराका प्रमुख व्यापारिक अधिकत विनोद कन्ननले नेपाल जाने र नेपालबाट आउने याात्रुहरुलाई विश्व स्तरीय र अनुपम सेवा दिन आफु वचनबद्ध रहेको बताए । साथै, तीन श्रेणीको व्यवस्थापनसहितको हवाइजहाज तुरुन्त सेवामा प्रयोग गर्ने र उक्त सेवा भारत नेपालीबीच यात्रा गर्ने यात्रुहरुका लागि प्रिमियम इकोनोमी वर्गले मात्र प्रस्ताव गर्ने उल्लेख गरे । भिस्ताराको सहज उडान तालिकाको एक स्टप जडानले बैंगलोर, चेन्नाइ, मुम्बई र पुनेसहित भारतका अन्य शहरबाट जान आउन यात्रुलाई सहज हुनेछ । यस हवाई सेवाले सन् २०१९ को अगष्ट महिनामा सिंगापुर उडान भरि आफ्नो अन्तराष्ट्रिय उडानको उद्घाटन गरेपश्चात दुबई, बैंकक, र कोलोम्बोमा सेवा विस्तार गरेको थियो । भिस्तारा तीव्रगतिमा भारत तथा विदेशमा वृद्धि भई रहेको र सन् २०२३ सम्ममा न्यारो बडी र वाइड बडी गरि ४० वटा हवाईजहाज थप गर्दैछ । नयाँ हवाईजहाजले भिस्तारालाई भारत भित्र वृद्धि हुनुको साथै मध्यम तथा लामो दुरीको अन्तरराष्टिय गन्तव्यमा उडान भर्न मद्दत गर्दछ । भिस्तारा स्काइ टयाक्स र टिप एडभाइजरमा भारतको सबैभन्दा धेरै खोजिएको हवाईसेवा रहेको र विभिन्न बेष्ट एयरलाइन्स पुरस्कार बिजेता रहेको छ ।भिस्ताराले भारतीय हवाई उद्योगमा संचालन तथा सेवा प्रदानमा यात्रीहरुलाई उत्तम हवाईयात्राको मापदण्ड तर्जुमा गरेको छ जसलाई आज भारतको एक मात्र पाँच तारे होटल भनेर चिनिएको छ ।
हिमालयन बैंकको २२ प्रतिशत लाभांश पारित, सञ्चालकमा ५ जना निर्विरोध निर्वाचित
काठमाडौं । हिमालयन बैंकको प्रस्तावित २२ प्रतिशत लाभांश पारित भएको छ । माघ २९ गते सम्पन्न बैंकको २७औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस र कर सहित १२ प्रतिशत नगद लाभांश पाउने छन् । त्यस्तै, ८ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको १० प्रतिशत बोेनस सेयर पछि ९ अर्ब ३७ करोड रुपैयाँ नाघेको छ । बैंकले आ.व. २०७५/७६ अन्त्यसम्म १ खर्ब १३ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन र ९८ अर्ब २० करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः १३.३८ र १३.०८ प्रतिशतले बढी हो । बुधबार सम्पन्न सभाले संस्थापक सेयरधनीको तर्फबाट ५ जनालाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । सभाले आगामी कार्यकालको लागि आशिष शर्मा, प्रचण्डबहादुर श्रेष्ठ, सुनिलबहादुर थापा, फैजल एन ललानी र तुलसी प्रसाद गौतमलाई संस्थापक सञ्चालकमा चयन गरेको हो । सञ्चालक पदमा निर्वाचनको लागि यी ५ जनाको मात्रै उमेदवारी परेकाले सभाले निर्विरोध निर्वाचित गरेको हो । नवनिर्वाचित सञ्चालक मध्ये शर्मा पूर्वराजदुत दीपकुमार उपाध्यायका छोरा हुन् । शर्मा यसअघि नविल बैंकको संचालक समिति सदस्य भइसकेका छन् भने युनाइटेड इन्स्योरेन्स कम्पनीको संचालक समिति अध्यक्ष पनि भइसकेका हुन् । श्रेष्ठ यसअघि पनि बैंक संचालक समिति सदस्य थिए । थापा पूर्वप्रधानमन्त्री सूर्यबहादर थापाका छोरा तथा पूर्वमन्त्री हुन् । हिमालयन शमशेर जवराका ज्वाइँ थापा पृथ्बीबहादुर पाँडेसमूहको प्रतिनिधित्व गर्दै आएका हुन् । त्यस्तै, ललानी पाकिस्तानको हबिव बैंकको प्रतिनिधित्व गर्दै संचालक समितिमा आएका हुन् । गौतम कर्मचारी संचय कोषको तर्फबाट संचालक बनेका हुन् । शर्मा पूर्वराजदुत दीपकुमार उपाध्यायका छोरा हुन् । नवनिर्वाचित संचालकहरुलाई बधाई दिंदै बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले चालु आर्थिक वर्षमा कम्तीमा १२ स्थानमा नयाँ शाखाहरुको स्थापना गर्ने जानकारी दिएका छन् । साथै अध्यक्ष श्रेष्ठले बैंकको सेवा तथा सुविधाहरुलाई समयानुरुप आकर्षक एवं गुणस्तरीय बनाउने तर्फ बैंक निरन्तर प्रयासरत रहने पनि बताए । साथै, सभाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरिक्षकमा वर्तमान लेखापरिक्षक बि आर एस न्यौपाने एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गरेको छ । निजको लागि २० लाख रुपैयाँ पारिश्रमिक तोकिएको सभाले जानकारी गराएको छ ।